२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

पर्यटक र पूर्वाधारको पर्खाइमा छहरे झरना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा रहेको छहरे झरना पूर्वाधार र पर्यटकको पर्खाइमा छ ।


स्वाँत गाउँको नजिकै रहेको छहरे झरना पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । मनमोहक छहरे झरनासम्म पुग्ने व्यवस्थित पदमार्ग र यसको आकर्षणका विषयमा प्रचारप्रसार नहुँदा पर्यटक पुग्न नसकेका स्वाँतका बासिन्दा मनबहादुर पुनले बताए ।



अन्नपूर्ण चक्रीय र खोपारा पदमार्गमा समेटिएको स्वाँत गाउँमा पर्यटकको बसाई लम्बाउन छहरे झरनालाई नयाँ गन्तव्य बनाउनुपर्ने होटल व्यवसायीसमेत रहेका पुनले बताए । झरनासम्म पुग्ने व्यवस्थित पदमार्ग छैन् । 

भिराखो पाखोको भिरालो पैदलमार्गमा हिँड्दा चिप्लने खतरा छ । छहरे झरनाको सुन्तरता स्वाँत गाउँमै सीमित छ । रमणीय झरना सुनसान छ । 



करिब २०० मिटर अग्लो झरना मनमोहक छ । झरनाको फेदीमा नीलो आकारको तलाउ छ । वरपर घना जङ्गल छ । चराको चिरबिर चिरबिर आवाज सुन्न सकिन्छ । पहाडको फेदीमा रहेको झरना नजिकै भिरमौरीको घार (बासस्थान) छ । जहाँ हरेक वर्षको जेठ महिनाको पहिलो हप्ता स्वाँतका बासिन्दाले महशिकार गर्छन् ।  

छङछङ गर्दै झर्ने झरनाको आवाजले मन्त्रमुग्ध बनाउने स्थानीय बलबहादुर तिलिजा पुनले बताए । छहरे झरना अवलोकन गर्दै तनाव भुलाउन र थकान मेटाउन सकिने उनले बताए । शान्त र एकान्त वातावरणमा रमाउन पाउनु पनि छहरे झरनाको विशेषता हो ।  

झरनामा घाम पर्दा इन्द्रेणी देखिन्छ । नजिक नजिक दुई वटा झरना रहेका छन् । ठूलो छहरे झरनाभन्दा करिब २ सय मिटर तल रहेको अर्को झरनालाई सानो छहरेका नामले चिनिन्छ । स्वाँत गाउँदेखि करिब २० मिनेट पैदलयात्रा गरेपछि छहरे झरनामा पुगिन्छ । 

झरनाको माथिल्लो भागसम्म कच्चि सडक पनि छ । स्वाँत गाउँमा होटल र होमस्टे (घरबास) को सुविधा छ । अन्नपूर्ण गाउँपालिका–५ का वडा अध्यक्ष राजेश तिलिजा पुनले छहरे झरनाको संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसार गरी पर्यटकीय गन्तव्य बनाउन पहल गरेको बताए ।



सडक पुगेको ठाउँदेखि झरनाको फेदीसम्म ढुङ्गाको सिँढी चिनेर पदमार्ग, दृष्य अवलोकनस्थल र विश्रामस्थल बनाउन अध्ययन गरिएको वडाध्यक्ष तिलिजाले बताए । रासस 

  • प्रकाशित मिति : १० जेठ, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया