नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रमुख बलर सन्दीप लामिछानेले क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने निर्णय गरेका छन् । बुधबार सामाजिक सञ्जालमा पोस्ट सार्वजनिक गर्दै उनले सो निर्णय गरेका हुन् ।
लामिछानेले यो निर्णय आफूले धेरै सोचविचारपछि व्यक्तिगत र व्यावसायिक कारणले लिएको समेत स्पष्ट पारेका छन् ।
‘धेरै विचारपछि मैले क्यानको केन्द्रीय सम्झौताबाट बाहिर बस्ने निर्णय गरेको छु,’ उनले लेखेका छन्, ‘म जसरी पहिला खेल्थेँ, सोही तरिकाले खेल्ने छु । मेरो गौरव र जिम्मेवारी नेपाली टिमप्रति कम हुँदैन ।’ उनले क्यानलाई निरन्तर साथ, अवसर र समर्थनका लागि धन्यवाद पनि व्यक्त गरेका छन् ।

सन्दीप हालै मात्र क्यानले सार्वजनिक गरेको केन्द्रीय अनुबन्धको सूचीमा ‘ए’ ग्रेडमा परेका थिए । ‘ए’ ग्रेडका नेपाली क्रिकेटरलाई क्यानले मासिक एक लाख रुपैयाँ पारिश्रमिक प्रदान गर्दै आएको छ । पछिल्लो समय सन्दीप विदेशी लिगमा अनुबन्ध छैनन् ।
केही महिनाअघिसम्म उनी क्यानको केन्द्रीय अनुबन्धको सूचीमा पनि थिएनन् । यसले गर्दा विगतजस्तो सन्दीपको आर्थिक स्थिति पनि राम्रो थिएन । तर, यही कठिनाइका बीच उनले क्यानले प्रदान गर्दै आएको एक लाख पारिश्रमिक नलिने घोषणा गरेका छन् ।
के भन्छ क्यान ?
सन्दीपको यस कदमले समर्थक र विश्लेषकलाई दुई धारमा विभाजित गरेको छ । एकातर्फ केहीले यो निर्णय क्यानभित्रको राजनीति र आन्तरिक खिचातानीको परिणाम भनेर बुझेका छन् ।

अर्कातर्फ केही क्रिकेट समर्थकले यसमा व्यक्तिगत घमण्डको झल्को देखिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा यसबारे व्यापक चर्चा भइरहेको छ, यसले देखाउँछ कि सन्दीपको छवि र प्रभाव अझै पनि नेपाली क्रिकेटमा गहिरो छ ।
हुन त विगतमा पनि उनले केन्द्रीय सम्झौताबिना नै अन्तर्राष्ट्रिय म्याच खेलेका थिए । त्यसैगरी केही नयाँ खेलाडीहरू पनि सम्झौता नभएकै अवस्थामा टिममा खेलिरहेका छन् । क्यानका प्रवक्ता छुम्बी लामाले सन्दीपको ताजा निर्णयबारे क्यानलाई जानकारी प्राप्त भएको जानकारी दिए ।
‘सन्दीपको निर्णयबारे संघलाई जानकारी प्राप्त भएको छ । यसबारे छलफल गरेर मात्र अगाडि बढ्ने छौँ,’ प्रवक्ता लामाले भने । क्यानको केन्द्रीय सम्झौतामा नरहने घोषणा गरेकै दिन सन्दीप टिमसँगै बेलायत प्रस्थान गरेका छन् ।
उनी बिहीबार बिहान मात्र क्यानको केन्द्रीय कार्यालयमा आयोजित बिदाइ कार्यक्रममा पनि उपस्थित थिए ।

अहिलेको निर्णयलाई सन्दीपले ‘व्यावसायिक र व्यक्तिगत परिपक्वताको पाटो’ भन्न चाहे पनि यसले क्यान र नेपाली क्रिकेट संरचनाबारे गम्भीर बहसलाई पुनः सतहमा ल्याएको छ ।
यद्यपि केन्द्रीय सम्झौताबाट बाहिरिए पनि राष्ट्रिय जर्सीप्रतिको मोह र जिम्मेवारीबाट उनले हात झिकेका छैनन् । यस्तो सन्दर्भमा सन्दीपको यो निर्णय व्यक्तिगत स्वतन्त्रताको अभ्यास हो वा संस्थागत असन्तोषको संकेत– यसको स्पष्ट चित्र समयसँगै उजागर हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।