रोबर्ट प्रेभोस्ट सेन्ट पिटरस्थित गद्दीमा बस्ने २६७औँ सर्वोच्च पादरी बनेका छन् । उनलाई अब ‘लिओ चौधौँ’ भनेर चिनिने छ ।
उनी पोपको भूमिका निर्वाह गर्ने प्रथम अमेरिकी बनेका छन् । यद्यपि उनलाई ल्याटिन अमेरिकी कार्डिनलका रूपमा बढी चिनिन्छ । बिशप बन्नुअघि उनले इसाई धर्मप्रचारका क्रममा धेरै वर्ष पेरुमा रहेर सेवा गरेका थिए ।
स्वर्गीय पोप फ्रान्सिसका उत्तराधिकारीका रूपमा चुनिएपछि लियो सेन्ट पिटर्स बेसिलिकाको बाल्कोनीमा आफ्नो पहिलो सम्बोधनका लागि उपस्थित हुँदा उनलाई हजार शुभेच्छुकहरूले स्वागत गरेका छन् ।
पोप चुनिएपछि दिएको पहिलो सार्वजनिक सम्बोधनमा उनले भने, ‘समग्र पृथ्वीमा जहाँसुकै भए पनि सबै मानिसहरूमा शान्ति कायम रहोस्, हामीलाई र एक अर्कालाई, आपसमा वार्ता र छलफलको माध्यमबाट पुलहरू निर्माण गर्न सधैँ शान्ति र एकता कायम गर्न मद्दत मिलोस् ।’
लियोको सम्बोधनमा दर्शकदीर्घाबाट तालीको गडगडाहतसहितको न्यानो स्वागत पाएको थियो । पोपले स्पेनी भाषामा बोल्दै आफ्ना पूर्ववर्ती फ्रान्सिसलाई नयाँ पोपका हैसियतमा औपचारिकरूपमा श्रद्धाञ्जली अर्पण गरे ।
‘उमेरका कारण कमजोर बनेका पोप फ्रान्सिसले रोमलाई आशीर्वाद दिएको आवाज हामीलाई अझै पनि हाम्रो कानमा गुञ्जिरहेको जस्तो लागिरहेको छ,’ लियोले अर्जेन्टिनी फ्रान्सिसको मृत्युको एक दिन अघि इस्टर सन्डेको सम्बोधन (प्रार्थना) लाई सङ्केत गर्दै भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।