जर्मनीको नयाँ सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माग गरेको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को पाँच प्रतिशतको लक्ष्य पूरा गर्न रक्षा खर्च बढाउने योजना अघि सारेर नेटोका सहयोगी राष्ट्रहरूलाई आश्चर्यचकित पारेको छ ।
जर्मनीका चान्सलर फ्रेडरिक मर्जले आफ्नो गठबन्धन सरकारले ‘युरोपमा सबैभन्दा बलियो परम्परागत सेना’ राख्न चाहेको बताएको एक दिनपछि विदेशमन्त्री जोहान वाडेफुलले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
नेटोका प्रमुख मार्क रुटले कुल गार्हस्थ्य उत्पादनको ३.५ प्रतिशत सैन्य खर्च र १.५ प्रतिशत पूर्वाधार तथा साइबर प्रतिरक्षाजस्ता अन्य सुरक्षा उपायमा खर्च गरेर पाँच प्रतिशतको लक्ष्य पूरा गर्ने योजना अघि सारेका छन् ।
टर्कीमा नेटोको बैठकमा बोल्दै वाडेफुलले राष्ट्रपति ट्रम्पले माग गरेको पाँच प्रतिशतसम्म पुग्ने रुटको प्रस्तावलाई समर्थन गर्दै जर्मनीको प्रतिवद्धताको घोषणा गर्दै भने, ‘हामी उहाँलाई यस विषयमा पछ्याउँछौँ ।’
सहमतिपछि बर्लिनबाट वित्तमन्त्री लार्स क्लिङबेलले भने, ‘हामी सुरक्षामा बढी खर्च गर्नेछौँ । तर, त्यो हामी अर्को महिना हेगमा हुने नेटो शिखर सम्मेलनमा भएको सम्झौतामा उल्लेख हुनेछ ।’
जर्मनीका पूर्ववरिष्ठ सैन्य अधिकारी तथा मर्जको सीडीयू पार्टीका राजनीतिज्ञ रोडरिच किसेवेटरले बिल्ड दैनिकलाई दिएको अन्तर्वार्तामा उक्त कदमलाई ‘आमुल परिवर्तन’ भनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।