२८ कात्तिक, २०८२ शुक्रबार
Nov. 14, 2025

संसद्‍मा शिक्षक माग सम्बन्धी प्रस्ताव अघि नबढ्दा विपक्षीहरू असन्तुष्ट


संसद्‍मा शिक्षकको माग सम्बन्धी प्रस्ताव अघि नबढ्दा विपक्षीहरू असन्तुष्ट देखिएका छन् । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विपक्षी  दलका सांसदले उठेर विरोध जनाए । प्रतिपक्षको विरोधपछि सभामुख देवराज घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए । 


सांसद पाण्डेले संसद्मा सोमबार दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गरिनुपर्ने बताए । शिक्षकहरू लामो समयदेखि सडक आन्दोलनमा रहेकामा उनीहरुका जायज माग सम्बोधनका लागि पहल गर्न सोमबार पाण्डे प्रस्तावक रहेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा दर्ता भएको थियो । उक्त प्रस्तावमाथि आजै संसद्मा छलफल चलाउन र समस्याको समाधान खोज्न पाण्डेले सभामुखमार्फत ‘रुलिङ’ माग गरे । 



नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्नका लागि सरकार गम्भीर रहेको दाबी गरे । शिक्षकहरूसँग तत्काल वार्ता गरी समस्याको समाधान गर्न र वार्ताबाटै विषय टुङ्गाउन आवश्यक रहेको उनले भने । ‘सदनमा उठेका विषयमाथि सरकार गम्भीर भएर शिक्षामन्त्रीले शिक्षक प्रतिनिधिहरुसँग निरन्तर छलफल र वार्ता गरिरहनुभएको छ,’ आज साँझ सम्ममा निकास निस्कनेमा  आफू आशावादी भएको उनले बताए । 

सांसद प्रेम आलेले पोखरा र भैरहवा विमानस्थलमा भएको आर्थिक हिनामिनाको निष्पक्ष छानबिनको माग गरे । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले आन्दोलनरत शिक्षकका समस्या समाधानका लागि गम्भीर हुन सरकारलाई आग्रह गरे । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।



उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदन सहितको भन्सार विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि आजै प्रस्तुत हुनेछ ।

कार्यसूचीअनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन् । उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि आज नै प्रस्तुत हुनेछ । 



  • प्रकाशित मिति : १६ वैशाख, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया