१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

आँपमा आत्मनिर्भर हुनसक्छ नेपाल, तर...
विदेशी आँपले भरियो बजार, जात विकासमा कसरी चुक्यो नेपाल ?

आँप स्वाद र सन्तुष्टि दुवैका लागि परिचित छ । प्रायः सबै उमेरका मानिसको रोजाइमा पर्ने यो फल ‘फलहरूको राजा’ का रूपमा चिनिन्छ । अरू फलका आफ्नै गुण र विशेषता भए पनि आँपको स्वाद, बहुपयोगिता र औषधीय गुणका कारण यसको छुट्टै स्थान छ ।


काँचो होस् वा पाकेको आँप दुवै अवस्थामा लाभदायक हुन्छ । यसमा भिटामिन सी, ए, ई, फोलेट, भिटामिन बी–६, कपर, म्याग्नेसियमजस्ता खनिज तत्व पाइन्छन्, जसले शरीरलाई ऊर्जा दिनुका साथै प्यास मेटाउने र भोक कम गर्ने काम गर्छ । गर्मीयाममा विशेषगरी आँप सेवन गर्दा ताजगीको अनुभव हुन्छ ।



हाल बजारमा देखिएका अधिकांश आँप आयातीत हुन् । नेपालमा स्वदेशी आँपको प्रमुख सिजन जेठ १५ देखि साउन १५ सम्म मानिन्छ । यद्यपि वैशाखदेखि नै बजारमा आँप प्रशस्त देखिन थाल्छन् । आकर्षक देखिने यी आँप उपभोक्ताका लागि लोभलाग्दा त हुन्छन्, तर, पछिल्लो समय व्यापारीहरूद्वारा प्रयोग गरिने कृत्रिम पकाउने प्रविधिले उपभोक्ता स्वास्थ्यमा प्रश्न उठाएको छ ।

थुप्रै व्यापारीहरूले अधिक मुनाफाको लोभमा किसानबाट काँचो अवस्थामा नै आँपको बगैँचा खरिद गर्छन् । ती आँप गोदाममा ल्याएर रासायनिक पदार्थ छर्केर कृत्रिमरूपमा छिटो पकाइन्छन् । यसरी पकाइएका आँपको रंग आकर्षक देखिए पनि स्वास्थ्यका हिसाबले जोखिमपूर्ण हुन सक्छन् ।  



मुख्यगरी आँप भारत र त्यसपछि चीन, थाइल्याण्ड, पाकिस्तान, फिलिपिन्सबाट आयात हुन्छ । वार्षिक १२ देखि २२ हजार मेट्रिक टनको हाराहारीमा आँप आयात भइरहेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । विभागका अनुसार नेपालमा बर्सेनि आँपको आयात बढिरहेको छ । चालू आर्थिक वर्षको चैतसम्म २५ करोड २ लाख १३ हजार रुपैयाँ बराबरको आँप आयात भएको छ भने गत आर्थिक वर्ष २०८०/८१ मा ७ करोड ३९ लाखको आँप आयात भएको थियो । 

नेपालमा करिब ५० हजार हेक्टर क्षेत्रफल बढीमा आँप खेती गरिएको छ । यसबाट करिब ४० हजार हेक्टर क्षेत्रफलको आँपले उत्पादन दिन्छ । सो क्षेत्रफलबाट करिब साढे चार लाख मेट्रिक टनको हाराहारीमा स्वदेशी आँप उत्पादन हुँदै आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । 

नेपालको सातैवटा प्रदेशमा आँप हुन्छ । त्यसमा पनि विशेषगरी  मधेश प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा अनि कोशी प्रदेशको मोरङ र सुनसरीमा आँप धेरै फल्छ । विशेषगरी जेठदेखि भदौसम्म बजारमा विभिन्न जातका आँप आउँछन् । धेरैले रुचाउने फलको रूपमा रहेको आँप कुन जातको किन्दा कस्तो स्वाद हुन्छ भनेर कतिपयलाई अलमल हुन्छ । 

