नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले गणतन्त्र पक्षधर नेताहरूलाई ‘फालिएको राजतन्त्र’सँग निरर्थक लडाइँ बन्द गर्न आग्रह गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले भने, ‘मरेको बाघको जुँगा उखेलेर पुरुषार्थ देखाउनु आवश्यक छैन । मरेको बाघलाई लात हान्न खोज्दा आफैँ गन्हाउन थालिन्छ ।’
गुरुङले संविधान संशोधन अपरिहार्य भएको उल्लेख गर्दै सर्वदलीय समिति बनाएर समावेशी संशोधनको खाका ल्याउन सुझाव दिए । उनले समानुपातिक सिट हटाएर प्रत्यक्ष प्रणालीबाटै प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने धारणा राखे ।
नीति तथा कार्यक्रममा समावेश ‘संवाद, सहकार्य’जस्ता शब्द व्यवहारमा नदेखिएको भन्दै गुरुङले सरकार र नेताहरूको आचरणले जनतामा राजनीतिप्रति वितृष्णा बढेको बताए ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा मात्र होइन, ०४६ यताका सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिन गर्न सकेमात्र सुशासनको जग बस्नेमा उनले जोड दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।