२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

सन्तान नहुँदा निराश नहुनुहोस्, आइभिएफले दिनसक्छ समाधान : डा. श्रेष्ठ [अन्तर्वार्ता]

विभिन्न कारणले पछिल्लो समय बाँझोपनको समस्याबाट पीडित दम्पतीको संख्या उल्लेखनीय रूपमा बढेको देखिन्छ । पुरुषमा यौन इच्छाको कमी, यौनशक्तिको कमजोरी, वीर्य स्खलन नहुनु, वीर्यमा शुक्राणुको संख्या अत्यधिक कम हुनु वा पूर्ण रूपमा शुक्राणु नहुनुजस्ता कारणले पुरुषतर्फबाट सन्तान जन्माउने क्षमतामा असर पुग्ने चिकित्सकहरू बताउँछन् ।


त्यस्तै महिलामा डिम्बाशय नली बन्द हुनु, डिम्बा ननिस्कनु, नलीमा खराबी हुनु वा जन्मजातै पाठेघरमा समस्या हुनु बाँझोपनको प्रमुख कारणहरू हुन् । तर, हरेक समस्याको समाधान सम्भव हुन्छ भन्ने कुरालाई पुष्टि गर्दै विज्ञानले बाँझोपन निवारणका लागि प्रविधिको विकास गरिसकेको छ । यही सन्दर्भमा ‘इन भिट्रो फर्टिलाइजेसन’ (आइभिएप) प्रविधि, जसलाई नेपालीमा कृत्रिम गर्भाधान वा प्रयोगशालामा निषेचन गरिने प्रविधिका रूपमा बुझिन्छ, प्रभावकारी समाधानको रूपमा स्थापित भइरहेको छ ।



प्रस्तुत छ, बाँझोपनको समस्या र आइभिएफ प्रविधिको प्रक्रिया, प्रभावकारिता तथा सफलताको सम्भावनाबारे वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ एवं आइभिएफ विशेषज्ञ डा. सानुमैयाँ श्रेष्ठसँग फरकधारकर्मी रेश्मा सिंहले गरेको कुराकानी : 

बाँझोपन अर्थात् सवफर्टिलिटी भनेको के हो ?  



विवाहपछि महिला र पुरुषले कुनै पनि परिवार नियोजनको अस्थायी साधन प्रयोग नगरी यौन सम्पर्क गर्दा एक वर्षसम्मको अवधिमा पनि गर्भ नरहेको अवस्थालाई बाँझोपन मानिन्छ । 

पछिल्लो समय बाँझोपन भन्दा धेरै दम्पतीलाई चित्त दुख्ने हुँदा अब चाहिँ बाँझोपन शब्दलाई परिवर्तन गर्नुपर्छ । बाँझोपनलाई हामीले सवफर्टिलिटी भनेर सम्बोधन गर्न आवश्यक छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार बाँझोपन प्रजनन् प्रणालीसँग सम्बन्धित समस्या हो । यस्तो समस्या महिला/पुरुष जसलाई पनि हुनसक्छ ।

बाँझोपन कति प्रकारका हुन्छन् ? 



बाँझोपन प्रायः गरी दुई प्रकारका हुन्छन् । पहिलो, आदि बन्ध्यत्व अर्थात् त्यो महिला जो आफ्नो पूरै जीवनमा कहिले पनि गर्भधारण गर्न सकिनन् । यसलाई प्राइमरी स्टेरेलिटी भनिन्छ । दोस्रो, एउटा सन्तानलाई जन्म दिएपछि कुनै पनि कारणवशले गर्दा फेरी गर्भधारण गर्न नसक्नु । एउटा सन्तान जन्मिसकेपछि त्यस महिलालाई बाँझोपन भन्न मिल्दैन । तर, यस्ता महिलालाई वन चाइल्ड स्टेरेलिटी भनिन्छ । 

महिलामा बाँझोपन हुने कारण के हो ?

बाँझोपन पुरुष वा महिला दुवैको कारणले हुने सम्भावना रहन्छ । विशेषगरी महिलामा प्रजनन् अंग पूर्णरूपले विकसित नहुनु, फोलिपियन ट्युब (डिम्बबाहिनी नली) मा अवरोध हुनु, पाठेघरमा घाउ हुनु, डिम्बाशयमा सिष्ट हुनु, डिम्ब निस्काशन नहुनु, थाइराइड ग्रन्थिको हार्मोन गडबडिजस्ता कारणले महिलामा बाँझोपनको समस्या हुनसक्छ । 

महिनावारी रोक्ने वा पर सार्ने औषधि खाँदा गर्भधारणमा कस्तो असर गर्छ ?

