इण्डियन प्रिमियर लिग (आइपिएल) को १८औँ संस्करण निर्णायक मोडमा आइपुगेको छ । लिग चरणको अन्तिम खेलतर्फ जाँदै गर्दा तीन टोलीले प्लेअफ यात्रा तय गरिसकेका छन् ।
गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) र पञ्जाब किंग्सले प्लेअफको टिकट सुरक्षित गरिसकेका हुन् । आइतबार राति गुजरातले दिल्ली क्यापिटल्सलाई १० विकेटले पराजित गरेपछि तीनै टोलीको अन्तिम चारमा स्थान पक्का भयो ।

गुजरातको निरन्तरता, आरसिबी र पञ्जाब पनि लयमा
१२ खेलबाट ९ जित निकाल्दै १८ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको गुजरात यसपटकको सिजनमा उत्कृष्ट लयमा देखिएको छ । उसको अबको लक्ष्य शीर्ष दुईमा रहँदै क्वालिफायर वान खेल्ने हो ।
दोस्रो स्थानमा रहेको आरसिबीले पनि १२ म्याचमध्ये ८ मा जित निकालेको छ । उसले तीनमा हार बेहोर्दा एक खेलमा बराबरीमा टुङ्ग्याएको छ । १७ अंकसहित ऊ पनि क्वालिफायर वानको होडमा छ । उपाधि हात पार्न नसकेको इतिहास बोकेको आरसिबी यसपटक त्यो खडेरी अन्त्य गर्ने लक्ष्यमा मैदान उत्रिएको छ ।

तेस्रो स्थानमा रहेको पञ्जाबले पनि १२ म्याचमा ८ जित निकाल्दै १७ अंक जोडेको छ । अघिल्ला सिजनहरूमा निरन्तर असफल हुँदै आएको यो टोलीले यसपटक नयाँ उमङ्गका साथ खेलिरहेको छ र पहिलोपटक च्याम्पियन बन्ने चाहनामा छ ।
चौथो स्थानका लागि तीव्र प्रतिस्पर्धा
प्लेअफको चौथो स्थानका लागि भने तीन टोलीबीच कडा टक्कर छ- मुम्बई इण्डियन्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स । यीमध्ये कुनै एकले मात्र अन्तिम चारको टिकट हात पार्न सक्नेछ ।

१२ खेलमा ८ जितसहित चौथो स्थानमा रहेको मुम्बईको लागि बाँकी दुई खेल निकै महत्वपूर्ण छन् । दुवै खेल जितेमा ऊ प्लेअफमा पुग्नेछ । यद्यपि एक हारले पनि समीकरण जटिल बन्न सक्छ ।
दिल्ली पाँचौँ स्थानमा छ । उसले पनि बाँकी दुई खेल जित्नैपर्छ, त्यो पनि उच्च नेट रनरेटका साथ ।
लखनउ सुपर जायन्ट्स तालिकाको सातौं स्थानमा छ । उसले बाँकी तीन म्याच जित्नुका साथै अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने स्थिति बनिसकेको छ। त्यसैले लखनउको प्लेअफ यात्रा अझै कठिन तर सम्भव देखिन्छ ।

कुन–कुन टिम बाहिरिए ?
डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स, सनराइजर्स हैदराबाद, राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सको प्लेअफ सम्भावना समाप्त भइसकेको छ । उनीहरूको सिजन भने अब लिग चरणमा सम्मानजनक प्रदर्शन गरेर टुंग्याउने तयारीमा केन्द्रित हुनेछ ।

अब आइपिएलको लिग चरणमा केही मात्र खेलहरू बाँकी छन् । ती खेलहरूले मात्र तय गर्नेछ- प्लेअफको चौथो स्थानमा कसले आफ्नो ठाउँ सुरक्षित गर्नेछ र त्यो टोली तीन शक्तिशाली प्रतिस्पर्धीबीच उपाधिको होडमा उत्रनेछ कि छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।