स्पेनिस क्लब बार्सिलोनाका युवा स्टार लामिन यामलको च्याम्पियन्स लिग सेमिफाइनल अविस्मरणीय बन्यो । इन्टर मिलान र बार्सिलोनाबीचको पहिलो लेग ३–३ को रोमाञ्चक बराबरीमा सकिए पनि यामलको प्रभावकारी प्रदर्शनले समर्थकको मन जित्यो ।
विपक्षी टिम इन्टर मिलानका प्रशिक्षक सिमोन इन्जागीले खेलपछि यामलको खुलेरै प्रशंसा गरे । उनले भने, ‘यस्ता प्रतिभा ५० वर्षमा एकपटक मात्र जन्मिन्छन् । मैले उनलाई प्रत्यक्ष आज पहिलोपटक देखेँ । उनले खेलको लय नै परिवर्तन गरिदिए ।’
बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिक पनि यामलको प्रदर्शनबाट उत्तिकै प्रभावित देखिए । ‘उनी एक फुटबल जीनियस हुन् भनेर म पहिलेदेखि नै भन्दै आएको छु । ठूला खेलहरूमा यामल अझ चम्किन्छन्,’ फ्लिकले भने, ‘क्लबका लागि एक सयौँँ खेलमा यति उत्कृष्ट प्रदर्शन गर्नु दुर्लभ कुरा हो ।’

खेलको सुरुवात इन्टर मिलानको पकडमा थियो । मार्कस थुराम र डेन्जेल डुम्फ्रिजको गोलले इटालियन टोली २–० ले अघि बढ्दा धेरैले इन्टरको सहज जितको आँकलन गरेका थिए । तर, २४औँ मिनेटमा यामलले व्यक्तिगत कौसल देखाउँदै गोल गरे । बल, पोस्टमा लागेर जाँदा पनि उनको नियन्त्रणको स्तर असाधारण थियो ।
योसँगै यामल १७ वर्षको उमेरमा च्याम्पियन्स लिगको सेमिफाइनलमा गोल गर्ने इतिहासकै कान्छा खेलाडी बने । सेमिफाइनल खेलमा ऐतिहासिक प्रदर्शन गरेपछि उनको अहिले चौतर्फी प्रशंसा भइरहेको छ । यामलको प्रशंसा गर्दै म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै लेखे, ‘यो केटो अविश्वसनीय छ ।’
खेलपछि पत्रकारसँग कुरा गर्दै यामलले प्रशंसा सुन्दा खुसी लागेको बताए । ‘सकारात्मक प्रतिक्रिया सुन्दा उत्साहित छु । तर, मेरो ध्यान अब दोस्रो लेगमा केन्द्रित छ । यो खेल जित्न सक्थ्यौँ भन्ने विश्वास थियो, अब फाइनल पुग्ने लक्ष्यमा केन्द्रित छु,’ यामलले भनेका छन् ।

बार्सिलोना सन् २०१५ यता पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुग्ने प्रयासमा छ, जबकि इन्टरले सन् २०१० मा उपाधि जित्दा सेमिफाइनलमा बार्सिलोनालाई हराएको थियो । दुवै टोलीको इतिहासले दोस्रो लेग भिडन्तलाई थप प्रतीक्षित बनाइरहेको छ । निर्णायक दोस्रो लेगपछि विजेता टोलीले ३१ मेमा जर्मनीको म्युनिखमा हुने फाइनलमा स्थान बनाउनेछ ।
हालसम्म बार्सिलोनाले पाँचपटक च्याम्पियन्स लिगको ट्रफी जितेको छ । उसले सन् २०१५ यता भने उपाधि जित्न सकेको छैन । बार्सिलोना यसपालि १० वर्षअघिको नतिजा दोहोर्याउँदै छैटौँपटक उपाधि च्याम्पियन बन्ने लक्ष्यमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।