१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

आयात-निर्यात उत्साहजनक : भ्रम कि सुधार ?
प्रधानमन्त्रीको दाबी- अर्थतन्त्र सही बाटोमा, अर्थशास्त्री के भन्छन् ?

चालू आर्थिक वर्षको पहिलो १० महिनामा आयात र निर्यात दुवैमा आएको सुधारले बजारमा आर्थिक गतिविधि बढेको संकेत देखिएको छ ।


आर्थिक वर्ष २०८१/८२ को १० महिनामा आयात १३.११ प्रतिशतले बढेको छ । यो अवधिमा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा भएको १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो ।



सबैभन्दा धेरै आयात हुने वस्तुहरूमा डिजेल पहिलो नम्बरमा छ । चालू आर्थिक वर्षको १० महिनामा १ खर्ब २ अर्ब ३८ करोड बराबरको डिजेल आयात भएको छ । यस्तै, दोस्रो स्थानमा भटमासको कच्चा तेल रहेको छ । गत आर्थिक वर्षको तुलनामा  ६.१२ गुणाले आयात बढेर ८१ अर्ब ८९ करोड पुगेको छ । यस्तै, तेस्रो नम्बरमा पेट्रोल रहेको छ । 

चालू आर्थिक वर्षको १० महिनामा ५३ अर्ब ५ करोडको पेट्रोल आयात हुँदा चौथोमा एलपी ग्यास आयात भएको छ । सो अवधिमा ५१ अर्ब ८१ करोडको एलपी ग्यास आयात  छ । सबैभन्दा धेरै आयात हुने वस्तुहरूको पाँचौं सूचीमा फलाम रहेको छ । गत वर्षको तुलनामा ३२.५३ प्रतिशतले आयात बढेर ४१ अर्ब ४९ करोड बराबरको फलाम आयात भएको छ । 



आयातसँगै नेपालको निर्यातमा पनि उल्लेख्य वृद्धि भएको छ । चालू आर्थिक वर्षको वैशाखसम्ममा नेपालबाट २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने नेपालबाट १ खर्ब २६ अर्ब रुपैयाँ बराबरको मात्रै निर्यात भएको थियो । गत आर्थिक वर्षको १० महिनाको तुलनामा ७३ प्रतिशतले निर्यात बढेको छ ।

हुन त आयात निर्यात दुवैको व्यापारमा खाने तेलको हिस्सा सबैभन्दा महत्वपूर्ण देखिएको छ । व्यवसायीले तेल तेस्रो मुलुकबाट आयात गरी नेपालमा प्रशोधन गरेर निर्यात गर्ने गरेका छन् । अन्य देशबाट आयात गर्दा शुल्क लाग्ने र नेपालबाट भन्सार छुटमा निर्यात हुँदा निर्यातमा उलेख्य वृद्धि भएको हो । 

यस्तै सबैभन्दा धेरै निर्यात हुने वस्तुहरूको चर्चा गर्दा पहिलो नम्बरमा भटमासको तेल रहेको छ । चालू आर्थिक वर्षको १० महिनामा भटमासको प्रशोधित तेलको निर्यात ९०.४७ गुणाले बढेर ७८ अर्ब ७५ करोड पुगेको छ । यस्तो सबैभन्दा धेरै निर्यात हुने वस्तुहरूको दोस्रो स्थानमा धागो रहेको छ । चालू आर्थिक वर्षमा धागोको निर्यात २२.८ प्रतिशतले बढेर ११ अर्ब ६१ करोड बराबरको पुगेको छ ।  

यस्तै, तेस्रोमा सूर्यमुखी रहेको छ । सूर्यमुखीको प्रशोधित तेलको निर्यात ६२.१३ गुणाले बढेर १० अर्ब ९ करोड बराबरको भएको छ । निर्यात वृद्धिको प्रमुख कारण नै तेल देखिएको छ । यस्तै, ८ अर्ब ८४ करोड बराबरको कार्पेट निर्यात भएर चौथो स्थान ओगटेको छ । यस्तै पाँचौमा फलामे पाता रहेको छ । चालू आर्थिक वर्षको १० महिनामा ८ अर्ब बराबरको फलामे पाता निर्यात भएको छ । 



