१८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) को प्ले–अफ समीकरण पूरा भएको छ । बुधबार राति मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ३९ रनले हराएसँगै प्ले–अफ समीकरण पूरा भएको हो ।
यसपालि गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेंगलुरु, पञ्जाब किंग्स र मुम्बई इण्डियन्सले प्लेअफमा स्थान बनाए । उनीहरूमध्ये बेंगलुरुले गत संस्करणको आइपिएलमा पनि अन्तिम चारमा स्थान बनाएको थियो ।

यद्यपि उसले फाइनलको यात्रा भने गर्न सकेन । हालसम्म उपाधि जित्न नसकेको आरसिबीले यसपटक दुई खेलअगावै प्लेअफमा स्थान बनाएको छ । ऊ अब शीर्ष दुईमा रहँदै प्लेअफ खेल्ने योजनामा छ ।
यस्तै, आइपिएल २०२४ को अंक तालिकाको पुछारमा रहेको मुम्बईले यसपटक उत्कृष्ट कमब्याक गर्दै प्ले–अफको यात्रा गर्यो । उसले एक खेलअगावै अन्तिम चारको टिकट सुनिश्चित गरेको हो । गत सिजनको प्लेअफमा स्थान बनाएका कोलकाता नाइट राइडर्स, सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स भने लिग चरणबाट बाहिरिए । यसपालि यी तीन टिमको प्रदर्शन निकै कमजोर रह्यो ।
आइपिएल २०२५ मा राजस्थानले १४ म्याचमध्ये १० हार तथा चार खेलमा मात्र जित निकाल्यो । यस्तै, गत संस्करणको उपविजेता हैदराबादको हालत पनि खराब रह्यो । उसले १२ खेल खेल्दा सातमा हार तथा पाँच खेलमा जित निकालेको छ ।

डिफेन्डिङ च्याम्पियन कोलकाताको प्रदर्शन पनि अपेक्षाकृत रहन सकेन । उसले १३ म्याच खेल्दा ६ मा हार, पाँचमा जित र दुई खेलमा अंक बाँडेको छ । यस्तै, दिल्ली, चेन्नई र लखनउले पनि यसपालि अन्तिम चारमा स्थान बनाउन सकेनन् ।
यीमध्ये दिल्लीले सन् २०२१ यता प्लेअफको टिकट काट्न सकेको छैन । यसपालि सुरुवाती प्रदर्शन हेर्दा उसले प्लेअफसम्मको यात्रा गर्ने आकलन गरिएको थियो । तर, सिजनको अन्तिमतिर लय गुमाउँदा दिल्ली लगातार तेस्रोपटक प्लेअफमा पुग्न वञ्चित भयो ।
यस्तै, चेन्नई र लखनउ लगातार दोस्रोपटक प्लेअफमा पुग्न असफल भए । उनीहरूले अन्तिमपटक सन् २०२३ को सिजनको आइपिएल प्लेअफमा स्थान बनाएका थिए ।

उक्त सिजनमा चेन्नईले उपाधि जितेको थियो । त्यसयता भने पाँच पटकको च्याम्पियन चेन्नई अन्तिम चारमा स्थान बनाउन संघर्ष गरिरहेको छ । जारी सिजनको आइपिएल प्लेअफको खेल २९ मेदेखि सुरु हुने छन् । उपाधि भिडन्त ३ जुनमा हुने तालिका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।