नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले असमानताको अन्त्य चाहने वादको पछि लाग्न छोड्नुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘अर्जुनदृष्टि अल्पविकासको अर्थ राजनीति’ नामक पुस्तक विमोचन समारोहमा उनले अर्थशास्त्रीलाई देउता जस्तो मानेर यो यसको वाद यसलाई छाड्नै हुँदैन भन्ने कुरा पनि खासै सही नभएको भन्दै असमानताको अन्त्य गर्ने हो भने वादहरूको पछि लाग्न छोड्नुपर्ने बताए ।
‘समानताको मुद्दा एकदमै जायज हो । यस्तो मुद्दा सम्बोधन गर्नको लागि त्यही नै जानुपर्छ । ०६३ सालपछि केही हदसम्म गएका छौ । हामी असमानताको अन्त्य चाहन्छौ भने पूँजीवाद अन्त्य हुन लाग्यो, यो त्यो भन्नेतर्फ नलागौँ । कसैले सबै सत्य देखेको पनि हुँदैन । अर्थशास्त्रीहरूलाई देउता जस्तो मानेर यो यसको वाद यसलाई छोड्नै हुँदैन भन्ने कुरा पनि खासै सही होइन,’ गभर्नर पौडेलले भने ।
कुनै पनि वादप्रति पूर्वाग्रह नराखी सबै वादको राम्रो कुरा लिएर अगाडि बढ्नुपर्ने पनि उनको भनाइ छ ।
यस्तै, गभर्नर पौडेलले असमानताले देशलाई अगाडि नबढाउने भन्दै कम्युनिष्ट आन्दोलनको राम्रो योगदान नै समानता भएको बताए ।
‘कम्युनिष्ट आन्दोलनको राम्रो योगदान हाम्रो देशमा के हो भने समानतामा जुन जोड दिनु भएको छ, त्यो हामीलाई एकदमै काम लाग्ने कुरा हो । हाम्रो देश दुई चारवटा जातले मजाले लुटेर खाएको ठाउँ हो । अहिले पनि त्यस्तै–त्यस्तै छ । यो असमानताले हाम्रो देशलाई अगाडि बढाउँदैन । यहाँ १ सय ४०–४५ वटा समुदाय, भाषा छ,’ उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।