मिर्गौला मानव शरीरको अत्यन्त महत्वपूर्ण अङ्ग हो, जसले रगतलाई छानेर दुव्र्यवस्थित र हानिकारक तत्त्वहरू हटाउने कार्य गर्छ । यस्ता अपद्रव्यहरू पिसाबमार्फत मूत्र थैलीमा जम्मा हुन्छन् र अन्ततः मूत्रनलीबाट शरीर बाहिर निष्कासित हुन्छन् ।
मिर्गौलाको प्रमुख भूमिका शरीरको रासायनिक सन्तुलन कायम राख्नु हो । यसले रगतबाट नुन (सोडियम), पोटासियम, युरिया, क्रिएटिनिन, चिनी (ग्लुकोज), भिटामिन तथा मिनिरलजस्ता सूक्ष्म तत्त्वहरूको सन्तुलन व्यवस्थापन गर्छ । साथै, मिर्गौलाले शरीरको रक्तचाप नियन्त्रण गर्न पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।
प्रत्येक व्यक्तिमा सामान्यतः दुईवटा मिर्गौला हुन्छन्, जुन करिब दाना (बिन्स) आकारका हुन्छन् । ती पेटको पछाडिको भागमा मेरुदण्डको दायाँ र बायाँ छेउमा अवस्थित रहन्छन् । एक मिर्गौलाको लम्बाइ लगभग ९ देखि १३ सेन्टिमिटर र चौडाइ ३ देखि ५ सेन्टिमिटरसम्म हुन सक्छ । तिनीहरूको औसत तौल १५० देखि २५० ग्रामसम्म हुन्छ ।
मुटुबाट ठूला धमनीहरूमार्फत रगत मिर्गौलामा पठाइन्छ । त्यहाँ रहेका नेफ्रोन नामक सूक्ष्म एकाइहरूले रगतलाई छानेर सफा बनाउँछन् । सफा भएको रगत फेरि शरीरमा फिर्ता पठाइन्छ, जसले जीवन प्रक्रियालाई निरन्तरता दिन सघाउँछ ।

मिर्गौलाको कार्यमा गम्भीर समस्या उत्पन्न भएमा जीवन अत्यन्त कष्टकर बन्न सक्छ । मिर्गौलाबिना दीर्घकालीन जीवन सम्भव हुँदैन ।
मिर्गौलाको अर्बुद (क्यान्सर) रोग : एक गम्भीर स्वास्थ्य चुनौती
मिर्गौलाको अर्बुद, जसलाई ‘किड्नी क्यान्सर’ भनिन्छ, मिर्गौलामा हुने एक प्रकारको घातक रोग हो । यो रोग प्रायः ५० देखि ५५ वर्ष उमेर समूहका मानिसहरूमा देखिन्छ, यद्यपि कहिलेकाहीँ कलिलो उमेरका बालबालिकामा पनि यो रोग देखा पर्न सक्छ ।
यो रोग मिर्गौलाका कोशिकाहरूमा खराबी आउँदा सुरु हुन्छ । जब यी कोशिकाहरू असामान्यरूपमा परिवर्तन हुन्छन्, तब तिनीहरू क्यान्सरका कोशिकामा रूपान्तरण हुन थाल्छन् । यस्ता कोशिकाहरू अनियन्त्रित रूपमा विभाजन र वृद्धि हुन थाल्छन् । यदि समयमै नियन्त्रण गरिएन भने यी कोशिकाहरू मृगौलाबाट अन्य अङ्गहरूमा फैलिन सक्छन्, विशेषतः रगत तथा लसिकानलीको माध्यमबाट फोक्सो, हाड वा कलेजोमा समेत पुग्न सक्छन् ।
अर्बुद रोगको जोखिम कसलाई बढी हुन्छ ?