निर्यात बढे पनि आयातमा कमी नआउँदा व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ बराबर पुगेको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा ६.७२ प्रतिशत हो । भन्सार विभागको तथ्याङ्कअनुसार नेपालले सबैभन्दा बढी निर्यात गर्ने देश भारत हो । 

भारतसँगै, चीन, अमेरिका, जर्मनी, बेलायत, टर्की, फ्रान्स, क्यानडा, चीन, अस्ट्रेलिया, जापानमा निर्यात गर्छ । यस्तै, भन्सार विभागको तथ्याङ्कअनुसार नेपालले सबैभन्दा बढी आयात गर्ने देशहरूमा भारत, चीन, इन्डोनेसिया, युनाइटेड अबर एमिरेट्स (यूएई), अर्जेन्टिना, मलेसिया, अमेरिका, अष्ट्रेलिया, युक्रेन, कतारलगायत रहेको छ ।  

के अर्थतन्त्रमा सुधार देखिएको हो ?

आयात निर्यात दुवैमा आएको सुधारले अर्थतन्त्र सुधार भएको तर्क सुरु भएको छ । तर, आयात–निर्यातको वृद्धि हुँदा सिधै अर्थतन्त्रमा सुधार आयो भन्न नसकिने तर्क गर्छन्, अर्थशास्त्री ज्ञानेन्द्र अधिकारी । उनका अनुसार आयात–निर्यात दुवै बढ्नुलाई अर्थतन्त्रमा देखिएको झिनो सुधारको आस भने मान्न सकिन्छ । 

‘निर्यात बढ्नु अर्थतन्त्रका लागि सकारात्मक कुरा हो,’ उनी भन्छन्, ‘तर, कस्तो वस्तु निर्यात र कस्तो वस्तु आयात भइरहेको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । निर्यातमा स्वदेशी उत्पादनको हिस्सा नबढ्दासम्म अर्थतन्त्र बलियो भएको मान्न सकिँदैन ।’

नेपालबाट निर्यात भएका अधिकांश वस्तु नेपाली उत्पादन होइनन् ।  निर्यातित वस्तुको सूची हेर्दा आन्तरिक उत्पादन वृद्धि भएको नदेखिएको उनी बताउँछन् । आयात निर्यात दुवैको व्यापारमा तेलको हिस्सा सबैभन्दा बढी देखिएको छ । व्यवसायीले तेल तेस्रो मुलुकबाट आयात गरी नेपालमा प्रशोधन गरेर निर्यात गर्ने गरेका छन् । जसले निर्यातको दर बढ्नुमा हाम्रो आन्तरिक उत्पादनको कुनै भूमिका नरहेको अर्थशास्त्री अधिकारी बताउँछन् ।

त्यसैले स्वदेशी उत्पादनको हिस्सा बढाउनेतर्फ ध्यान दिनुपर्ने उनको सुझाव छ । ‘निर्यातको बढ्दो दरलाई कायमै राख्नु र त्यसमा नेपाली उत्पादनको अंश बढाउन सक्नु नै अबको मुख्य चुनौती हो,’ उनी भन्छन्, ‘सरकार र सबै सरोकारवाला निकायले यसका लागि नीतिगत र व्यवहारगतरूपमा गृहकार्य गर्नुपर्छ ।’ 

अर्थतन्त्र सकारात्मक बाटोमा : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताएका छन् । 

बिहीबार सामाजिक सञ्जालमार्फत बितेको १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको उल्लेख गरेका छन् ।

‘बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा २ खर्ब १८ अर्ब रुपैयाँको निर्यात भएको छ । अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ’, प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । 

  • प्रकाशित मिति : ८ जेठ, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया