२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

यू-१९ साफ : पुनरागमनको पर्खाइमा नेपाल, दोहोर्याउन सक्ला १० वर्षअघिको नतिजा ?
प्रशिक्षक श्रेष्ठको दाबी : सानो गल्ती पनि गर्दैनौँ

२९ अगस्ट सन् २०१५ को त्यो दिन ललितपुरस्थित एन्फा कम्प्लेक्समा नेपालले उपाधि जितेसँगै दर्शकले ‘नेपाल, नेपाल’ को नारा लगाए । भारतलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै उपाधि जितेको नेपालले दक्षिण एसियाली फुटबलमा एउटा नयाँ अध्याय लेख्यो ।


साफ यू–१९ को पहिलो संस्करणमै च्याम्पियन बनेको नेपाल त्यसबेला उमेर समूह फुटबलको उचाइमा थियो । यस्तै, नेपालले सन् २०१७ मा यू–१८ साफ च्याम्पियनसिपको उपाधि जित्यो । त्यसपछि भने नेपालले साफ उपाधि जित्न सकेको छैन । 



नेपाली टिम वर्षौंअघिको नतिजा दोहोर्याउने लक्ष्यका साथ मंगलबार भारत प्रस्थान गरेको छ । राम थापाको कप्तानीमा रहेको टोलीमा ‘बी’ डिभिजन लिगका खारिएका खेलाडी छन् ।



नियमित प्रतिस्पर्धाबाट आएको तीव्रता र फिटनेसले टिमलाई बलियो बनाएको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठको दाबी छ । ‘४५ दिन तयारी गर्‍यौं, बी डिभिजन चलिरहेकोले सहज पनि भयो, गाह्रो पनि,’ उनी भन्छन्, ‘तर, फिटनेस राम्रो छ । यसपटक सानो गल्ती पनि गर्दैनौँ ।’

यू–१९ टिममा राष्ट्रिय टोलीबाट खेलिसकेका सुवास बम पनि छन्, उनले गत मार्चमा सिंगापुरविरुद्ध डेब्यू गरेका थिए । सुवाससँगै कप्तान राम, मदन पौडेल, लक्षु थापा र धवेन्द्र कुँवरले गत वर्ष यू–२० साफ खेलेका थिए ।  

कसको नाममा कति उपाधि ?



इतिहास हेर्दा हालसम्म उमेर समूहको साफमा भारत तीनपटक, नेपाल दुईपटक र बंगलादेश एकपटक च्याम्पियन भएको विगत छ । पछिल्लो संस्करण घरेलु मैदानमा भएको यू–२० फाइनलमा नेपाल बंगलादेशसँग स्तब्ध भयो । त्यसबेलादेखि प्रशिक्षक श्रेष्ठको मनमा उपाधि गुमाउनुको पीडा अझै ताजै छ ।

‘फाइनलको त्यो क्षण, जब जित नजिकै भएर पनि छुट्यो । यसपालि त्यही गल्ती दोहोर्याउन चाहँदैनौँ,’ उनी भन्छन् ।

उमेर समूहका प्रतियोगिताहरूलाई भविष्यको आधारको रूपमा हेरिन्छ । यस्ता प्रतियोगितामा राम्रो प्रदर्शन गर्दा युवा खेलाडीले सिनियर टोलीमा समावेश हुने अवसर पाउँछन् । यसपालि नेपाली यू–१९ टोलीका खेलाडीहरू सतप्रतिशत खेल्ने मानसिकतासहित मैदानमा उत्रने छन् ।

उनीहरूको लक्ष्य केवल यो प्रतियोगिता जित्नु मात्र होइन, भविष्यमा राष्ट्रिय टिममा स्थान बनाउन पनि हो । साथै युवा खेलाडीहरूसामु साफ उपाधि जितेर पछिल्लो केही वर्षदेखि निराश बनिरहेको नेपाली फुटबल माहोलमा उत्साह भर्न चाहन्छन् । उनीहरूको कडा अभ्यास र समर्पणले राष्ट्रिय टोलीमा नयाँ उमंग ल्याउने समर्थकको विश्वास छ ।  

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । समूह चरणमा नेपालले आयोजक भारत र श्रीलंकाको सामना गर्नेछ । नेपालले मे ११ मा श्रीलंका र १३ मेमा भारतसँग खेल्ने तालिका छ ।

यस्तै, अर्को समूहमा बंगलादेश, भुटान र माल्दिभ्स रहेका छन् । समूह चरणपछि दुवै समूहका शीर्ष दुई टिमले सेमिफाइनलको यात्रा गर्ने छन् ।  

  • प्रकाशित मिति : २३ वैशाख, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया