अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अमेरिका–भारतबीच पारस्परिक कर छुटको प्रस्ताव अघि सारेको दाबी गरेका छन् । दोहामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति ट्रम्पले भारतले कुनै अतिरिक्त शुल्क नलिने सर्तसहित व्यापार सम्झौताको प्रस्ताव गरेको बताएका हुन् ।
‘उनीहरूले मूलतः हामीलाई शून्य कर अवधारणामा आधारित सम्झौता प्रस्ताव गरेका छन्,’ ट्रम्पले भने । साथै, उनले एप्पल कम्पनीका प्रमुख कार्यकारी टिम कुकलाई भारतमा उत्पादन विस्तार गर्ने सट्टा अमेरिका भित्रै उत्पादन बढाउन प्रेरित गरेको खुलासा पनि गरे ।
‘हिजो टिम कुकसँग केही समस्या भयो,’ ट्रम्पले भने, ‘मैले उनलाई एक मित्रका रूपमा व्यवहार गर्ने भनेँ । तर मैले सुनेको छु, अहिले उनी भारतभरि उत्पादन गरिरहेका छन् । म चाहन्न कि तपाईं भारतमा निर्माण गर्नुहोस् । भारत उच्च कर प्रणाली भएको देश हो, र त्यहाँ बजार पाउन निकै चुनौतीपूर्ण छ ।’
यद्यपि एप्पलले अमेरिकी बजारका लागि बनाइने आइफोनको उत्पादन भारतमा सार्ने रणनीति अघि बढाइरहेको खबर सार्वजनिक भइसकेको छ । यो निर्णय एप्पलको चीन केन्द्रित उत्पादन प्रणालीलाई विविधीकरण गर्ने दीर्घकालीन रणनीतिको हिस्सा हो ।
भारत र अमेरिका बीच पछिल्लो समय व्यापार वार्ता तातिएको छ । भारतका वाणिज्यमन्त्री पियुष गोयल १६ मेमा अमेरिका जाने तयारीमा छन् । यात्रा पूर्व नै अधिकारीस्तरको प्रारम्भिक वार्ता सुरू भइसकेको जनाइएको छ । यसअघि, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अप्रिलमा भारत भ्रमण गरेका थिए, जसलाई द्विपक्षीय व्यापार सम्झौतालाई अघि बढाउने प्रयासको रूपमा हेरिएको थियो ।
यता राष्ट्रपति ट्रम्पले १२ मेमा भारत–पाकिस्तानबीचको तनावबारे पनि बोलेका थिए । उनले आफ्नो प्रशासनले दुवै मुलुकबीच युद्धविरामका लागि मध्यस्थता गर्न प्रयासरत रहेको दाबी गरे ।
ट्रम्पको पछिल्ला टिप्पणीहरूले भारत–अमेरिका व्यापार सम्बन्धको आगामी मोडबारे गहिरो चासो थपिएको छ । खासगरी एप्पलजस्ता बहुराष्ट्रिय कम्पनीका रणनीतिक निर्णय र दुई देशबीचको कूटनीतिक–आर्थिक वार्ता सँगै अघि बढ्ने देखिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।