नेपाली महिला फुटबलकी स्टार सवित्रा भण्डारी ‘साम्बा’ ले युरोपियन लिगमा आफ्नो उपस्थिति धमाकेदार बनाएकी छन् ।
फ्रान्सको शीर्ष डिभिजन क्लब अन आभान्ट ग्वेङगाम्पबाट व्यावसायिक फुटबल खेलिरहेकी साम्बाले बुधबारको अन्तिम खेलमा ह्याट्रिक गर्दै सिजनको समापन गरिन् ।
घरेलु मैदानमा सन्ट इटियनविरुद्धको खेलमा उनले ५७औँ, ८५औँ र इन्जुरी समयमा गोल गर्दै टिमलाई ३–२ को पुनरागमन जित दिलाइन् ।

साम्बाको व्यक्तिगत प्रदर्शन सानदार रहँदा पनि यस संस्करणमा क्लबको समष्टिगत नतिजा कमजोर रह्यो । अन आभान्ट २२ खेलमा जम्मा तीन म्याचमा जित निकाल्दै रेलिगेसनमा परेको छ, जसले गर्दा अब क्लब दोस्रो डिभिजनमा झरेको छ । तर, साम्बाको योगदानमा कुनै पनि प्रश्न उठ्ने ठाउँ छैन ।
उनले यस सिजनमा कुल ६ गोल गर्दै फ्रान्सको प्रतिस्पर्धात्मक लिगमा नेपाली प्रतिभा कति सम्भावनायुक्त छ भन्ने प्रमाण दिएकी छन् । विशेषतः पेरिस सेन्ट जर्मेन (पीएसजी) जस्तो स्टार भरिएको क्लबविरुद्ध दुई गोल गर्नु साम्बाको स्तर दर्साउन पर्याप्त छ ।
उनको यात्रा केवल फुटबलको कथा होइन, यो असम्भव ठानिएका सपना साकार हुने नेपाली वास्तविकताको दस्तावेज पनि हो । लमजुङको विकट गाउँ, आर्थिक अभाव र पारिवारिक जिम्मेवारीबीच हुर्किएकी साम्बाले आफ्नो जीवनलाई फुटबलमार्फत नयाँ दिशा दिएकी छन् । सानैदेखि फुटबलप्रेमी उनले प्रारम्भमा स्थानीय क्लबसँग खेलिन्, पछि भारतको आई लिगसम्म पुगिन् ।

आई लिगमा साम्बाले गोकुलम केरला र सेतु एफसीजस्ता प्रतिष्ठित क्लबलाई च्याम्पियन बनाउन प्रमुख भूमिका निभाइन् । ती सफलताले उनलाई अन्तर्राष्ट्रिय फुटबल जगतको नजरमा पुर्यायो । त्यसको फलस्वरूप साम्बा फ्रान्सेली क्लबसँग १८ महिनाको व्यावसायिक सम्झौतामा पुगिन्, जसको पहिलो वर्षमै उनले आफ्नो उपस्थिति बलियो बनाएकी छन् ।
अन्तर्राष्ट्रिय फुटबलमा साम्बाको गोल संख्या ५३ नाघिसकेको छ, जुन नेपाली फुटबल इतिहासकै सर्वाधिक हो । यो संख्या अझै बढ्ने अपेक्षा गरिएको छ, किनकि उनी अहिले पनि करिअरको उच्च लयमा छिन् । साम्बा अहिले केवल फुटबलर होइनन्, उनी कयौँ युवाका लागि सपना, साहस र सम्भावनाको प्रतीक बन्न पुगेकी छन् ।
उनको यो सफलता केवल व्यक्तिगत जित होइन, यसले नेपाली महिला फुटबलका लागि युरोपको ढोका खोलेको छ । साम्बा अरू नेपाली खेलाडीका लागि सपना देख्ने आँखा र त्यसलाई साकार पार्ने सम्भावनाको बाटो बनेकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।