राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले विदेशमा नेपालीको हत्या हुँदा संवैधानिक आयोगहरू मौन बस्ने गरेको भन्दै कडा आलोचना गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शाहीले भारतको जम्मु–कश्मिरमा सुदीप न्यौपानेको हत्या भएको सन्दर्भ उठाउँदै संवैधानिक आयोगहरूको मौनताप्रति आक्रोश व्यक्त गरेका हुन् ।
‘जब नेपाली मारिँदा संवैधानिक आयोग मौन रहन्छ, त्यस आयोगको कुनै काम छैन,’ शाहीले लेखेका छन् ।
उनले नेपाली नागरिक जहाँसुकै, जसरी मारिए पनि त्यसविरुद्ध बोल्नुपर्ने बताए । ‘इराकमा मारिएका १२ जना नेपाली हुन् या इजरायलमा प्यालेस्टिनी समूहद्वारा हत्या गरिएका १० जना नेपाली या जम्मु–कश्मिरमा मारिएका सुदीप न्यौपाने- म हत्याराको विरुद्धमा उभिन्छु,’ उनले उल्लेख गरेका छन्, ‘म एक्लै भए पनि यस्तो हत्याका विरुद्धमा खडा हुन्छु।’
शाहीले नेपालको धर्म निरपेक्षताको सन्दर्भ जोड्दै संवैधानिक आयोगहरूको स्वरूपमै प्रश्न उठाएका छन् । ‘यदि नेपाल सबै धर्मको साझा देश हो भने कुनै एक धर्मको मात्र संवैधानिक आयोग किन?’ भन्दै उनले अन्य धर्महरूको आयोग पनि हुनुपर्ने माग गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।