सान्भी इनर्जी लिमिटेडले शुक्रबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन खुला गरेको छ ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि निष्कासन खुलेको हो ।
यस चरणमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २४ लाख १५ हजार ३०० कित्ता सेयर बिक्रीमा ल्याएको छ, जसको कुल मूल्य २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबर हुन्छ ।
त्यसमध्ये १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र ५८ हजार २०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।
न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने यो आइपिओमा १३ जेठसम्म आवेदन दिन सकिन्छ । सो अवधिमा पूरै सेयर नबिकेमा आवेदन अवधि २३ जेठमा गतेसम्म लम्बिन सक्छ ।
कम्पनीलाई केयर रेटिङ नेपालले 'केयर एनपी डबल बी प्लस इस्युअर' रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।
यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड हो । लगानीकर्ताले मेरो सेयर प्रणाली वा सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।