राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था र हिन्दुराज्यमा आस्था राखेकै कारण दण्ड भोग्नुपर्ने भए सरकारविरुद्ध विद्रोहमा जान र जङ्गल पस्न भन्नुपर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले देशमा सुशासन हुनुपर्छ, भ्रष्टाचार गर्नेलाई दण्डित हुनुपर्छ भन्दै आवाज उठाउनेलाई प्रताडित गरेको भन्दै यस्तो धारण राखेका हुन् ।
‘आस्थाकै आधारले एकपछि अर्को गरी अनेक बहानाले पक्राउ गर्दै लाने हो भने म प्रधानमन्त्री, गृहमन्त्री र सिङ्गो सरकारलाई भन्न चाहन्छु यसरी निषेध गरेर लाने भए औपचारिक रूपमै सरकारले भन्दियोस् हामी विद्रोहमा जाऔँ । राप्रपा लगायत हिन्दु राज्य, राजसंस्था मान्छु भन्नेहरूले सङ्घीयता मान्दिन, प्रदेश मान्दिन भन्नेहरू देशमा सुशासन हुनुपर्छ, भ्रष्ट्राचार गर्नेलाई दण्डित हुनुपर्छ भन्नेहरू यसरी प्रमाणित हुनुपर्छ भने विद्रोहमा जान्छौ । विद्रोहमा जाऔँ, जङ्गल पस भन्नुपरो,’ उनले भने ।
उनले सरकारले निरन्तर संविधान उल्लङ्घन गरेको भन्दै राजसंस्था, हिन्दुसंस्था मान्छु भन्दा अपमानपूर्वक प्रहरी खोरमा राखिएको भन्दै आपत्ति जनाए ।
‘यो अत्यन्तै दुखद र मानवअधिकार विरुद्ध, मानव हक अधिकारको विरुद्ध, अहिलेको संविधानले व्यवस्था गरेको सुविधाको विरुद्ध सरकारको तर्फबाट भएको क्रियाकलाप घोर भर्त्सना गर्दछु,’ उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।