भारत र पाकिस्तानबीचको बढ्दो सैन्य तनावले गम्भीर मोड लिएको छ । एकअर्कामाथि ड्रोन र मिसाइल आक्रमण थालेपछि दुवै देशले नागरिक सुरक्षामा उच्च सतर्कता अपनाएका छन् ।
सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै भारतले बिहीबार एकैपटक २४ वटा विमानस्थल अस्थायीरूपमा बन्द गरेको छ । यसबारे भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सले विस्तृत रिपोर्ट प्रकाशित गरेको छ ।
दिल्ली विमानस्थलबाट मात्रै बिहीबार ९० वटा उडान रद्द भएका छन् ।
ड्रोन आक्रमणपछि भारतको निर्णय
पाकिस्तानले भारत प्रशासित जम्मू, पञ्जाब, गुजरात र राजस्थानका विभिन्न भागमा हवाई आक्रमण गर्न थालेपछि भारतको नागरिक उड्डयन प्राधिकरणले यो निर्णय लिएको हो ।
पाकिस्तानका रक्षामन्त्री खावाजा आसिफले बिहीबार भारतका २५ वटा ड्रोन खसालिएको दाबी गरेका छन् । उनका अनुसार लाहोर, रावलपिण्डी र कराँचीबाट पाकिस्तानी सेनाले ड्रोन र मिसाइल प्रयोग गरी भारतीय ड्रोनहरू खसालेका हुन् ।
भारतले पनि आफ्ना एयर डिफेन्स प्रणालीमार्फत पाकिस्तानी ड्रोन तथा मिसाइल आक्रमणहरूलाई निष्क्रिय पारेको बताएको छ । पश्चिमी र उत्तरी भारतमा पाकिस्तानले लक्षित गरेका कयौँ 'टार्गेट' भारतले निष्क्रिय पारेको दाबी गरिएको छ ।
कुन–कुन विमानस्थल बन्द ?
भारतले चण्डीगढ, श्रीनगर, अमृतसर, लुधियाना, भुन्टर, किशनगढ, पटियाला, शिमला, कांगडा–गग्गल, बठिण्डा, जैसलमेर, जोधपुर, बीकानेर, हलवारा, पठानकोट, जम्मू, लेह, मुन्द्रा, जामनगर, हिरासा (राजकोट), पोरबन्दर, केशोद, काण्डला र भुज गरी जम्मा २४ वटा विमानस्थल अस्थायीरूपमा बन्द गरेको हो ।
हिन्दुस्तान टाइम्सका अनुसार विमानस्थलहरू बन्द हुँदा भारतीय एयरलाइन्सहरूलाई ठूलो आर्थिक घाटा भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।