१ चुरोट पिउने, सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्ति
२. मोटोपन भएको व्यक्ति
३. मिर्गौलाका दिर्घ रोगी
४. वंशानुगत दोष
५. उच्च रक्तचाप
मिर्गौलाको क्यान्सर सबै क्यान्सरमध्ये ४ प्रतिशत हुने पाइएको छ ।
मिर्गौला क्यान्सरको विभिन्न प्रकारः
१. रेनल सेल कार्सिनोमा
(क). किलीपर सेल रेनल सेल कार्सिनोमा
(ख), प्यापीलरी रेनल सेल कार्सिनोमा
(ग) क्रोमोफोन रेनल सेल कार्सिनोमा
(घ) मेडुलरी रेनल सेल कार्सिनोमा
(ङ) म्युसीनस रेनल सेल कार्सिनोमा
२. ट्रान्जिसनल सेल कार्सिनोमा
३. रेनल सार्कोमा
४. विल्मस् ट्युमर
५. हेरिडेटरी रेनल कार्सिनोमा
६. अन्य किसिम
मिर्गौलाको क्यान्सरको लक्षण
१. प्राथमिक चरणको क्यान्सरमा लक्षण नहुन सक्छ ।
२. पिसाबमा रगत देखा पर्नु/रातो अथवा गुलाफी रङको पिसाब जानु
३. पेट अथवा कम्मरमा दुख्ने
४. पेटमा अथवा तल्लो ढाडमा डल्लो भेटिनु/निस्कनु
५. थकान र कमजोरी
६. खाना खान मन नलाग्नु
७. तौल कम हुन
८. रक्तचाप बढ्न
९. पेट, खुट्टा फुलेर जान
१०. मन्द मन्द ज्वरो आउनु
११. रगतको कमी हुनु
१२. रगतमा खराब तत्त्वहरु बढ्नु
१३. पिसाबमा गडबडी हुनु
१४. ढाड र हड्डीहरू दुख्नु
मिर्गौलाको क्यान्सरको जाँच कसरी गरिन्छ ?
बिरामीले क्यान्सर विशेषज्ञ चिकित्सकलाई भेटेर आफ्नो समस्या र रोगको लक्षणबारे भन्नुपर्छ । जसमा निम्न जाँच गर्न सकिन्छः
१. रगत जाँच
२. पिसाबको जाँचः पीसाबमा रक्त कण र रक्त कोशिक हरु भेटिन सक्छ । क्यान्सरको कोशिकाहरु फेला पर्न सक्छ
३. एम आर आई पेटको : यस प्रविधिबाट मृगौलामा भएको क्यान्सरको सजिलै पहिचान गर्न सकिन्छ ।
यदि क्यान्सरको कोशिका अन्य नजिकैको तन्तु एक धमिनी मुत्रनली, गाँठोहरुमा छेडेको, अतिक्रमण गरेको, विकृत गरेको भए सजिलै देखा पर्छ ।
४. पेट तथा मिर्गौलाको सीटी स्क्यान : मिर्गौला क्यान्सरको डल्लोको साइज, चरित्र, स्थान र फैलावटबारे किटान गर्न सकिन्छ ।
५. अल्ट्रासोनोग्राफी : ध्वनि तरङ्ग प्रविधिको मदतले ट्युमरको साइज र स्थानको अनुमान गर्न सकिन्छ ।
६. मिर्गौलाको क्यान्सरको व्योप्सी : विशेष प्रकारको सियो प्रयोग गरेर सुरक्षित तवरले मिर्गौलाको सराव मांसपेशी/क्यान्सरको डल्लोबाट नमुना निस्किन्छ । त्यसपछि प्याथोलजी विशेषज्ञ चिकित्सकले नमुनाको निरीक्षण र जाँच गरी हिस्टोप्यायोलजी रिपोर्ट दिनु हुन्छ ।
मिर्गौला क्यान्सरका चरण
(१) प्रथम चरण
क्यान्सर ट्युमरको साइज ७ सेमी.मात्र हुन्छ, अथवा त्यो भन्दा सानो हुन्छ । यो मिर्गौला मिज सीमित हुन्छ । अन्यत्र फैलिएको हँुदैन ।
(२) दोस्रो चरण
क्यान्सर ट्युमरको साइज ७ सेन्टिमिटरभन्दा ठूलो हुन्छ ।
