नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नीति तथा कार्यक्रम हेर्दा सरकार गन्तव्यविहीन जस्तो लागेको बताएका छन् । पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै परम्परागतबाट माथि उठ्न नसकेको बताएका हुन् ।
उनले भने, ‘यो नीति कार्यक्रम हेर्दा गन्तव्यविहीन जस्तो लाग्यो । अर्कोतिर निराश खालको लाग्यो । एउटा परम्परागत खालको लाग्यो । विगतमा नीति स्पष्ट गरिन्थ्यो । मूल कार्यक्रमहरू सरकारले संसद्मा नै प्रस्तुत गर्ने हो र त्यो कार्यक्रममा बजेट राख्ने र त्यसमा स्रोत जुटाउने काम हुन्थ्यो । यस पटक त्यस्तो छैन । त्यसैले सरकार गन्तव्यहीन चलिरहेको छ । त्यस्तो ल्याएको देखिन्छ ।’
उनले सरकारले अहिले कार्यक्रम नराखेर संसद्लाई छलेर आफू अनुकूलको योजना राख्न खोजेको बताए ।
उनले भने, ‘संसद्लाई छलेर कार्यक्रम आफू खुसी गर्न खोजे जस्तो देखिन्छ । बजेट पनि यस्तै निरस, अमूर्त र गन्तव्यहीन आउने सङ्केत देखिएको छ, यसले आर्थिक सुशासन र दिगो विकासमा योगदान पुर्याउन सक्दैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।