युवा अलराउन्डर मोहम्मद आदिल आलममाथि लागेको निलम्बन अन्ततः हटाइएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार विज्ञप्तिमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन उनलाई अब रोक नलाग्ने जानकारी दिएको हो ।
२०७९ को पुसमा सम्पन्न नेपाल टी–२० लिगमा स्पट फिक्सिङको आशङ्कामा आदिललाई निलम्बन गरिएको थियो । उक्त आरोपको अनुसन्धान गर्न क्यानको इन्टिग्रिटी युनिटले प्रक्रिया अघि बढायो । विस्तृत अनुसन्धानपछि तयार पारिएको प्रतिवेदनको आधारमा आदिलमाथिको प्रतिबन्ध फुकुवा गरिएको हो ।

प्रतिबन्ध फुकुवासँगै उनी पुनः सक्रिय खेल जीवनमा फर्कन पाउने भएका छन् । आदिलका समर्थक यस निर्णयबाट विशेष उत्साहित देखिएका छन् । लामो समयदेखि नेपालले ‘फिनिसर’ को भूमिकामा यथेष्ट प्रदर्शन गर्न सक्ने खेलाडीको खोजी गरिरहेको सन्दर्भमा उनलाई पुनः अवसर दिनुपर्ने माग समर्थकको छ ।
आदिल नेपाली टोलीमा आफ्नो सुरुवाती प्रदर्शनबाटै चासोको केन्द्र बनेका थिए । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ३१ मार्च सन् २०२२ मा पपुवा न्यूगिनीविरुद्ध डेब्यू गरे ।
उक्त टी–२० आई म्याचमा ११ बलमा तीन छक्का र एक चौका प्रहार गर्दै ३१ रन बनाएका उनको ब्याटिङले दर्शकलाई रोमाञ्चित बनायो । त्यही आक्रामकता र आत्मविश्वासका कारण आदिललाई केही समर्थकले ‘नेपाली आन्द्रे रसेल’को उपमा समेत दिन थाले ।
त्यसपछि उनले ११ जुन २०२२ मा अमेरिकाविरुद्धको खेलबाट ओडिआई क्रिकेटमा डेब्यू गरे । त्यस म्याचमा आदिलले २४ बलमा दुई छक्का र तीन चौकासहित ३६ रनको योगदान दिए । बलिङमा उनले ९ ओभरमा ४५ रन खर्चिएर तीन विकेट लिए ।

सो खेलमा आदिलले अन्तिम ओभरमा गरेको दमदार बलिङकै कारण नेपाली टिम लगभग हारिसकेको खेल टाइ गर्न सफल भयो । सोही खेलबाट प्राप्त महत्त्वपूर्ण एक अंक नेपालका लागि सन् २०२३ मा जिम्बाब्वेमा आयोजित एकदिवसीय विश्वकप छनोटमा सिधा प्रवेशको आधार बन्यो ।
आदिलको त्यो प्रदर्शन नेपाली क्रिकेट समर्थकका लागि स्मरणीय बनिसकेको छ । प्रतिबन्ध हटेसँगै अब आदिलको प्राथमिकता घरेलु प्रतियोगितामा फेरि आफूलाई प्रमाणित गर्नु रहनेछ ।
नेपाल प्रिमियर लिग (एनपिएल), प्रधानमन्त्री कपजस्ता प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेर उनी पुनः राष्ट्रिय टोलीमा पुनरागमन गर्न चाहेका छन् । लामो समयदेखि नेपालले आक्रामक फिनिसिङ गर्ने क्षमतायुक्त खेलाडीको अभाव महसुस गरिरहेको बेलामा आदिलको पुनरागमन टिम सन्तुलनका हिसाबले महत्त्वपूर्ण बन्न सक्छ । तर, प्रतिबन्धपछिको कमब्याक सजिलो हुने छैन ।
आफूलाई प्रमाणित गर्न उनले निरन्तर फिटनेस, अनुशासन र खेल कौसलमा उच्च स्तर कायम राख्नुपर्नेछ । यसपटक मैदानमा फर्किँदा आदिलले केवल आक्रामक रन मात्रै होइन, परिपक्वता र जिम्मेवारी पनि देखाउनु पर्नेछ ।

क्रिकेट समर्थक, विश्लेषक र सामाजिक सञ्जालमा सक्रिय युवा पुस्ता- सबैले आदिलको मैदानमा पुनरागमनलाई एक ठूलो अवसरका रूपमा लिएका छन् । साथै उनीहरूको प्रश्न पनि छ- ‘के आदिल अबको चरणमा परिपक्व भइसके ? के उनी अघिल्ला गल्तीहरूप्रति गम्भीर आत्मसमीक्षा गरेर फर्किने छन् ?’
यो पुनरागमन केवल व्यक्तिगत यात्राको सुरुआत होइन, यो नेपाली क्रिकेटको एउटा परीक्षण पनि हो- जहाँ एक विवादित तर प्रतिभाशाली खेलाडीले फेरि राष्ट्रिय झन्डामुनि प्रतिनिधित्व गर्ने बाटो बनाउने छन् कि भन्ने उत्सुकता धेरैको मनमा छ ।
आदिलले अब मैदानमा फर्किएर केवल छक्का/चौकाले होइन, आफ्नो अनुशासन, समर्पण र व्यावसायिकता देखाएर आलोचकका स्वरलाई पनि शान्त पार्नुपर्नेछ । यदि आदिलले यो मौका सदुपयोग गर्न सके त्यो केवल उनको व्यक्तिगत पुनरागमनको कथा रहने छैन । बरु नेपाली क्रिकेटमा दोस्रो अवसरले सिर्जना गरेको एउटा प्रेरणादायी उदाहरणका रूपमा स्थापित हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।