(३) तेस्रो चरण
क्यान्सर फैलिएर नजिकैको अन्य मांसपेशीमा हैडेको हुन्छ । रक्तनली तथा गाँठगेहरूमा फैलिएको हुन्छ ।
(४) चौथो चरण
क्यान्सर पर परसम्म फैलिएको हुन्छ, जस्तोकी कलेजो, फोक्सो पिसाब थैली
मिर्गौलाको क्यान्सरको उपचार
१. शल्यक्रिया
चिरफारद्वारा रोगको उपचार मृगौलाको क्यान्सरको गरिन्छ । यो तरिकाले सुरुवातको क्यान्सरलाई झिकेर फाल्ने गरिन्छ ।
(क) आंशिक मिर्गौलाको शल्यक्रिया
यदि क्यान्सर सानो छ भने मृगौलाको सानो अंश मात्र काटेर फालिन्छ। बाँकी मृगौलालाई जोगाइन्छ ।
(ख) पूर्ण मिर्गौलाको शल्यक्रिया
यसमा क्यान्सरयुक्त सिङ्गो मृगौला वरपरका मांसपेशी रक्तनली र गाँठोहरू चिरेर झिकिन्छ ।
२. रेडिएशन चिकित्सकीय प्रविधि
यस प्रविधिद्वारा विकिरणको प्रयोगबाट क्यान्सरको कौरोकालाई निस्विय गरिन्छ, क्यान्सरको डल्लोलाई सुकाइन्छ । यसबाट क्यान्सर कण तथा कोशिकालाई अन्य अङ्गमा सर्नबाट रोकिन्छ ।
३. नष्टिकरण
यस प्रविधिमा क्यान्सर कोशिकाहरुलाई अत्याधिक निम्न तापमान (चिसो ग्याँस) को प्रयोगले खण्डित गरिन्छ, नष्ट गरिन्छ र ट्युमरलाई सुकाइन्छ । अन्य किसिमको प्रकृयामा विद्युतीय तरङ्गद्वारा पनि क्यान्सरको कोशिकालाई नष्ट गरिन्छ ।
४. इम्युनोथेरापी
यी विशेष किसिमका औषधिहरूले क्यान्सर कोशिकाविरुद्ध शरीरको प्रतिरक्षा हो । यो प्रणालीलाई आक्रामक र बलियो बनाउछ । यस प्रतिरक्षा प्रतिक्रियाले क्यान्सरलाई नष्ट गर्छ । यो उपचार विधिले ४०–६० प्रतिशत मृगौलाको क्यान्सर बिरामीलाई फाइदा पुर्याउछ । यो केमोथेरापी समूहभित्र पर्दैन । यो उपचार आर्थिकरूपमा महँगो र खर्चिलो हुन्छ । यसअन्र्तगत पनिभोलुमाब, ईपीलीमुमाब, पेम्ब्रोलिजुमाब इत्यादि औषधिको प्रयोग हुन्छ ।
५. लक्ष्यीय उपचार
यो विशेष खालका औषधिले क्यान्सर कोशिकाको संरचना, इकाई र तन्तुमा सूक्ष्म तहमा प्रहार गर्छन् । यो प्रकृयामा क्यान्सर कोशिका सन्तुलन, वृद्धि र कार्य प्रवाहमा रोक लाग्छ । क्यान्सर कोशीका लक्ष्य विहीन भएर खेर जान्छन् ।
६. केमो थेरापी
मिर्गौलाको मो क्यान्सरमा केमो औषधि अत्यधिक प्रभावशाली छैनन् । यद्यपि यी औषधिको प्रयोग केही चरणका क्यान्सरमा रोगको रोकथामका लागि गर्न सकिन्छ ।
मिर्गौला क्यान्सरको रोकथाम
१. चुरोट नपिउनु/सुर्तीजन्य पदार्थ सेवन नगर्नु ।
२. रक्सी नपिउनु
३. फलफूल सागपात तरकारी प्रशस्त खानु
४. शारीरिक व्यायाम गर्नु
५. शरीरको तौल घटाउनु ।
६. रक्तचाप नियन्त्रणमा राख्नु ।
७. बोसोयुक्त खाना कम खानु ।
८. सफा पानी प्रशस्त पिउनु ।
(लेखक डा. समीम अख्तर क्यान्सर रोग विशेषज्ञ हुन्)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।