१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

भारतसँगको तनावबीच पाकिस्तानले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण

भारत–पाकिस्तानबीच काश्मिर विषयमा चर्किँदै गएको तनावको बीचमा पाकिस्तानले छोटो दूरीमा मार हान्न सक्ने दोस्रो क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ ।


सोमबार पाकिस्तान सेनाले जारी गरेको विज्ञप्तिअनुसार, १२० किलोमिटर दूरीमा प्रहार गर्न सक्षम मिसाइल परीक्षण गरिएको हो । विज्ञप्तिमा परीक्षणको उद्देश्य सैनिक तयारीको मूल्याङ्कन र प्रविधिगत पक्षहरूको प्रमाणीकरण रहेको उल्लेख गरिएको छ । 



यसअघि शनिबार पाकिस्तानले ४५० किलोमिटरको मारक क्षमता भएको अर्को क्षेप्यास्त्र पनि परीक्षण गरिसकेको थियो । लगातार गरिएको यी परीक्षणहरूले क्षेत्रीय सुरक्षामा थप चिन्ता थपिएको छ ।

यता, तनाव कम गर्न कूटनीतिक पहलहरू पनि देखिन थालेका छन् । इरानका विदेशमन्त्री अब्बास अरागची इस्लामाबाद आइपुगेका छन् र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफसँग भेटवार्ता गरेका छन् । उनी यही साता भारत पनि जाने तालिकामा छन् । इरानले भारत–पाकिस्तानबीच वार्ता गराउने प्रस्ताव अघि सारेको छ ।



प्रधानमन्त्री शरीफले देशको सेना ‘राष्ट्रिय सुरक्षाका लागि पूर्णरूपमा तयार’ रहेको बताएका छन् । भारतको जम्मु–काश्मिरमा गत महिनाको पर्यटकमाथिको आक्रमणपछि दुई देशबीच पुनः तनाव चर्किएको हो । उक्त घटनामा २६ जनाको मृत्यु भएको थियो । भारतले त्यस आक्रमणको दोष पाकिस्तानमा आश्रित समूहलाई दिएको छ । तर, पाकिस्तानले त्यसको खण्डन गर्दै स्वतन्त्र अन्तर्राष्ट्रिय छानबिनको माग गरेको छ ।

स्थिति झनै संवेदनशील बन्दै गएकाले अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयमता अपनाउन आह्वान गरिरहेको छ । अमेरिका, रुसलगायतका शक्तिशाली देशहरूले परिस्थितिलाई नियन्त्रणमा राख्न कूटनीतिक माध्यममार्फत समाधान खोज्न आग्रह गरेका छन् । 



  • प्रकाशित मिति : २२ वैशाख, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया