१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

नजिकिँदै छन् ओली र प्रचण्ड ? [भिडियोसहित]
ओली-प्रचण्डको ‘भलाकुसारी’ र देउवाको मौनता

सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच खासखुस भएको तस्बिर बाहिरियो । दुई जनाबीचको यो भलाकुसारीको तस्बिर ओलीकै सचिवालयले मिडियासम्म पुर्‍याएको थियो । यसअघि पनि प्रचण्डसँग निकटता बढ्दा ओलीको सचिवालयले यसैगरी तस्बिर सार्वजनिक गर्ने गरेको थियो ।


नेपालको सत्ता गठबन्धन अहिले संख्यात्मक बहुमतको भरमा भए पनि राजनीतिक इच्छाशक्ति र विश्वासको अभावले गम्भीर संकटको सामना गरिरहेको बुझ्न कठिन छैन । गठबन्धनका प्रमुख दलहरूबीच बढ्दो राजनीतिक असमझदारी र अविश्वासको वातावरणले राज्य सञ्चालनका महत्त्वपूर्ण प्रक्रियाहरूमै असर पार्न थालेको छ । उदाहरणस्वरूप राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया लामो समयदेखि अल्झिएको छ, जसलाई सत्ताभित्रको आपसी असमझदारीको स्पष्ट संकेतका रूपमा हेरिन थालेको छ ।



सरकारका अधिकांश बढुवा तथा नियुक्ति प्रक्रियामा मन्त्रिपरिषद्को सामूहिक निर्णयभन्दा प्रधानमन्त्री ओलीको व्यक्तिगत हस्तक्षेप हाबी हुँदै गएको गुनासो नेपाली कांग्रेसभित्र बढ्दो छ । निर्णय प्रणालीमा एकल स्वभावको बलियो प्रभावका कारण कांग्रेस असन्तुष्ट देखिएको छ ।

यस्तैमा प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र माओवादी–समाजवादीसँग ब्याक–च्यानल संवाद जारी राखी सत्ता सन्तुलनको वैकल्पिक रणनीति तयार गरिरहेको चर्चा राजनीतिक वृत्तमा व्यापक छ । यही कारण सत्ता गठबन्धनभित्र विश्वासको अभाव र रणनीतिक अस्पष्टता झनै गहिरिँदै गएको विश्लेषण भइरहेका छन् ।



यस सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको कांग्रेसप्रतिको लामो प्रतीक्षा र अनिर्णय अब निर्णायक मोडमा पुग्ने अनुमान गरिएको छ । उनका पछिल्ला संकेतहरू कांग्रेससँगको दूरी बढाउँदै नयाँ सन्तुलनको खोजीमा उन्मुख रणनीतितर्फ इसारा गर्छन् ।

त्यसबाहेक हालै नेपाल भ्रमणमा आएका भारतीय जनता पार्टी (भाजपा)का नेता विजय चौथाइवालेको सक्रियतापछि माओवादी र एमालेबीचको सम्बन्ध पुनः नजिकिएको धेरैको अनुमान छ । चौथाइवालेको भ्रमणपछिको कूटनीतिक चहलपहल र त्यसपछिका राजनीतिक संकेतहरूलाई सामान्य संयोग मात्र नभई सूक्ष्म समन्वयको हिस्सा ठान्ने विश्लेषकहरू कम छैनन् ।

सत्तारुढ दलभित्र समस्या नरहेको दाबी 

कांग्रेस सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनमा कुनै समस्या नरहेको दाबी दोहोर्याइरहेका छन् । १२ वैशाखमा थाइल्याण्डबाट फर्किँदा उनले संक्षिप्तरूपमा गठबन्धन ‘ठिकै’ रहेको प्रतिक्रिया दिए । त्यसयता सार्वजनिकरूपमा मौन रहेका देउवाले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा भने गठबन्धन स्थिर रहेको र राष्ट्र बैंकको गभर्नर नियुक्तिमा पनि प्रधानमन्त्री ओलीका कारण ढिलाइ नभएको प्रस्ट पारे ।



प्रधानमन्त्री ओलीले पनि हालको सत्ता गठबन्धन २०८४ सालसम्म निरन्तर जाने दाबी गर्दै आएका छन् । उनले सार्वजनिक भाषणमा गठबन्धनको स्थायित्वप्रति ढुक्क हुन आग्रह गर्ने गरेका छन् । तर, पछिल्ला घटनाक्रममा उनी स्वयं ढुक्क देखिँदैनन् भन्ने संकेतहरू राजनीतिक वृत्तमा छलफलको विषय बनेको छ ।

सत्ता साझेदार कांग्रेसभित्र भने असन्तोष मौन रहन सकेको छैन । पछिल्ला पदाधिकारी बैठकहरूमा सरकार गठनका बेला भएको सातबुँदे सहमति कार्यान्वयनमा प्रधानमन्त्री ओली चुकेको र उनले मनपरी निर्णय लिँदै गएको भन्दै तीव्र आलोचना भएको छ । कांग्रेस नेताहरूले सत्ता साझेदारीको न्यूनतम् मापदण्ड पनि पालना नभएको गुनासो गरेका छन् ।

