प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एवं प्रथम महिला राधिका शाक्यले आफूलाई राजनीतिमा आउनको लागि कुनै चासो नभएको बताएकी छन् ।
सोमबार आयोजित आफूले लेखेको पुस्तक ‘करुणा’ बारे अन्तरक्रिया कार्यक्रममा उनले पाको उमेरमा राजनीतिमा आएर के पाउने हो र भन्दै प्रश्न गरिन् । उनले राजनीतिमा लागेको भए आजसम्म प्राप्त भएका उपलब्धिहरू पनि गुम्ने सङ्केत गरिन् ।
उनले भनिन्, ‘तपाईँ राजनीतिमा पो सलबलाउन थाल्नु भएको हो की भन्ने पत्रकारहरूका प्रश्न आएका छन् । यसमा सबै जना ढुक्क हुनु भए हुन्छ, म राजनीतिमा आउने मान्छे होइन । मैले आफ्नो ऊर्जाशील जवानीमा त राजनीति गरिन । अब निभ्न लागेको बत्ती भनेको जस्तै आजको यो उमेरमा किन राजनीतिमा आउँछु र । के पाउँछु र ? अहिले चुप लागेर बसेको छु र नै धेरै कुरा प्राप्त गरेको छु । जहाँसम्म लाग्छ राजनीतिमा लागेको भए यति कुरा पनि पाउँदिन थिए होला ।’
उनले केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि क्या हो भन्ने कता–कता प्रश्न गरेको सुनेको पनि बताइन् । ‘मलाई केपी ओलीले राजनीतिमा आऊ वा सक्रिय बन्नु कहिले भन्नुभएको छैन । आफू राजनीति गर्न भनेर आएको पनि होइन,’ उनले भनिन् ।
उनले अगाडि भनिन्, ‘मलाई धेरै मान्छेहरूले अब केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि क्या हो भनेर प्रश्न गरेको सुनेकी छु । तर केपी ओलीले मलाई राजनीतिमा जाऊ भनेर भन्नुभएको छैन । म आफैँले पनि राजनीति गर्छु भनेर भनेको पनि छैन । म एउटा सामान्य नेपाली हुँ, यो नेपालको इमानदार छोरी हुँ र मैले जति कुरा बुझेकी छु, मेरो मन मस्तिष्कले जति कुरा बुझेको छ । कुन ठिक, कुन बेठीक भन्ने कुरा बुझेकी छु । ती सबै कुरा किताबमार्फत व्यक्त गरेकी छु ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।