करिब दुई दशक लामो प्रतीक्षा र संघर्षपछि नेपाली महिला क्रिकेट टोलीले कहिल्यै नपुगेको उचाइ छोएको छ । सन् २००७ मा पहिलोपटक अन्तर्राष्ट्रिय म्याच खेलेको नेपालले सोमबार आइसिसी महिला टी–२० विश्वकपमा छनोट भएर ऐतिहासिक उपलब्धि हासिल गर्यो ।
थाइल्याण्डको राजधानी बैंककमा यूएईलाई ५ विकेटले हराउँदै नेपालले यो ऐतिहासिक सफलता हासिल गरेको हो । यो जित केवल रन र विकेटको हिसाब थिएन । यो त नेपाली महिला खेलाडीको धैर्य, लगन र प्रतिबद्धताको प्रमाण थियो- जसको कथा नेपाली क्रिकेट इतिहासको एक स्वर्णिम अध्याय बनेको छ ।
यो इतिहास रच्नेक्रममा कप्तान इन्दु वर्माले आफूलाई प्रमाणित गरिन् । नेपालको जितमा उनको अविजित ३० रनको पारीले महत्वपूर्ण भूमिका खेल्यो । म्याचपछि उनले नेपालको ऐतिहासिक उपलब्धिमा बलर मनीषा उपाध्यायको योगदान पनि अहम् रहेको बताइन् ।

सोही कारण पनि इन्दुले उनलाई ‘प्लेयर अफ द म्याच’ को अवार्ड दिइन् । यूएईलाई ११४ रनमा रोक्न मनीषाको बलिङ निर्णायक बन्यो । चार ओभरमा २० रन खर्चेर चार विकेट लिँदै उनले नेपाललाई खेलमा फर्काइन् ।
समूह चरणमा वर्षाले प्रभावित खेलले नेपाललाई ‘सुपर थ्री’ मा पुर्याएको थियो- त्यो भाग्य थियो । तर, यूएईविरुद्धको निर्णायक खेल भने नेपालले आफ्नै मिहिनेतमा जित्यो । खेलपछि कप्तान इन्दुले भनिन्, ‘यो भाग्यको कुरा पनि हो । तर, हामीले मिहिनेत पनि गरेका छौँ । प्रतियोगिताका लागि क्यानले राम्रो योजना बनाएको थियो । अब महिला क्रिकेटमा अझै लगानी हुनुपर्छ ।’
नेपालले सन् २००७ मा एसिसी महिला च्याम्पियनसिपको फाइनल पुग्दै आफ्नो क्षमता देखायो । तर, ठोस योजनाका साथ अघि बढ्न नसक्दा नेपाली महिला क्रिकेटको ग्राफ ओरालो लाग्यो ।
बजेटको अभाव, अवसर र अभ्यासको कमी, यी सबै चुनौतीबीच पनि नेपाली टोलीले हार मानेन । खेलाडीले फेरि उठ्ने सपना देखिरहे । र, त्यो सपना अब अन्तर्राष्ट्रिय मञ्चतर्फ उन्मुख यात्राको उज्यालो झिल्को बनिसकेको छ ।
एसिया क्षेत्रीय छनोटबाट थाइल्याण्ड र नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गरेका छन् । अब ग्लोबल छनोटबाट चार टिमले विश्वकपमा स्थान बनाउने छन् ।

नेपाली टोलीका लागि यहाँसम्मको यात्रा केवल जितको मात्र होइन, सम्भावनाको नयाँ ढोका खोलिएको क्षण हो । विश्वकप ग्लोबल छनोटको मिति र आयोजक राष्ट्रको औपचारिक घोषणा हुन बाँकी छ । तर, यथार्थ के हो भने अब नेपाली टोलीले क्रिकेटका अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धीसँग खेल्ने, आफ्नो खेल क्षमताको तुलना गर्ने र सिक्ने अवसर पाउनेछ ।
यो अनुभव खेलाडीको आत्मविश्वास र प्रतिबद्धता दुवैलाई अझ उचाइमा पुर्याउनेछ । नेपाली खेलाडी पनि अब साना मैदानका सीमामा मात्र सीमित रहने छैनन्, उनीहरूले विश्व क्रिकेटको ठूलो स्टेजमा आफ्नो पहिचान बनाउन सक्ने सपना अझ स्पष्ट र सम्भव भएको छ ।
यही सपना पछ्याउँदै उनीहरू अझ बलियो, अझ साहसी र अझ समर्पित हुँदै अघि बढ्ने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।