हितेन्द्रदेव शाक्यले नेपाल विद्युत् प्राधिकरणको जिम्मेवारी सम्हालेको दुई महिना पनि पुगेको छैन । तर, उनीमाथि नागरिकस्तरदेखि सदनसम्मै कयौँ प्रश्न उठेका छन् । जसकारण उनी आफैंलाई प्राधिकरणको नेतृत्व निल्नु न ओकल्नु भएको छ ।
लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमान घिसिङलाई हटाउँदै ११ चैतमा हितेन्द्रलाई केपी शर्मा ओली नेतृत्वको सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । त्यसबेला सरकारको निर्णयविरुद्ध सामाजिक सञ्जाल, सडक र सदनसम्म चर्को विरोध नै भयो ।
चुनौतीबीच एकातिर उद्योगीहरूलाई विद्युत् आपूर्ति सुनिश्चित गर्दै ‘उद्योगमैत्री’ प्राधिकरण बनाउने हितेन्द्रलाई दबाब थियो भने अर्कातर्फ आम उपभोक्तालाई नियमित तथा निर्वाध विद्युत् सेवा उपलब्ध गराउने जिम्मेवारी पनि । तर, उनी त्यो जिम्मेवारी निर्वाह गर्न चुकेको आरोप खेपिरहेका छन् ।
लामो समयदेखि लोडसेडिङको समस्याबाट मुक्त भएको नेपालमा केही दिनयता बत्ती झ्याप्प–झ्याप्प जाँदा सर्वसाधारणमा चिन्ता र आक्रोश बढाएको हो । बिहीबार साँझ काठमाडौंलगायत देशका विभिन्न ठाउँमा अचानक बत्ती गएपछि शाक्यप्रति तीव्र असन्तोष फैलिरहेको हो । धेरैले ‘लोडसेडिङ फर्किने हो कि ?’ भन्ने शङ्का गर्दै उनको नेतृत्वको आलोचना गरिरहेका छन् ।
सामाजिक सञ्जालदेखि संसदसम्म आलोचनाको तुफान
सूचनाबिनै झ्याप्प–झ्याप्प बत्ती जान थालेसँगै हितेन्द्रदेवमाथि सर्वसाधारण आक्रोशित बनेका छन् । पछिल्लो समय निरन्तर सामाजिक सञ्जालदेखि सदनसम्मै विद्युत् कटौतीको विरोध हुन थालेको छ भने दिनहुँ जसो सांसदहरूले संसद् बैठकमै आवाज उठाउँदै सरकारलाई खबरदारी गरिरहेका छन् । एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘स्पष्टीकरण होइन, कि बिजुली दिनुस्, कि राजीनामा दिनुस् ।’ अर्का एक जनाले झनै कटाक्ष गर्दै लेखेका छन्, ‘सालो त सालो कसको सालो सालो । त्यो सालो आएसी अन्धकार र कालो ।’
यस्तै अर्का व्यक्ति लेख्छन्, ‘त्यसो भा, कुलमान छँदा बत्ती नजाने, अनि तपाईँ आउने बित्तिकै दैनिक रूपमा १–२ घण्टा बत्ती जाँदै छ । यहाँ, स्याल छिर्नु र कुखुरा हराउनु एकै चोटि भाको छ ! त्यसैले तपाईंले भन्दैमा ‘ए कुरा त त्यस्तो पो रैछ’ भनेर पत्याउने अहिलेका जनता त्यति मूर्ख नी छैनन् ।’
यी त केवल केही उदाहरण मात्र हुन् । यतिबेला कयौँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विगतको उज्यालो युग र हालको अँध्यारो अवस्थाबीच तुलना गर्दै शाक्यको नेतृत्वमाथि गम्भीर प्रश्न उठाएका छन् । यो गुनासो अहिले सामाजिक सञ्जालमा मात्र सीमित छैन, संसदजस्तो गरिमामय तथा निर्णयकारी थलोमै समेत सांसदहरूले स्पष्ट जवाफ माग्दै विद्युत् प्राधिकरणको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद सुदन किरातीले कुलमानलाई हटाइएपछि बत्ती जान थालेको गुनासो । ‘भर्खरै पूर्वी नेपालका विभिन्न भागमा म पुगेर आएको थिएँ । अधिकांश स्थानमा बत्ती गएको देखियो । कुलमानको बर्खास्तपछि बत्ती जान थाल्यो भनेर जनताको व्यापक असन्तुष्टि पनि सुनियो,’ उनले भने, ‘के यो अघोषित लोडसेडिङ हो ? या कमजोर व्यवस्थापनको परिणाम ?’

सांसद किराँतीले मात्र होइन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले पनि बिना सूचना झ्यापझ्याप बत्ती जानुको कारण खोजे । ‘अहिले घर–घरमा अँध्यारो भइरहेको हुन्छ, बत्ती झ्यापझ्याप गइरहेको छ, यसको कारण के हो?’ प्रश्नको शैलीमा उनी भन्छन्, ‘नेपाल विद्युत् प्राधिकरणको नेतृत्व फेरिने बित्तिकै यस्तो किन भइरहेको छ ? जानकारी गराइ यथाशीघ्र समस्या समाधान गर्न आग्रह गर्दछु ।’
कुलमानको नेतृत्वमा विद्युत् आपूर्ति नियमित हुँदा जनताले भरपर्दो सेवा पाएको अनुभूति गरेका थिए । तर अहिले ‘झ्याप्प–झ्याप्प’ बत्ती जाने क्रम बढेपछि धेरैले भन्न थालेका छन्, ‘यो नेतृत्वले कामै गर्न सकेन ।’
यता सरकार र प्राधिकरणले भने समस्या ‘प्राविधिक कारण’ र ‘अस्थायी अवस्था’ भन्दै जनतालाई संयमता अपनाउन आग्रह गरेका छन् । तर जनस्तरमा चुलिँदो आक्रोश हेर्दा नेतृत्वले छिट्टै ठोस कदम नचालेमा असन्तोष अझ चर्किन सक्ने सङ्केत देखिएको छ ।
वास्तविकता के हो ?
जनस्तरबाटै बत्ती जाने समस्याप्रति चुलिँदो आक्रोश थाम्न हितेन्द्रदेवलाई निक्कै धौधौ परिरहेको छ । बिहीबार बेलुका कम्तीमा डेढ घण्टा काठमाडौंसहित पोखरा, मध्य र पूर्वी नेपालका सबैजसो नागरिक अन्धकारमा बस्न बाध्य हुँदा सर्वसाधारण आक्रोशित बने । व्यापक आलोचना र दबाबसँगै उत्पन्न भएको जनविरोध सहन नसकी शाक्यले शुक्रबार नै पत्रकार सम्मेलनको आयोजना गरे ।
पत्रकार सम्मेलनमा उनले विद्युत् अवरुद्धताबारे स्पष्टीकरण दिँदै प्राविधिक कारणहरूलाई जिम्मेवार ठहर गरे । ‘बिहीबार साँझ ढल्केवर–मुजफ्फरपुर ४०० केभी डबल सर्किट लाइनमा हावाहुरीका कारण एकै चोटि दुवै सर्किटमा समस्या आयो । यो लाइनबाट नेपालमा आउने विद्युत् अवरुद्ध भयो,’ उनी स्पष्ट पार्छन्, ‘हामीले तत्काल नेपालभित्रकै स्रोतबाट विद्युत् आपूर्ति गर्ने प्रयास गर्यौँ । तर, साँझको समयमा माग उच्च हुने भएकाले पूर्ण आपूर्ति सम्भव भएन ।’
उनले मागभन्दा उत्पादन कम हुँदा ट्रिपिङ भई विद्युत् अवरुद्ध भइरहेको तर्क गरे । ‘यो लोडसेडिङ होइन, मौसम र प्राविधिक समस्याका कारण भएको हो ।’ साथै उनले दीर्घकालीन समाधानका लागि प्राधिकरण प्रतिबद्ध रहेको पनि बताए । ‘विद्युत् प्रणालीमा देखिएका समस्यालाई समाधान गर्न हामीले दीर्घकालीन योजना बनाएर काम गरिरहेका छौँ । आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन हामी प्रयासरत छौँ,’ शाक्य भन्छन्, ‘लोडसेडिङ कहाँ आएको छ ? बरु हामी भारतबाट बिजुली ल्याएर भए पनि औद्योगिक लोडसेडिङ समेत घटाउनुपर्छ भनेर लागेका छौँ ।’
शाक्यले माघदेखि जेठसम्मको अवस्था देशको ऊर्जा क्षेत्रका लागि कमजोर रहेको भन्दै त्यस बेला भारतको सहयोगबिना माघदेखि जेठसम्म प्रणाली सञ्चालन गर्न गाह्रो हुने बताए । उनले यस्ता अवरोध नदोहोरिनका लागि प्राधिकरणको प्रणालीमा सुधार आवश्यक रहेको बताउँछन् । यसरी विद्युत् प्राधिकरणले पर्याप्त बिजुली हुँदा पनि वितरण लाइनमा आएको समस्याले बिजुली दिन नसकेको भन्दै बचाउ गरिरहेको छ । बिजुली जाने समस्याले सर्वसाधारण मात्रै होइन, उद्योगी–व्यवसायीसमेत हैरान छन् । हुन त ‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या हितेन्द्रदेवको कार्यकालमा मात्र भएको होइन ।
कुलमानको कार्यकालमा पनि धेरै पटक अघोषित लोडसेडिङ भएको थियो । उनले पनि धेरै पटक पत्रकार सम्मेलन गरे ‘झ्याप्प–झ्याप्प’ बत्ती जानुको कारण स्पष्ट पारेका थिए । विद्युत् प्राधिकरणको तथ्याङ्क अनुसार बिजुली जाने समस्या गत वर्षको तुलनामा बढेको होइन । गत आर्थिक वर्षमा ६६ पटक लाइन गएकोमा यो वर्षको जेठ २ गतेसम्म ५० पटक गएको छ ।
अहिले बिजुलीको उच्च माग हुने समयमा २१ सय ५० मेगावाट बराबरको माग छ भने स्वदेशी आयोजनाबाट १७ सय मेगावाट उत्पादन भइरहेको छ । ५५ मेगावाट भारतबाट ल्याउँदा पनि माग पूरा नभएपछि उद्योगमा करिब ४ सय मेगावाट बिजुली कटौती गर्ने गरिएको छ ।
देशभित्र हिउँद र बर्खाको विद्युत् उत्पादनको अवस्था फरक–फरक छ । बर्खा याममा देशभित्र उत्पादित विद्युत् खेर जाने अवस्था छ भने हिउँदमा आन्तरिक उत्पादनले विद्युतको माग धान्न गाह्रो हुन्छ । जसले गर्दा प्राधिकरणले मागको ६० प्रतिशतभन्दा बढी विद्युत् भारतबाट आयात गरेर माग र आपूर्तिबीच सन्तुलन मिलाउने गर्छ । प्राधिकरणका अनुसार नेपालको अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदको उत्पादन ३० प्रतिशतभन्दा तल झर्छ । प्राधिकरणका अनुसार हिउँदमा १६०० मेगावाट बिजुलीको औसत माग छ । हिउँदमा १००० मेगावाटभन्दा कम आन्तरिक उत्पादन हुन्छ ।
त्यसैले नेपालमा लोडसेडिङ हुन नदिन भरतबाट विद्युत् आयात गर्ने गरिएको छ । तर, विद्युत् माग उच्च हुने यस याम (पीक आवर) मा भारतले समेत विद्युत् निर्यातमा निकै कडाइ गर्ने गर्छ । जसले गर्दा पनि यो याममा विद्युत् वितरणमा समस्या हुने गरेको छ । नेपालको राष्ट्रिय प्रसारण लाइनमा यतिखेर कुल जडान क्षमता ३,५०० मेगावाट नाघेको छ । तर सुक्खा याममा एक तिहाइ कम उत्पादन हुने गरेको छ । सुक्खा याममा ‘पीक आवर’ का बेला विद्युत् आपूर्ति गर्न कुलेखानी, काली गण्डकी, तामाकोसी, मर्स्याङ्दी आयोजनाले मात्र भरथेग गरेका छन् । गर्मी यामका बेला माग बढ्ने र यही बेला विपद्हरू देखा पर्ने भएका कारण भार व्यवस्थापनको काम चुनौतीपूर्ण हुने गरेको प्राधिकरणको भनाइ छ ।
तर, पनि प्राधिकरणको नेतृत्व परिवर्तनसँगै देखिएका गतिविधिहरूले आम उपभोक्ता माझ सरकार र विद्युत् प्राधिकरणप्रति गम्भीर आशङ्का जन्माएका छन् । विगतमा भोगेको लोडसेडिङको पीडा अहिले पनि बाहिर निस्कन सकेको छैन ।
अझै पनि जनमानसमा ‘कतै पुनः लोडसेडिङको मारमा त पर्नु पर्दैन?’ भन्ने चिन्ता र त्रास जीवित छ । यस्तो अवस्थामा सरकार र प्राधिकरणले कुनै पनि प्राकृतिक वा प्राविधिक समस्या बेलैमा समाधान गर्ने तयारीमा रहनु आवश्यक छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।