संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सीले गाजा क्षेत्रमा उत्पन्न मानवीय संकटलाई अत्यन्त गम्भीर भन्दै अन्तर्राष्ट्रिय समुदायलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेको छ ।
एजेन्सीका अनुसार जीवन निर्वाहका आधारभूत वस्तुहरूको आपूर्ति अवरुद्ध भएको नौ हप्ता पूरा भइसकेको छ । यो क्रम जारी रहँदा संकट झनै भयावह बन्ने चेतावनी दिइएको छ । युद्धविरामको लागि पुनः आह्वान गर्दै एजेन्सीले गाजामा राहत प्रवेशका लागि तत्काल र समन्वित प्रयासको माग गरेको छ ।
त्यस्तै, हमासद्वारा सञ्चालित गाजाको सञ्चार कार्यालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘नाकाबन्दी र सीमाहरू बन्द भएकाले शीघ्र मानवीय संकट उत्पन्न हुने खतरा बढ्दो छ ।’
वक्तव्यअनुसार इजरायली प्रशासनले शिशु आहार, पोषण सामग्रीलगायत अन्य मानवीय सहायता प्रवेश गर्न नदिएको कारण ७० हजारभन्दा बढी बालबालिका गम्भीर कुपोषणको सिकार भएका छन् । पाँच वर्षमुनिका ३ हजार ५ सयभन्दा बढी बालबालिका भोकमरीको स्थितिमा पुगेका छन् ।
सञ्चार कार्यालयले अन्तर्राष्ट्रिय समुदायलाई गाजामा मानवीय सहायता आपूर्तिको मार्ग खुलाउन, नाका खोल्न र अत्यावश्यक सामग्री सहज रूपमा प्रवेशको व्यवस्था गर्न तत्काल कदम चाल्न आह्वान गरेको छ ।
इजरायलले सन् २०२५ मार्च २ देखि गाजामा सबै प्रकारका आपूर्ति तथा वस्तुको प्रवेश रोक्दै आएको छ । यो निर्णय जनवरीमा भएको पहिलो चरणको युद्धविराम समाप्त भएपछि गरिएको हो, तर दोस्रो चरणको युद्धविराम अझै कार्यान्वयनमा आएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।