प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्कने सम्भावनालाई खारेज गर्दै नेकपा एमाले सबै किसिमका प्रतिगमन रोक्ने अग्रपंक्तिको शक्ति भएको दाबी गरेका छन् । पोखरामा शुक्रबार सुरु भएको राष्ट्रिय युवा संघ नेपालको १०औँ महाधिवेशनको उद्घाटन समारोहमा उनले पूर्वराजाको कुण्डलीको चर्चा गर्दै ‘अब जनताको कुण्डली हेर्नुपर्छ’ भन्ने व्यङ्ग्यसहितको चेतावनीसमेत दिए ।
ओलीले भने, ‘पूर्वराजाको कुण्डली मात्रै हेरेर हुँदैन, जनताको कुण्डली हेर्नुपर्छ ।’ उनले पूर्वराजा ज्ञानेन्द्र शाहका पक्षमा भइरहेका गतिविधिलाई ‘प्रतिगमनको सपना’ भन्दै खारेज गरे ।
यो टिप्पणी नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङले पूर्वराजाको कुण्डलीमा फेरि सिंहासन फर्कने भविष्यवाणी गरेको चर्चा सार्वजनिक भएपछि आएको हो ।
प्रधानमन्त्री ओलीले पछिल्लो समय एमाले कार्यकर्तालाई ‘झोले’ भनिएको प्रति आपत्ति जनाउँदै एमालेप्रति बोल्दा हतोत्साहित बनाउने प्रवृत्तिको आलोचना गरे । ‘एमालेको पक्षमा बोल्दा झोले भनियो भने लोकतन्त्र कहाँ पुग्छ ?,’ उनले प्रश्न गरे । तर, ओलीको यो अभिव्यक्ति एमालेप्रति बढ्दो असन्तुष्टि, आन्तरिक खिचातानी र पछिल्लो समय जनस्तरमा पार्टीप्रतिको दूरीको सन्दर्भमा आएको हो । उनले असन्तुष्टि चिर्नुको साटो त्यो आलोचनालाई ‘विरोधीको भ्रम’ मा मात्र सीमित गरे ।

प्रधानमन्त्री ओलीले देशमा पुनः राजतन्त्र ल्याउने वा प्रतिगमनकारी कदम चालेमा त्यसलाई रोक्न युवा संघलाई अग्रपंक्तिमा आउन आह्वान गरे । उनले भने, ‘कुनै पनि प्रतिगमनको कुचेष्टालाई धुलोपिठो बनाइन्छ ।’
यद्यपि उनले प्रतिगमनको सम्भावना वा स्रोत भने खुलाएनन् । यस किसिमको पूर्वतयारीको सन्देशले एकातर्फ ओली नेतृत्वको शङ्कालु चिन्तन झल्काउँछ भने अर्कोतर्फ आन्तरिक दबाबको सामना गरिरहेको एमालेको मनोविज्ञान पनि देखाउँछ ।
प्रधानमन्त्री ओलीले राजनीति नगरेका र ज्ञान नभएका व्यक्तिको हातमा राजनीतिपछि अस्थिरता आएको टिप्पणी पनि गरे । उनले अबको १४ महिनापछि आफूले राजीनामा दिएर कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीको जिम्मा दिने दाबी गरे । यस्तो अभिव्यक्तिले सत्ता साझेदारीको अन्तर्निहित सम्झौता बाहिर ल्याएको छ । तर, एमाले–कांग्रेसबीचको विश्वासको संकटलाई यसले समाधान गर्छ कि झन पेचिलो बनाउँछ भन्ने प्रश्न रहन्छ ।
प्रधानमन्त्री ओलीको पोखरा भाषण प्रतिगमन विरोधी हुंकारजस्तै लागे पनि त्यसमा असन्तुष्ट जनताको प्रश्नको उत्तर गुमनाम थियो । ‘झोले’ शब्दमा अभिव्यक्त गुनासो र राजतन्त्रको पुनरागमनलाई लिएर गरिएको चेतावनीसँगै ओलीले राजनीतिक सन्तुलनको परीक्षा दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।