महिनावारी रोक्ने वा पर सार्ने औषधि खाँदा गर्भधारणमा कुनै असर पर्दैन । तर, नियमित सेवन भने गर्नुहुँदैन । यसले पछि गएर स्वास्थ्यमा समस्या निम्त्याउने हुँदा महिनावारी रोक्ने औषधिको सेवन गर्नुहुँदैन । 

नियमित महिनावारी नहुने महिलामा बच्चा नबस्ने सम्भावना कति हुन्छ ? 

हाम्रो समाजमा नियमित महिनावारी नहुने महिलामा बच्चा नबस्ने समस्या हुन्छ भन्ने गरिन्छ । तर, सबै महिलामा एउटै कुरा लागु हुन्छ भन्ने हुँदैन । महिलामा के कारणले नियमित महिनावारी भइरहेको छैन, त्यसको पहिचान गरी औषधिउपचार गरेपछि अन्य महिलाले झैँ बच्चा जन्माउन सक्छन् । त्यसैले कसैलाई नियमित महिनावारी भइरहेको छैन भने एकपटक स्त्रिरोग विशेषज्ञकहाँ गएर स्वास्थ्य परीक्षण गराउनुपर्छ । 

बाँझोपन समस्या समाधान कसरी गर्ने त ?

बाँझोपन समस्या समाधानको विषयमा कुरा गर्दा दुवै जना दम्पतीहरूको रगतको जाँचदेखि महिलाको भिडियोएक्स रेदेखि श्रीमानको शुक्रकिटको जाँच गर्नुपर्ने हुन्छ । सबै परीक्षण गरेर के कारण बाँझोपन भयो, त्यसको उपचारतर्फ जानुपर्छ । 

अहिलेको समयमा बच्चा बसेन भनेर कसैले पनि आत्तिहाल्नुपर्ने अवस्था छैन । बाँझोपनको समस्या समाधानका लागि विज्ञानले पनि प्रविधि भित्रयाइसकेको अवस्था छ । जसलाई आइभिएफ विधि भनिन्छ । आइभिएफ प्रविधिको माध्यमबाट कतिजना आमाबुबा बनिसकेको अवस्था छ । 

आइभिएफ विधि भनेको के हो ? 

सामान्यतया महिलामा महिनावारीको बीचको समयमा एउटा अण्डा बन्छ । त्यो अण्डा डिम्बाशयबाट निस्किएर ट्युबमा जान्छ । त्यही बेला यौनसम्पर्क हुँदा योनीबाट वीर्य पनि पाठेघर हुँदै ट्युबमा पुग्छ । यसरी ट्युबमा बनेको भ्रूणपछि आएर पाठेघरमा बस्छ । बच्चा बन्ने यो सामान्य प्रक्रिया हो । तर, कुनै कारणले डिम्बाशयमा अण्डा नबनेर ट्युबमा पुग्दैन वा ट्युब बन्द भएर वीर्य र अण्डाको संयोजन हुन पाएन अथवा पाठेघरमा बच्चा बन्ने प्रक्रिया हुन नसके आइभिएफ विधि प्रयोग गरिन्छ । बच्चा बन्ने यही प्रक्रियालाई कृत्रिम तरिकाले बाहिर प्रयोगशालामा गरिनुलाई आइभिएफ विधि भनिन्छ । अझ आम भाषामा टेस्टट्युब बेबी भन्ने गरिन्छ । 

आइभिएफ विधिका कति चरण हुन्छन् ? 

यसका मुख्य तीनवटा प्रक्रिया हुन्छन् । पहिलो, पूर्वतयारी अवस्था, दोस्रो, महिलाको अण्डा बाहिर झिक्ने र तेस्रो, बाहिरी रूपमा विकासित भ्रूणलाई उपकरणमार्फत पाठेघरमा पठाउने गरिन्छ । 

आइभिएफ विधिबाट जन्मने बच्चा सामान्य हुन्छन् । जुन प्रक्रियाले पाठेघरभित्र बच्चा बन्छ त्यही प्रक्रिया प्रयोगशालामा गरिएको मात्र हो । नेपालमा यसको प्रयोगबारे विस्तारै सचेतना फैलिँदैछ ।

  • प्रकाशित मिति : २४ वैशाख, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया