२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

सगरमाथाको अर्को नामै छैन, माउन्ट एभरेस्ट भन्नु पर्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । 

कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अनेक हिसाबले जुनसुकै क्षेत्रमा नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण रहेकाले आन्तरिक र बाह्य लगानी परिचालनमा ध्यान दिन प्रशासनिक क्षेत्रलाई पनि आग्रह गरे । 



उनले भने, ‘पूर्वाधार निर्माण भइसकेको समय भएकाले ढुक्कले लगानी गर्न सक्नुहुन्छ । लगानीका लागि सरकारका तर्फबाट कुनै समस्या पर्न दिइने छैन । कोशी प्रदेश पूर्वाधार विकास र सडक सञ्जालसँग जोडिएको छ । लगानी गरेर उत्पादन बजारमा लाने समयसम्म एसियाली स्तरको छ लेनको पूर्व–पश्चिम राजमार्ग बनाइसक्छौँ । कच्चा पदार्थ पनि ल्याउन सक्छौँ । त्यसकारण हरेक क्षेत्रमा नयाँ नयाँ सम्भावनाहरूलाई पहिल्याउन सक्छौँ’, 

प्रधानमन्त्री ओलीले अगाडि भने, ‘देशमा सामान ल्याउन र लान कुनै हिसाबले रोकिँदैन । आफ्नो उत्पादनको बजार कोशी प्रदेशका विभिन्न कोरिडोर र नाकामा लान सक्ने गरी बाटो बनिसकेको छ । विराटनगरसहित विभिन्न विमानस्थल विस्तार गरिनेछ । सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रका साथै सगरमाथासहित विभिन्न हिमाल र जडीबुटीहरूको थलो कोशीका जनता शिक्षित र मेहनती छन् । त्यस कारण पनि यहाँ लगानीको प्रचुर सम्भावना रहेको छ ।’



प्रधानमन्त्री ओलीले उद्यमशीलता दशक मनाउन सकिए रोजगारी दशक सफल हुने उल्लेख गर्दै भने, ‘म युवाहरूलाई भन्न चाहन्छु, जागिरको खोजीमा नभौँतारिनुस्, उद्यमशीलतामा लाग्नुस् । त्यसका लागि सोच, तालिम र सहयोगमा सरकारले साथ दिन्छ ।’ प्रधानमन्त्री ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथालाई सगरमाथाकै नामबाट विश्वमा ब्राण्डिङ गर्न आग्रह गर्दै ‘माउन्ट एभरेस्ट’ भनिरहन नपर्नेमा जोड दिए । उनले सगरमाथाको अर्को नाम नरहेको समेत दाबी गरे । 

प्रधानमन्त्री ओलले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको मान्यताअनुसार श्रमको सम्मान दिन तथा रोजगारदाता र श्रमिकबीच संवादका साथै ट्रेड युनियन अधिकारको रक्षाका लागि नेपाल सरकार स्पष्ट रहेको पनि लगानीकर्तालाई अवगत गराए  । प्रधानमन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितले स्वागत गरेका थिए ।  



  • प्रकाशित मिति : १८ वैशाख, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया