२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

नेपाल लिग-२ को निर्णायक मोडमा, स्कटल्याण्ड सिरिजबाट कमब्याकको खोजी

नेपाली पुरुष क्रिकेट टिम अहिले कठिन अवस्थामा छ । खराब लयका कारण टोली एकपटक फेरि पुरानै चुनौतीको मोडमा पुगेको छ । आइसिसी विश्वकप लिग–२ को अंक तालिकाले पनि यही सन्देश दिइरहेको छ ।


१२ खेलमा जम्मा ६ अंक बटुलेको नेपाल ८ टोली सहभागी प्रतियोगिताको पुछारमा छ ।  तीन शृंखला खेलिसकेको नेपाले आठमा हार, दुईमा जित र दुई खेलमा वर्षाका कारण अंक बाँडेको छ ।



गत फेब्रुअरीमा घरेलु मैदान र नोभेम्बरमा अमेरिकामा भएको शृङ्खलाबाट नेपालले एक/एक जित हात पार्‍यो । तर, क्यानडा भ्रमणमा भने नेपालले जितको खाता खोल्न सकेन ।



नेपाली टिम हाल चौथो शृंखलाको तयारीमा छ । त्यसैकै लागि टोली अहिले बेलायतमा प्रशिक्षण गरिरहेको छ । प्रशिक्षणसँगै नेपालले स्थानीय क्लबसँग अभ्यास खेल पनि खेलिरहेको छ ।

अभ्यास तालिकाअन्तर्गत नेपालले दुई क्लबविरुद्ध लगातार जित निकालेर लयमा फर्किएको संकेत देखाएको छ । नेपालले पहिलो खेलमा कार्डिभ विश्वविद्यालयको न्यू पोर्ट क्लबविरुद्ध तीन विकेट र दोस्रो खेलमा एमसिसीविरुद्ध १ सय २३ रनको जित निकाल्यो । नेपालले बेलायतमा अझै तीनवटा अभ्यास म्याच खेल्न बाँकी छ ।

बेलायत टूर सकाएपछि नेपाली टिम स्कटल्याण्ड पुग्नेछ, जहाँ सुरुवातमा नेपालले त्यहाँको ‘ए’ टिमविरुद्ध दुई एकदिवसीय अभ्यास खेल खेल्नेछ । त्यो अभ्यास खेलपछि नेपालले २ देखि १२ जुनसम्म हुने लिग–२ सिरिजमा स्कटल्याण्ड र नेदरल्याण्ड्सको सामना गर्नेछ ।



नेपालले २ र ८ जुनमा स्कटल्याण्ड तथा ४ र १० जुनमा नेदरल्याण्ड्ससँग खेल्ने तालिका छ । यी दुवै प्रतिद्वन्द्वी लिग–२ तालिकामा बलियो अवस्थामा छन् । नेदरल्याण्ड्स अहिले अंक तालिकाको शीर्ष स्थानमा छ । उसले २० म्याच खेल्दासम्म १२ मा जित, ६ मा हार तथा दुई खेलमा अंक बाँडेको छ ।  

यस्तै, नेपालको अर्को प्रतिस्पर्धी स्कटल्याण्ड तेस्रो स्थानमा छ । उसले १६ खेल खेल्दा ९ मा जित, पाँचमा हार तथा दुई खेलमा अंक बाँडेको छ । लयमा रहेका नेदरल्याण्ड्स र स्कटल्याण्डलाई हराएर नेपाललाई लयमा फर्किन सहज छैन ।

साथै, विदेशी मैदानमा नेपालको विगत प्रदर्शन पनि सन्तोषजनक छैन । तर, नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट ल र सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्ल टिमले उत्कृष्ट पुनरागमन गर्नेमा आशावादी छन् ।

‘स्कटल्याण्डमा खेल्न गाह्रो हुन्छ । तर, हामीले तिनीहरूलाई उतै हराइसकेका छौँ । अहिले सबै खेलाडी फिट छन्, त्यसैले मनोबल उच्च छ । स्कटल्याण्ड शृंखलामा राम्रो प्रदर्शन गर्ने प्रयास हुनेछ,’ सहायक प्रशिक्षक मल्लले बेलायत उड्नुअघि भनेका थिए ।

यो शृंखलामार्फत नेपाली टिम नयाँ हेडकोच लको नेतृत्वमा पहिलोपटक मैदानमा उत्रिनेछ । अस्ट्रेलियन पूर्वखेलाडी लले मोन्टी देसाईको स्थान लिएका हुन् । इंग्ल्याण्डको काउन्टी क्रिकेटमा सन् १९९६ देखि २००९ सम्म खेलिसकेका उनीसँग बेलायत र स्कटल्याण्डको पिच कन्डिसनबारे राम्रो अनुभव छ । त्यसैले प्रशिक्षक लको अनुभव नेपाली टोलीका लागि उपयोगी हुने सम्भावना छ । 

नेपाली टिम हाल साढे दुई वर्षअघिको जस्तो स्थितिमा नभए पनि अहिले राम्रो नतिजा निकाल्न नसके आगामी यात्रा दबाबमूलक हुने निश्चितजस्तै छ । मोन्टीले हेडकोचको जिम्मेवारी सम्हाल्नेबेला नेपालले लिग–२ मा १२ म्याच मात्र खेल्न बाँकी थियो ।

त्यो अवस्थामा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि संकटमा थियो । तर, मोन्टीको आगमनसँगै नेपालले बाँकी १२ मध्ये ११ खेल जित्यो । यो नतिजाले नेपालले ओडिआई स्टाटस मात्र जोगाएन, विश्वकप ग्लोबल छनोटको टिकटसमेत पक्का गर्‍यो ।

अहिले दुई वर्षअघिको जस्तो संकटपूर्ण अवस्था छैन । नेपालले लिग–२ मा अझै २४ खेल खेल्न बाँकी छ ।

यदि ठोस योजना बनाएर खेलाडीहरूले जिम्मेवार ढंगले खेल्ने हो भने टिम फेरि लयमा फर्कन सक्छ । अहिले नेपाली टोली यस्तो मोडमा छ, जहाँ जित निकाल्नु, आत्मविश्वास फर्काउनु र राम्रो सन्देश दिनु अनिवार्य छ ।

चुनौती पक्कै पनि सजिलो छैन । तर, अघिल्ला अनुभवले देखाउँछ- कठिन अवस्थाबाटै नेपाली टिमले आश्चर्यजनक प्रगति गरेको छ । योपटक पनि यदि खेलाडीले दृढ इच्छा र आत्मविश्वासका साथ खेले नेपाली टिमका लागि स्कटल्याण्ड शृंखला एउटा नयाँ अवसर बन्न सक्छ ।

  • प्रकाशित मिति : ८ जेठ, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया