छिमेकी मुलुक भारत र पाकिस्तानबीच बढ्दै गएको तनावलाई लिएर रूपन्देहीका सीमामा निगरानी बढाइएको छ । जिल्लाको मूल नाका बेलहियासँगै सहायक नाका लुम्बिनी, भगवानपुरलगायत सर्वसाधारण हिँडडुल गर्न सक्ने सबै नाकामा सशस्त्र प्रहरीले निगरानी बढाएको छ ।
बेलहिया नाकामा भने तालिम प्राप्त कुकुरहरू डेजी र सायाबाट ‘डग स्निफिङ्ग’ गराएर मात्र नेपाल प्रवेश गर्न दिइएको छ । सशस्त्र प्रहरी बल, नेपालले सीमानाकामा डेजी र सायालाई तैनाथ गरेको छ ।
सीमाबाट हुन सक्ने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सीमाको सुरक्षार्थ डग हेण्डलरसहित यस अघि नै पठाएको डेजी र सायालाई बेलहिया सीमानाकामा खटाइएको छ ।
डेजी र साया तालिम प्राप्त कुकुर हुन् । तीन महिनाको हुँदा भारतबाट खरिद गरेर ल्याइएको जर्मन सेफर्ड प्रजातिको डेजीले हात–हतियार तथा विष्फोटक पदार्थका सामग्री सुँघेर पत्ता लगाउनमा अब्बल छ भने नेपालमै जन्मिएको ल्याब्राडोर प्रजातिको साया लागुऔषध प्रकृतिका सामग्री सुँघेर पत्ता लगाउनमा अनुभवी छ ।
पछिल्लो समय भारत–पाकिस्तानबीच चलिरहेको तनावका कारण क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो ।
सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबि) सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रुपमा गस्ती पेट्रोल र खबर आदान–प्रदानलाई तीब्रता दिइएको सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताए ।
सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध घुसपैठलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समेत समन्वय गरी सूचना आदान–प्रदान गरी सीमामा आवतजावत गर्ने गरी वारपार गर्नेलाई निगरानी गर्ने कार्य समेत कडाइका साथ गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।