विशेषतः राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भएको ढिलाइप्रति कांग्रेसभित्र चर्को असन्तुष्टि छ । प्रधानमन्त्रीको अडानका कारण संवैधानिक अंगहरूमा नियुक्ति प्रक्रिया अवरुद्ध हुँदा सरकारभित्र उकुसमुकुसको वातावरण सिर्जना भएको नेताहरू बताउँछन् ।

यसबीच गठबन्धन स्थिर छ भन्ने नेताहरूको सार्वजनिक अभिव्यक्तिलाई ‘सामाजिक सन्तुलनको भाषिक अभ्यास’ मात्रै हो कि भन्ने प्रश्न उठ्न थालेको छ- जबकि भित्री तहमा सत्ता साझेदारहरूबीचको विश्वास झन्–झन् कमजोर हुँदै गएको संकेतहरू गहिरिँदै छन् ।

गभर्नर नियुक्तिमा अल्झिएको सत्ता गठबन्धन 

प्रधानमन्त्री ओलीसँग सहकार्य थालिएदेखि नै कांग्रेसभित्र असन्तुष्टि पलाइरहेको थियो– अहिले त्यो असन्तोष पार्टीभित्रै चुलिँदै गएको छ ।

सभापति देउवाको नेतृत्व पक्षमै रहेका उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता मीन विश्वकर्मालगायत नेताहरू आन्तरिक बैठकमा ओलीप्रतिको गुनासो व्यक्त गर्न थालेका छन् । यता डा. शेखर कोइराला, महामन्त्री गगन थापा जस्ता नेताहरू त खुल्लैरूपमा हालको सत्ता गठबन्धनप्रति शंका–असन्तोष पोख्ने गर्छन् ।

वर्तमान सरकारमा कांग्रेसबाहेक महन्थ ठाकुरको लोसपा, उपेन्द्र यादव नेतृत्वको जसपा (नेपाल), अशोक राईको जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ । साना विपक्षीहरू स्वाभाविक रूपमा आलोचक छन् । तर, समर्थन गर्ने दलभित्रै अहिले सत्ता समीकरणबारे नयाँ असमझदारीहरू सतहमा आउन थालेका छन् ।

विशेषतः राष्ट्र बैंकको गभर्नर नियुक्तिमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा तीव्र हुँदै गएको छ । एमाले आफू नजिकका पात्र नियुक्त गर्न खोजिरहेछ भने कांग्रेस पनि आफ्नो पक्षको उम्मेदवार अडानमा अडिएको छ । प्रधानमन्त्री ओलीले यस विषयमा ढिलाइ र दोधार देखाउन थालेपछि दुई दलबीचको विश्वास संकट गहिरिएको हो ।

कांग्रेसका एक शीर्ष नेताका अनुसार देउवा थाइल्याण्डबाट फर्केपछि प्रधानमन्त्री ओलीले गठबन्धनमा समस्या नहुने आश्वासन दिएका थिए । तर, पछिल्ला संकेतहरू उल्टो देखिँदै छन् । प्रधानमन्त्री ओली स्वयं अब आश्वस्त देखिँदैनन् । उनले माओवादी अध्यक्ष प्रचण्डसँगको संवादलाई तीव्रता दिँदै सत्ताको सन्तुलन फेरबदल गर्न सक्ने सन्देश दिन थालेका छन् ।

राजनीतिक विश्लेषक सुदर्शन आचार्यका अनुसार प्रधानमन्त्री ओली कांग्रेसको आन्तरिक द्विविधा राम्ररी बुझेका छन् । यही कमजोरी चिर्न उनले प्रचण्डसँग एक्लाएक्लै भेट, वाम एकताको चर्चा, अर्थमन्त्री विष्णु पौडेललाई प्रचण्ड निवास पठाउने जस्ता गतिविधि सुरु गरेका छन् ।

‘ओली कांग्रेसलाई साइडलाइन गर्दै माओवादीसँगको वाम सहकार्यको सम्भावना संकेत गर्न खोजिरहेका छन्,’ विश्लेषक आचार्य भन्छन्, ‘यसले कांग्रेसलाई मानसिक दबाबमा राख्ने र विकल्पहीन बनाउने रणनीति देखिन्छ ।’

आचार्यका अनुसार तत्काल ओली-प्रचण्ड मिलेर नयाँ सत्ता निर्माण गर्ने सम्भावना न्यून छ । प्रचण्ड अझै ओलीप्रति पूर्णरूपमा विश्वस्त छैनन् र देउवाले पनि हाललाई गठबन्धन तोड्ने संकेत दिएका छैनन् ।

‘ओली अहिलेको राजनीतिक परिदृश्यमा आफूले पाउने सम्भाव्य लाभहरू सुँघिरहेका छन्,’ आचार्य भन्छन्, ‘तर, उनी कांग्रेसलाई हटाएर नयाँ संरचना बनाउने जोखिम तत्काल उठाउने अवस्थामा छैनन् ।’

यही सन्तुलनमा देउवाको भूमिका निर्णायक छ । उनको निरन्तर साथले ओलीलाई कांग्रेसभित्रको असन्तोषको सामूहिक प्रतिरोध गर्न सहयोग पु¥याइरहेको छ । तर, प्रश्न यहीँ उठ्छ- के देउवा स्वयं ओली सरकारसँग सन्तुष्ट छन् ? जवाफ अझै अस्पष्ट छ ।

  • प्रकाशित मिति : २५ वैशाख, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया