भारतमा जारी साफ यू–१९ च्याम्पियनसिप फुटबलमा नेपाल १० वर्षपछि फाइनल पुग्ने लक्ष्यमा छ । त्यसका लागि नेपालले शुक्रबार बंगलादेशलाई हराउनुपर्छ ।
नेपालले अन्तिमपटक यू–१९ साफ फाइनलमा सन् २०१५ मा स्थान बनाएको थियो । र, नेपालले पहिलो संस्करणकै उपाधि जितेर इतिहास रच्यो । त्यसपछि नेपाल सन् २०१७ मा साफ यू–१८ को च्याम्पियन बन्यो । पछिल्लो ८ वर्षयता भने नेपालले उपाधि उचाल्न सकेको छैन ।
सन् २०२३ मा भएको साफ यू–२० मा नेपाललाई तेस्रोपटक उमेर समूहको फुटबल प्रतियोगिता जित्ने मौका थियो । तर, नेपाल घरेलु मैदानमा सम्पन्न फाइनल प्रतिस्पर्धामा बंगलादेशसँग स्तब्ध भयो ।

नेपाली टिमसामु यसपालि बंगलादेशलाई सेमिफाइनलबाटै घर फर्काएर फाइनल पुग्ने मौका छ । त्यसो भएमा नेपालले बंगलादेशविरुद्ध दुई वर्षअघिको हारको पनि हिसाबकिताब चुक्ता गर्नेछ ।
यद्यपि बंगलादेशलाई हराउन नेपाललाई सहज भने हुने छैन । पछिल्लो समय बंगलादेशले उमेर समूहदेखि सिनियर टिमको फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । र, ऊ निर्णायक खेलमा नेपालको तगारो बनिरहेको छ ।
जारी प्रतियोगितामा बंगलादेशको प्रदर्शन मध्यम रह्यो । उसले पहिलो खेलमा २–० को अग्रता जोगाउन नसक्दा माल्दिभ्ससँग बराबरी खेलेको थियो । बंगलादेशले दोस्रो खेलमा भने भुटानविरुद्ध ३–० को एकतर्फी जित निकाल्यो । त्यो जितपछि उसले समूह विजेताको हैसियतमा सेमिफाइनलमा स्थान बनायो । बंगलादेश अब नेपाललाई हराउँदै उपाधि नजिक पुग्ने सोचमा छ ।

यता नेपाली टिम गत संस्करणको फाइनल हारको पीडा भुल्दै बदला लिने दाउमा छ । जारी साफको समूह चरणमा नेपालको प्रदर्शन पनि अपेक्षाकृत रहन सकेन । विशेषगरी भारतविरुद्ध नेपालको प्रदर्शन निकै कमजोर रह्यो । त्यस खेलमा आयोजक भारतसँग नेपालले ४–० को फराकिलो हार बेहोर्यो ।
साफ च्याम्पियनसिपमा भारतविरुद्ध नेपालको यो अहिलेसम्मकै फराकिलो पराजय हो । जारी साफअन्तर्गत समूह चरणको पहिलो खेलमा भने नेपालले श्रीलंकाविरुद्ध ५–० को एकतर्फी जित दर्ता गर्यो ।
सोही लय दोस्रो खेलमा कायम राख्न नसक्दा नेपालले समूह उपविजेताको हैसियतमा सेमिफाइनलको यात्रा गर्यो । नेपाल अब शुक्रबार बंगलादेशलाई हराउँदै चौथोपटक उमेर समूहको साफ फाइनलमा पुग्न चाहन्छ । नेपाल र बंगलादशेबीचको खेल शुक्रबार अपरान्ह ३ः४५ देखि भारतको गोल्डेन जुब्ली स्टेडियममा सुरु हुनेछ।
यदि बंगलादेशलाई हराउन सके नेपालले फाइनलमा भारतलाई प्रतिस्पर्धी पाउने सम्भावना छ । भारतलाई फाइनलमा स्थान बनाउन शुक्रबार नै माल्दिभ्सलाई हराउनुपर्ने समीकरण बनेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।