नेपाली पुरुष र महिला फुटबल टिम अहिले एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीमा व्यस्त छन् । दुवै टोलीको यात्रा अलि फरक प्रकृतिको छ- महिला टिम उत्साह र आशाका साथ अन्तिम चरणको छनोटमा होमिँदैछ भने पुरुष टोलीले कठिन प्रतिस्पर्धाबीच प्रारम्भिक चरण पार गर्ने संघर्ष गरिरहेको छ ।
दबाबबीच सम्भावनाको खोजी
सन् २०२७ मा साउदी अरेबियामा हुने पुरुष एसियन कपका लागि छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ, जहाँ नेपालले मलेसिया, भियतनाम र लाओसको सामना गर्नेछ ।
समूह चरणको पहिलो खेलमा नेपालले मलेसियासँग २–० को हार बेहोरिसकेको छ । नेपालले अब दोस्रो खेल लाओससँग उसकै घरेलु मैदानमा आगामी १० जुनमा खेल्ने तालिका छ ।

खेलअघि तयारीस्वरूप नेपालले ५ जुनमा हङकङसँग एक मैत्रीपूर्ण म्याच खेल्नेछ । हाल टोली काठमाडौंमा प्रशिक्षण गरिरहेको छ । प्रशिक्षणमा ३० खेलाडी सहभागी छन्, जसबाट अन्तिम २३ सदस्यीय टोली घोषणा गरिनेछ ।
नेपाली पुरुष टोली हालसम्म एसियन कपमा छनोट हुन सकेको छैन । एएफसीले छनोट प्रतियोगितामा २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहको विजेता मात्र एसियन कपमा स्थान बनाउने छन् ।
भियतनाम र मलेसियाजस्ता टोलीसँग खेल्नुपर्ने भएका कारण समूह विजेता बन्नु नेपालका लागि चुनौतीपूर्ण छ । तर, निरन्तर अभ्यास र रणनीतिमा ध्यान दिएर खेलमा नेपालले आश्चर्यजनक नतिजा ननिकाल्ला भन्न सकिन्न ।
इतिहास दोहोर्याउने लक्ष्यमा महिला टिम
महिला फुटबल टोली सन् २०२६ मा अस्ट्रेलियामा हुने एएफसी एसियन कपको तयारीमा छ । यसपटकको छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा परेको छ । नेपालले समूह चरणमा उज्बेकिस्तान, लाओस र श्रीलंकाको सामना गर्नेछ ।

सबै खेल उज्बेकिस्तानमा जुन २९ देखि जुलाई ५ सम्म हुने तालिका छ । नेपालले सन् २०२२ मा पनि छनोट प्रतियोगिता खेलेको थियो । तर, त्यसबेला नेपालले समूह चरण पार गर्न सकेन ।
सन् १९७५ मा सुरु भएको महिला एसियन कपमा नेपालले सन् १९८० र ९० को दशकमा तीनपटक भाग लिएको थियो । त्यसयता भने नेपालले एसियन कपमा स्थान बनाउन सकेको छैन ।
यसपालि नेपाल वर्षौंअघिको इतिहास दोहोर्याउने लक्ष्यमा छ । नेपाली टिम छनोट प्रतियोगिता अघि थाइल्याण्डसँग दुईवटा अभ्यास खेल खेल्ने तयारीमा छ, जसअन्तर्गत नेपालले ३० मेमा क्लोज डोर खेलको रूपमा थाइल्याण्डको सामना गर्ने छ । नेपाल र थाइल्याण्डबीचको दोस्रो प्रतिस्पर्धा २ जुनमा हुने तालिका छ । उक्त खेलले भने अन्तर्राष्ट्रिय मान्यता पाउने छ ।

थाइल्याण्डविरुद्धको खेलका लागि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले २३ सदस्यीय टोलीसमेत घोषणा गरिसकेका छन् । उनीहरूमध्ये कप्तान अन्जिला तुम्बापो सुब्बा, स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेल विदेशमा क्लब फुटबल खेलिरहेका कारण बन्द प्रशिक्षणमा सहभागी भएनन् । भुटानबाट फर्केकी डिफेन्डर पूजा राना भने टोलीमा जोडिएकी छिन् ।
एसियन कप छनोटमा सहभागी ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेताले महिला एसियन कप खेल्नेछ । एसियन कप नेपाली फुटबलका लागि केवल एक प्रतियोगिता होइन, यो अन्तर्राष्ट्रियस्तरमा आफूलाई प्रमाणित गर्ने अवसर पनि हो ।
महिला टोलीले राम्रो तयारी र रणनीति अवलम्बन गरेमा अष्ट्रेलिया पुग्ने सपना साकार हुन सक्छ । उता पुरुष टोलीको लागि चुनौती चर्को भए पनि इतिहास रच्ने मौका छ । अहिलेको मिहिनेत भविष्यको जग बन्न सक्छ । नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउन अहिलेको छनोट यात्रा निर्णायक बन्ने सम्भावना छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।