२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

नेपाली टिम संकटमा, कप्तान व्यवसायमा : रोहितको प्राथमिकता के हो ? [भिडियोसहित]

नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल अहिले आफ्नै फर्म र जिम्मेवारीको दोबाटोमा उभिएका छन् ।


कहिल्यै नथाक्ने जोश, मैदानमा बाँकी खेलाडीमाथि भरोसा जगाउने कप्तानको आँखा र लामो भविष्यका लागि भरपर्दो आशा भनेर चिनिएको यो नाम पछिल्लो केही महिनायता विस्तारै प्रश्नको घेरामा पर्न थालेको छ । किनकि नेपाली टिमको कप्तान रहँदा पनि रोहितको ब्याट शान्त छ । र, उनी नेतृत्व गरिरहेको टिमको नतिजा पनि गुम्सिएको छ ।



२७ अक्टोबर २०२४ पछि रोहितले अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै अर्धशतकीय पारी खेल्न सकेका छैनन् । उनको स्ट्राइक र कन्ट्रोल दुवै हराएको जस्तो देखिन्छ । कप्तानको लय हराउँदा टिमको मनोबल मात्र होइन, रणनीतिगत तयारीसमेत अपूरो देखिन थालेको छ । अप्ठ्यारो अवस्थामा निर्णायक बन्नुपर्ने खेलाडी आफैं अनिश्चित देखिँदा टिमको प्रदर्शन भताभुङ्ग हुनु अनौठो होइन ।



गत अप्रिलमा सम्पन्न चारदेशीय टी–२० सिरिज उदाहरणका रूपमा लिन सकिन्छ । रोहितले त्यस सिरिजमा नेतृत्व गरे । तर, त्यहाँ उनको कुनै पनि पारी सम्झनलायक रहन सकेन ।

फाइनलजस्तो महत्त्वपूर्ण खेलमा उनी ७ रन मात्र बनाएर आउट भए । प्रतियोगिताका कठिन मोडहरूमा कप्तानको उपस्थितिको आशा गरिन्छ । तर, रोहितले फेरि निराश बनाए । 

यो बेलामा एउटा प्रश्न जन्मिएको छ- उनको मैदानबाहिरको गतिविधिले मैदानभित्रको फोकसमा असर पारेको त होइन ? केही साताअघि रोहितले काठमाडौंको बुद्धनगरमा एउटा क्याफे सञ्चालनमा ल्याए ।

उनका अनुसार यो प्रयास क्रिकेटबाहेक केही फरक गरौं भन्ने सोचको उपज हो । विदेशमा देखिएको कफी संस्कृतिको प्रभाव, युवाहरूको क्याफेप्रतिको आकर्षण र आफ्नो भविष्यप्रतिको तयारीलाई रोहितले यस व्यवसायमा प्रवेशको कारण बताए ।



व्यवसाय सुरु भएसँगै शुभकामनाको ओइरो लाग्यो, तस्बिर भाइरल भए, केही सेलिब्रिटी पनि आए । तर, यति सबै चमकबीच एक यथार्थ प्रश्न गम्भीररूपमा उठिरहेको छ– के अहिले व्यवसाय सुरु गर्ने उपयुक्त समय हो ? 

२२ वर्षको उमेरमा कप्तानी सम्हाल्नु आफैंमा ठूलो जिम्मेवारी हो । त्यो पनि एउटा यस्तो राष्ट्रको टिमको कप्तानी, जहाँ क्रिकेटले आम मानिसको भावना प्रतिनिधित्व गर्छ । र, प्रत्येक जित–हारमा जनताले आशा वा निराशा व्यक्त गर्छन् । त्यसमाथि अहिले नेपाली टिम संकटको समयमा छ- प्रदर्शन अनियमित छ । यस्तोबेला कप्तानको ध्यान पूर्णरूपमा क्रिकेटमै केन्द्रित हुनु पर्छ भन्ने अपेक्षा स्वाभाविक हो । तर, अहिलेको परिदृश्य फरक छ ।

जब मैदानमा उनको ब्याट बोल्दैन, टिमको योजना स्पष्ट हुँदैन र प्रतिस्पर्धी खेलमा नेपाली टिम हार्छ, तब स्वभाविकरूपमा आलोचना कप्तान रोहिततिर फर्किन्छ । र, यस्तो समयमा क्याफेजस्ता व्यावसायिक प्रयोगहरू ध्यान भंगको रूपमा व्याख्या हुन थाल्छन् । 

के रोहित व्यापार र क्रिकेट दुवै क्षेत्रमा सन्तुलन राख्न सक्छन् ? की व्यवसायतिरको मोहले उनको क्रिकेट करिअरलाई ओझेलमा पार्नेछ ?

यो प्रश्नको उत्तर दिने समय अब धेरै टाढा छैन । तर, नेपाली क्रिकेटमा नेतृत्वको स्थायित्व र टिमको भरोसाको खोजी भइरहँदा कप्तानको भूमिका भने अझै गहिरोरूपमा परीक्षणमा परेको छ ।

  • प्रकाशित मिति : ३० वैशाख, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया