२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

प्रधानमन्त्री ‌ओलीसँग भाजपा नेताको भेट, के भयो कुराकानी ?

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित र क्षेत्रीय परिस्थितिबारे छलफल भएको ओली सचिवालयले जनाएको छ । तीन दिने नेपाल भ्रमणमा रहेका चौथाइवालेले बुधबार र बिहीबार गरी सत्तारूढ र प्रमुख विपक्षी दलका नेतासहित १२ जना शीर्ष नेतासँग भेट गरेका छन् ।



बुधबार गृहमन्त्री रमेश लेखकसँग भेटबाट सुरु भएको चौथाइवालेको भेटघाट बिहीबार साँझसम्म जारी रह्यो । उनले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा र नेता शेखर कोइरालासँग भेटवार्ता गरेका थिए । 

बिहीबार उनको भेटघाटक्रम बिहानैदेखि सुरु भएको थियो । चौथाइवालेले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापा, नेता प्रकाशशरण महत, उदयशमशेर राणा र माओवादी नेता जनार्दन शर्मासँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । त्यसपछि चौथाइवाले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।



चौथाइवालेको भ्रमण गत साता भारतको जम्मु काश्मिरस्थित पहलगाममा भएको आतङ्कवादी हमलापछि भएको हो, जसमा नेपालीसहित २६ जनाको ज्यान गएको थियो । सो घटनापछि भारतले पाकिस्तानमाथि कडा कूटनीतिक कदमहरू चालेको छ । यस्तो परिस्थितिमा चौथाइवालेले नेपालका नेताहरूको साथ र समर्थन जुटाउने उद्देश्यसहित भेटघाटहरू तीव्र पारेका छन् । 



  • प्रकाशित मिति : १८ वैशाख, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया