काश्मिरको विवादित क्षेत्रमा भएको घातक आक्रमणपछिको बढ्दो तनावका बीच पाकिस्तान सेनाले शनिबार ‘मिसाइल प्रक्षेपण’ गरेको जनाएको छ । भारत-प्रशासित काश्मिरको पहलगाममा गत महिना भएको पर्यटकमाथिको आक्रमणको आरोप भारतले पाकिस्तानमाथि लगाएको छ, जसपछिको अवस्थाले दुई आणविक शक्ति राष्ट्रबीच पुनः तनाव बढाएको छ ।
पाकिस्तान सेनाले दिएको विज्ञप्तिमा ‘अब्दाली वेपन सिस्टम’ को सफल प्रशिक्षण प्रक्षेपण गरिएको जानकारी दिइएको छ । यो मिसाइल प्रणालीले ४५० किलोमिटर (२७९ माइल)सम्मको दूरीमा प्रहार गर्न सक्ने क्षमता राख्छ । ‘यो प्रक्षेपण सेनाको कार्यसञ्चालन क्षमताको परीक्षण तथा मिसाइलको प्रविधिय पक्षको मूल्यांकन गर्न गरिएको हो,’ पाकिस्तान सेनाले बताएको छ ।
तर प्रक्षेपण कुन स्थानमा गरिएको हो भन्नेबारे कुनै जानकारी दिइएको छैन । उक्त परीक्षण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहलगाम आक्रमणमा कारबाही गर्न सेनालाई ‘पूर्ण स्वतन्त्रता’ दिएको घोषणा पछिको समयमै भएको हो । सो आक्रमणमा २६ जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश हिन्दू तीर्थयात्री थिए । पाकिस्तानले आक्रमणमा संलग्नता अस्वीकार गर्दै स्वतन्त्र छानबिनको माग गरेको छ ।
यसै साता पाकिस्तानले भारतबाट सम्भावित हवाई आक्रमणको चेतावनी दिएको थियो र कुनैपनि आक्रामक गतिविधिमा बलपूर्वक प्रतिकार गर्ने प्रतिबद्धता दोहोर्याएको छ । काश्मिरको विषयमा बारम्बार युद्धमा होमिएका भारत र पाकिस्तानमाथि अन्तर्राष्ट्रिय समुदायले तनाव कम गर्न दबाब दिएको छ । छिमेकी चीनले संयमता अपनाउन आग्रह गरेको छ भने युरोपेली संघले पछिल्लो अवस्था ‘गम्भीर र चिन्ताजनक’ भएको जनाएको छ ।
अमेरिकाका उपराष्ट्रपति जे.डी. भ्यान्सले फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा भारतलाई ‘क्षेत्रीय द्वन्द्वमा परिणत नहुने’ किसिमले प्रतिक्रिया जनाउन आग्रह गरे । साथै पाकिस्तानलाई ‘आफ्नो भूमिमा सक्रिय आतंककारीहरूको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न’ अनुरोध गर्नुभयो।
विश्वलाई सन्देश
पाकिस्तानी विश्लेषकहरूले उक्त मिसाइल प्रक्षेपणलाई चेतावनीको रूपमा व्याख्या गरेका छन् । ‘यसले पाकिस्तानसँग भारतलाई प्रत्युत्तर दिने स्रोत र क्षमता छ भन्ने देखाउँछ । यो केवल भारतका लागि मात्र नभई सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायका लागि सन्देश हो कि हामी तयारी अवस्थामा छौँ,’ सैन्य विश्लेषक हसन अस्करी रिजवीले एएफपीसँग बताएका छन् ।
शुक्रबार पाकिस्तानी सेनाध्यक्ष जनरल सैयद आसिम मुनिरले उच्च सैन्य कमान्डहरूसँग हालको भारत–पाकिस्तान तनावबारे छलफल गर्नुभयो । बैठकमा उनले सबै सीमाक्षेत्रहरूमा सजगता र तयारी बढाउन जोड दिएका थिए ।
भारतीय रक्षा स्रोतहरू अनुसार, दुबै देशले नियन्त्रण रेखा (एलओसी)मा नौ रातदेखि लगातार गोलीबारी गरिरहेका छन् । करीब १.५ करोड जनसंख्या रहेको काश्मिर क्षेत्र पाकिस्तान र भारतबीच बाँडिएको छ तर दुवै देशले यसलाई आफ्नो क्षेत्र भनेर दाबी गर्दै आएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।