सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर छनोटका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा नयाँ सिफारिस समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि गठन गरिएको समिति खारेज गर्दै नयाँ समिति बनाउने निर्णय गरेको हो ।
मुख्य सचिव एकनारायण अर्यालका अनुसार अर्थमन्त्री पौडेलकै प्रस्तावमा पुरानो समिति विघटन गरेर नयाँ समिति बनाइएको हो । नयाँ समितिमा संयोजक पौडेलसँगै सदस्यका रूपमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र विज्ञ सदस्यमा पोषराज पाण्डे छन् ।
यसअघि समितिका विज्ञ सदस्य विश्व पौडेलले राजीनामा दिएका थिए । सुरुको समितिका अर्का सदस्य पूर्व गभर्नर विजयनाथ भट्टराईले पनि गत बैठक नबसेको र गभर्नर चयन प्रक्रियामा कुनै भूमिका नदेखिएको भन्दै राजीनामा दिएका थिए । त्यसपछि सरकार पक्षले भट्टराईको स्थानमा महाप्रसाद अधिकारीलाई ल्याएको थियो ।
समिति फेरिएसँगै अर्थ मन्त्रालयले सबै सदस्यहरूलाई पुनः औपचारिक पत्र दिने प्रक्रिया थालेको छ ।
गत २५ चैतदेखि गभर्नर पद रिक्त छ। हाल वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना कार्यवाहक गभर्नरको जिम्मेवारीमा छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।