जम्मू–काश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणको जवाफमा भारतले बुधबार बिहान पाकिस्तानमा हवाई हमला गरेको थियो । सोही दिन पाकिस्तानले चीनमा निर्मित जे-१० सी लडाकु विमान प्रयोग गरेर भारतका पाँच लडाकु विमान खसालिएको दाबी गरेको छ ।
पाकिस्तानी विदेश मन्त्री इशाक डारले संसदमा जानकारी दिँदै रफाल, मिग–२९ र सुखोई जस्ता विमान खसालिएको बताए । भारतले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन । तर, ‘द न्यूयोर्क टाइम्स’ का अनुसार एक भारतीय अधिकारीले तीन विमान खसिएको पुष्टि गरे पनि कारण खुलाएका छैनन् ।
‘अपरेसन सिन्दुर’ नाम दिइएको भारतीय कारबाही बिहान १:०५ देखि साढे १ बजेसम्म चलेको थियो । डारका अनुसार पाकिस्तानी कारबाहीपछि चीनका राजदूतले बिहानै विदेश मन्त्रालयको भ्रमण गरेका थिए ।
चीनले भने अहिलेसम्म आफ्ना विमान प्रयोगबारे कुनै प्रतिक्रिया दिएको छैन । पछिल्ला वर्षहरूमा पाकिस्तान अमेरिकी हतियारबाट हटेर चिनियाँ हतियारमा निर्भर बन्दै गएको छ ।
भारत र पाकिस्तान दुवै देशले एक-अर्काको भूमिमा हवाई कारबाही गरेको जनाएका छन् । पहलगाम हमलामा २६ जनाको मृत्यु भएपछि भारतले काश्मिर र पाकिस्तानका विभिन्न स्थानमा आक्रमण गरेको थियो । त्यसको जवाफमा भएको कारबाहीमा दुवै पक्षबाट सर्वसाधारणको ज्यान गएको पुष्टि भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।