नेपालमा प्रचलित र बजारमा समेत सजिलै पाइने आँपहरू औँलामा गन्न सकिने रहेको बताउँछन्, उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुर सर्लाहीका प्रमुख रामकुमार यादव । ‘फलफूलको राजा मानिने आँप यसै पनि मीठो फल हो,’ उनी भन्छन्, ‘आँपका धेरै भेराइटी हुने हुँदा खासगरी माल्दह, जर्दालु, बम्बई, दशहरी आँप बेसी मीठो हुन्छ ।’



नेपालमा बम्बे, केसर, दसहरी, मालदह, बन्बै ग्रीन, कृष्णभोग जातका आँप  उपलब्ध हुने गरेका छन् । खासगरी काठमाडौंमा मालदह, कलकत्ते, दसरी, बम्बई, आम्रपाली कृष्णभोग जातका आँप बढी खपत हुने गरेको छ । सरकारले २०८४ सम्ममा आँपमा आत्मनिर्भर हुने नीति लिएको छ । 

सोहीअनुसार किसानलाई आँपको बिरुवा, कृषि उपकरण, विषादीलगायतमा अनुदान दिँदै आएको छ । तर, किसान भने अनुदानभन्दा पनि बजार व्यवस्थापन गरिदिन सरकारसँग माग गर्दै आएका छन् । विडम्बना, सरकारले हालसम्म बजार व्यवस्थापनमा कुनै योजना नै बनाएको छैन । 

कोल्ड स्टोर अभाव 

बालीअनुसार कोल्ड स्टोर पनि फरक–फरक आवश्यक हुन्छ । हालसम्म नेपालमा आँपका लागि एउटा पनि कोल्ड स्टोर निर्माण भएका छैन । तरकारी, स्याउलगायतका लागि सरकारकै लगानीमा कोल्ड स्टोर निर्माण भए पनि हालसम्म आँपको लागि कोल्ड स्टोर नबनेको हो । 

नेपालमा सबैभन्दा धेरै आँप आयात हुने भनेकै भारतबाट हो । भारतमा धेरै जातका आँपको विकास गरिएको छ । सिजनअनुसार अगाडि पछाडि निरन्तर उत्पादन भइरहन्छ । नेपाल भित्रिँदा एकदमै सस्तोमा आउँछ । त्यसैले नेपालले पनि आँपको जात विकास गर्नतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।

यादव भन्छन्, ‘नेपालमा एकदमै कम जातको आँप मात्र उत्पादन हुँदै आएको छ । मेन सिजनभन्दा अघि वा पछि उत्पादन हुने जातको विकास गर्यो भने कोल्ड स्टोर नै आवश्यक पर्दैन । उत्पादित आँप निरन्तर बजार पठाउन सक्छौं । अब सबैले यस तर्फ सोच्नुपर्छ ।’ 

कोल्ड स्टोर बनाउनेभन्दा पनि आँपको जात विकास गर्नेतर्फ लाग्नु पर्ने उनको भनाइ छ । नेपालमा सबैभन्दा रुचाइने फलमध्ये आँप अग्रस्थानमा पर्छ । माग पनि हरेक वर्ष बढ्दो छ । तर, उत्पादन भने त्यसअनुसार वृद्धि हुन सकेको छैन ।

हावापानीको दृष्टिकोणले नेपालका तराई क्षेत्रदेखि मध्यपहाडको बेँसीसम्म आँप खेतीका लागि अनुकूल वातावरण छ । यद्यपि, नेपालको अधिकांश आँप बोटमा एक वर्ष फल आएपछि अर्को वर्ष विश्राम लिने प्रवृत्ति हुन्छ । यस कारण नियमित र स्थिर उत्पादनमा चुनौती कायम छ ।

यही अस्थिर उत्पादन प्रवृत्तिका कारण नेपाल अझै पनि आँपमा आत्मनिर्भर बन्न सकेको छैन । कृषकमैत्री प्रविधिको प्रयोग, सुधारिएको जातको छनोट, वैज्ञानिक व्यवस्थापन र सरकारी नीति समर्थनले गर्दा नेपालमा आँप खेतीको सम्भावना अझ फैलन सक्छ । आत्मनिर्भरताको लक्ष्य हासिल गर्न दीर्घकालीन रणनीति आवश्यक छ ।

  • प्रकाशित मिति : ९ जेठ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया