भारतमा जारी यू–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल फाइनल प्रवेशको ढोका छुन लागेको छ ।
१० वर्षपछि प्रतियोगिताको फाइनल यात्रा तय गर्ने अवसरसहित नेपाल शुक्रबार सेमिफाइनलमा बंगलादेशविरुद्ध मैदान उत्रन लागेको हो ।
नेपालले अन्तिमपटक सन् २०१५ मा यू–१९ साफको फाइनल खेलेको थियो । उक्त संस्करणमा नेपालले उपाधि जित्दै इतिहास रचेको थियो । त्यसपछि सन् २०१७ मा यू–१८ साफ च्याम्पियन बनेको नेपालले पछिल्लो आठ वर्षयता उपाधिहीन यात्रा तय गर्दै आएको छ ।

सन् २०२३ मा घरेलु मैदानमा भएको यू–२० साफ च्याम्पियनसिपमा नेपाल उपाधि नजिक पुगेको थियो । तर, फाइनलमा बंगलादेशसँग स्तब्ध बन्दै नेपालले तेस्रोपटक उमेर समूहको साफ उपाधि जित्ने अवसर गुमायो ।
यसपटक नेपालसँग सेमिफाइनलमै बंगलादेशलाई हराएर फाइनल यात्रा सुनिश्चित गर्ने मौका छ । यससँगै दुई वर्षअघिको फाइनल हारको बदला चुकाउने पनि नेपालको लक्ष्य छ ।
यद्यपि बंगलादेश सजिलो प्रतिस्पर्धी भने हुने छैन । पछिल्लो समय उसले उमेर समूहदेखि सिनियर टिमसम्मका प्रतियोगितामा सशक्त प्रदर्शन गर्दै आएको छ । निर्णायक खेलमा विशेषतः नेपालका लागि बंगलादेश बाधक बनिरहेको छ ।

जारी प्रतियोगितामा बंगलादेशको प्रदर्शन मिश्रित रह्यो । पहिलो खेलमा उसले २–० को अग्रता कायम राख्न नसक्दा माल्दिभ्ससँग बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा भने उसले भुटानमाथि ३–० को प्रभावशाली जित निकाल्यो । सोही जितको आधारमा बंगलादेश समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो ।
नेपालतर्फ हालसम्मको प्रदर्शन उतारचढावयुक्त रह्यो । समूह चरणको पहिलो खेलमा नेपालले श्रीलंकामाथि ५–० को फराकिलो जित दर्ता गरे पनि दोस्रो खेलमा आयोजक भारतसँग ४–० को लज्जास्पद हार व्यहोर्नु पर्यो ।
भारतविरुद्धको यो पराजय यू–१९ साफको इतिहासमै नेपालको अहिलेसम्मकै सबैभन्दा फराकिलो हार हो ।

त्यस हारका बाबजुद नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । अब नेपाल शुक्रबार बंगलादेशलाई पराजित गर्दै इतिहासमा चौथोपटक उमेर समूहको साफ फाइनलमा स्थान बनाउने लक्ष्यमा छ ।
नेपाल र बंगलादेशबीचको सेमिफाइनल खेल शुक्रबार अपरान्ह ३ः४५ बजे भारतको गोल्डेन जुब्ली स्टेडियममा हुनेछ ।
यदि नेपालले बंगलादेशलाई हरायो भने फाइनलमा उसले भारतसँग पुनः भिड्ने सम्भावना बलियो छ । भारतले त्यसका लागि शुक्रबार नै माल्दिभ्सलाई पराजित गर्नुपर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।