२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

जापानले नेपाललाई थप ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर (आन्तरिक अनुदान) को सुधार परियोजना’ का लागि जापान सरकारले थप ५७ करोड ३० लाख येन अनुदान दिने भएको छ । 


आज अर्थ मन्त्रालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका  संसदीय उपविदेशमन्त्री इकुइना अकिकोको उपस्थितिमा अर्थ मन्त्रालयका अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनिराम शर्मा र नेपालस्थित जाइकाका प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 



नेपाल सरकारको तर्फबाट अर्थमन्त्री पौडेल र जापान सरकारको तर्फबाट सगरमाथा संवाद कार्यक्रममा सहभागी हुन आएका संसदीय उपविदेशमन्त्रीसहित अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, नेपालका लागि जापानका राजदूत मैदा तोरु रेलगायतको सहभागितामा सम्झौतामा हस्ताक्षर भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री पौडेलले नेपाल–जापानबीच स्वार्थरहित सम्बन्ध रहेको बताउँदै जापान नेपालको अत्यन्तै घनिष्ट मित्रराष्ट्र रहेको उल्लेख गरे । ‘नेपालको विकासमा जापानबाट महत्त्वपूर्ण सहयोग प्राप्त गर्दै आएका छौँ, आगामी दिनमा जापानको सहयोग अझ फराकिलो हुनेछ भन्ने विश्वाससहित सहयोग र सहकार्यको अपेक्षा गर्दछौँ,’ उनले भने ।



उपप्रधानमन्त्री पौडेलले सगरमाथा संवादको क्रममा नेपाल भ्रमणमा आउनुभएका जापानी उपविदेशमन्त्रीलाई धन्यवाद दिँदै गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि निमन्त्रणा दिए । 

‘मन्त्रीलाई यो पटक गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि निवेदन गर्दछु । योपटक सम्भव नभए अर्को पटक भए पनि लुम्बिनी पुग्नुहोस् भनेर निम्ता गर्न चाहन्छु,’ उनले भने ।

अर्थमन्त्री पौडेलले जापानले नेपाललाई विविध क्षेत्रमा सहयोग उपलब्ध गराइरहेको स्मरण गर्दै धुलिखेल अस्पतालका लागि महत्त्वपूर्ण सहयोगका लागि नेपाल सरकारको तर्फबाट जापान सरकारलाई धन्यवाद ज्ञापन गरे । 



  • प्रकाशित मिति : २ जेठ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया