२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

सपनाजस्तै मुम्बईको कमब्याक, प्लेअफ पुग्न एक कदम टाढा [भिडियोसहित]
ट्रफीतिर लम्किँदै मुम्बई

जब मुम्बई इण्डियन्स आइपिएल २०२५ को सुरुवातमा हारको दलदलमा थियो, धेरैले उसलाई प्लेअफको दाबेदार नै ठानिरहेका थिएनन् ।


कप्तानमा आएको परिवर्तन, केही खेलाडीको लयमा गिरावट र सुरुवाती खेलमा देखिएको समन्वयको अभावले मुम्बई लड्खडाएको थियो । तर, मुम्बई त्यही टिम हो, जसले हरेक चोटपछि अझ बलियो भएर फर्किने इतिहास बोकेको छ ।    



जारी सिजनमा पनि उसले त्यो इतिहास दोहोर्यायो । मुम्बईको सानदार कमब्याकले विपक्षी टिम र विश्लेषक अहिले तीनछक परिरहेका छन् । जसप्रित बुमराहको जादुमयी बलिङ, सूर्यकुमार यादव, रोहित शर्मा, रायन रिकेलटनको आक्रामक ब्याटिङ र हार्दिक पाण्ड्याको उत्कृष्ट कप्तानी नै मुम्बईको सफलताको राज हो । 



यो पुनरागमनमा टिमका स्टारहरूको योगदान निर्णायक रहँदै आएको छ । विशेषगरी सूर्यकुमार यादव- जसको ब्याट अहिले चम्किलो हतियार बनेको छ । उनले जारी संस्करणमा ११ खेलमा तीन अर्धशतकसहित ४ सय ७५ रन बनाइसकेका छन् । र, आरेन्ज क्यापको दौडमा सूर्य शीर्ष स्थानमा छन् । उनको स्ट्राइक रेट, कन्फिडेन्स र इनोभेटिभ शट्सले विपक्षी बलरलाई निरन्तर दबाबमा राखेको छ ।

ओपनिङमा रायन रिकेलटनले पनि सशक्त प्रदर्शन गरिरहेका छन् । उनले ३ सय ३४ रन जोड्दै मुम्बईलाई उत्कृष्ट सुरुवात दिलाउन ठूलो भूमिका खेलेका छन् । त्यस्तै, रोहित शर्माले पनि कप्तानको बोझ नहुँदा झनै स्वतन्त्र ब्याटिङ गरेका छन् । २ सय ९३ रन बनाउँदै उनले टिमको इनिङलाई सन्तुलनमा राख्न सहयोग गरेका छन् ।

बलिङतर्फ पनि मुम्बईले आफ्नो ताकत देखाएको छ । जसप्रित बुमराह आफ्नो ‘क्लासिक’ लयमा छन् । उनले ७ खेलमा ११ विकेट लिँदै डेथ ओभरमा विपक्षीको गति थामेका छन् ।



अर्कोतर्फ हार्दिक पाण्ड्याले १३ विकेट लिँदै मिडल ओभरमा घातक दबाब सिर्जना गरिरहेका छन् । गत सिजन चर्को आलोचना खेपेका उनले यसपालि नतिजाबाट आलोचकलाई जवाफ दिइरहेका छन् ।

टिमको सामूहिक प्रदर्शन, उत्कृष्ट रणनीति र दबाबमा समेत शान्त रहने कला मुम्बईको बलियो पक्ष बनेको छ । अबको एक जितले प्लेअफमा उसको स्थान सुनिश्चित हुनेछ । तर, मुम्बईको नजर केवल अन्तिम चारमा पुग्नमा सीमित छैन । ऊ फेरि उपाधिको दौडमा पूरा तयारीका साथ होमिन चाहन्छ ।

विगतमा अनेकौंपटक असम्भव जस्तो देखिने स्थितिबाट फर्किएर चमत्कार गरेको मुम्बई फेरि त्यही यात्रामा निस्किएको छ । उसका समर्थक भनिरहेका छन्– ‘जब मुम्बई तात्छ, ट्रफी चुम्छ ।’

लय हेर्दा मुम्बईले त्यो संकेत पनि देखाएको छ । पाँचपटकको च्याम्पियन मुम्बई यसपालि छैटौँ उपाधिको खोजीमा छ । यदि यो सफलता हात पारे उसले चेन्नई सुपर किंग्सलाई पछि पार्नेछ ।  

हाल मुम्बई र चेन्नई दुवैले पाँच–पाँचपटक आइपिएल ट्रफी जितेका छन् । यसपालिको सिजनमा मुम्बईका लागि त्यो बराबरी तोड्ने ऐतिहासिक अवसर बनेको छ । के ऊ यो चमत्कारी पुनरागमनलाई ऐतिहासिक उपाधिमा रूपान्तरण गर्न सफल होला  ?

जवाफ भने मैदानमै मिल्नेछ । तर, यति भने निश्चित छ- मुम्बई फेरि एउटा यस्तो कथा बुन्दैछ, जुन सायद आइपिएल इतिहासकै सबैभन्दा रोमाञ्चक र अविस्मरणीय अध्याय बन्नेछ ।  

  • प्रकाशित मिति : १९ वैशाख, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया