पृथ्वीनारायण शाहको नाम उच्चारण गर्दा नेपालीको मनमा एक स्वतन्त्र, स्वाभिमानी र एकीकृत नेपालको भाव जागृत हुन्छ। उहाँले आफ्नो जीवन राष्ट्र निर्माणमा समर्पित गर्नुभयो र भौगोलिक रूपमा टुक्रिएको नेपाललाई एकतावद्ध गरी राष्ट्र निर्माणको वैचारिक जग बसाल्नुभयो ।
नेपालको कूटनीतिक यात्राको आधार र दर्शन राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नै स्थापना गर्नुभएको थियो। उहाँको कूटनीतिक दृष्टिकोण केवल तत्कालीन राजनीतिक सन्दर्भमा सीमित थिएन; त्यो एक दीर्घकालीन राष्ट्रिय मार्गदर्शन थियो — जुन आज पनि नेपालजस्तो सानो, भूपरिवेष्ठित राष्ट्रको परराष्ट्र नीति र कूटनीतिक सोचलाई स्पष्ट दिशा दिन सक्षम छ। यस सन्दर्भमा नेपालको वर्तमान अवस्था कस्तो छ भन्ने विषय सबैका लागि अनुभूत भइसकेको कुरा हो।
‘पृथ्वीपथ’ — अर्थात् पृथ्वीनारायण शाहले देखाउनु भएको राष्ट्र–निर्माणको मार्ग — आधुनिक नेपालको परराष्ट्र नीति र कूटनीतिक व्यवहारमा लागू गर्नु नेपालको अस्तित्व, अस्मिता र आत्मनिर्णय क्षमताको संवर्द्धन हुनेछ।
उहाँले आफ्नो दिव्योपदेशमा नेपाललाई “उप्रान्त यो राज्य दुइ ढुंगाको तरूल जस्तो रहेछ” भन्नुभएको छ — जसको राजनीतिक, भौगोलिक र रणनीतिक अवस्थाले सधैं सजग र सन्तुलित कूटनीतिको आवश्यकता तर्फ संकेत गर्दछ। नेपाल सधैं दुई विशाल शक्ति — भारत (तत् समयमा अंग्रेज शासित) र चीन — को बीचमा अवस्थित रहँदै आएको छ। यी शक्तिशाली छिमेकीहरूसँगको सम्बन्ध सन्तुलित राख्न पृथ्वीनारायण शाहले औंल्याउनुभएको “तरुल दर्शन” आजको कूटनीतिमा ‘ब्यालेन्स अफ पावर — शक्ति सन्तुलनको सिद्धान्त’ — को एक अद्भुत नेपाली संस्करणको रूपमा देखिन्छ।
उहाँको यो संश्लेषणले प्रष्ट पार्दछ कि नेपालले सन्तुलित नीति अपनाउँदै दुबै छिमेकीसँग पारस्परिक हितमा आधारित सम्बन्ध विकास गर्न सक्छ; तर, एकातर्फ अत्यधिक निर्भरताले राष्ट्रलाई गम्भीर रणनीतिक जोखिममा पार्न सक्छ। आधुनिक परिप्रेक्ष्यमा हेर्दा पनि, नेपाल भारत र चीनजस्ता क्षेत्रीय तथा विश्व शक्तिहरूको बीचमा रहेको एक रणनीतिक ‘बफर स्टेट’ हो। यस्तो अवस्थाले नेपालका लागि अत्यन्त सन्तुलित, सावधान, बहुपक्षीय र दीर्घदृष्टियुक्त कूटनीति आवश्यक बनाउँछ।
पृथ्वीनारायण शाहले देखाउनु भएको कूटनीतिक मार्गदर्शन सिद्धान्त त हुँदै हो; त्यो उहाँको कार्यशैलीमा समेत परि लक्षित हुन्छ। उदाहरणका लागि, नेपाल एकीकरणको क्रममा उहाँले भारततर्फ काशी राज्यसँग विशेष मित्रता कायम गर्नुभयो भने तिब्बत सँग शान्तिपूर्ण सन्धि गर्दै व्यापारिक नाका सुचारु राख्नुभयो। यी सबै कार्यहरूमा उहाँले निर्माणाधीन नेपालको हितलाई सर्वोपरि राख्दै अत्यन्त सन्तुलित परराष्ट्र दृष्टिकोण अपनाउनुभयो।
उहाँले काशीलाई ‘धर्मको केन्द्र’ र व्यापारको गन्तव्यका रूपमा बुझेर त्यहाँ नेपाली धर्मशाला स्थापना गराउनुभयो। यसले काशीसितको धार्मिक–सांस्कृतिक सम्बन्ध सुदृढ गर्नुका साथै नेपालको कूटनीतिक उपस्थिति पनि काशीमा स्थापित गर्यो। तिब्बतसँगको सम्बन्धमा पनि उहाँले आक्रमणभन्दा वार्तालाई प्राथमिकता दिनुभयो, र बौद्ध भिक्षुहरू तथा व्यापारीहरूमार्फत सन्देश पुर्याउनुभयो। यसले देखाउँछ कि उहाँको व्यवहारिक कूटनीति केवल शक्ति–आधारित थिएन, बरु विश्वास, सम्मान र राष्ट्रिय स्वाभिमानमा आधारित थियो।
‘नेपाल यतिखेर दुई ढुंगाबीचको तरुल हो, जोगिएर बस्नुपर्छ’ भन्ने राष्ट्र निर्माताको वाणी केवल भौगोलिक यथार्थ होइन, यसमा गहिरो रणनीतिक र राजनीतिक सन्देश समाहित छ। आजको सन्दर्भमा पनि नेपाल पुनः दुई शक्तिशाली राष्ट्र — भारत र चीन — को बीचमा संवेदनशील मोडमा उभिएको छ। एकातिर भारतसँग खुला सीमा, सांस्कृतिक निकटता र व्यापारिक निर्भरता छन् भने, अर्कातिर चीनसँग भूराजनीतिक सन्तुलन र पूर्वाधार विकासका अवसरहरू रहेका छन्। यस्तो अवस्थामा नेपालले पृथ्वीनारायण शाहको ‘तरुल दर्शन’लाई व्यवहारमा उतार्दै स्वतन्त्र, असम्बद्ध र स्वाभिमानी कूटनीति अभ्यास गर्नुपर्ने आवश्यकता छ। नेपालको कूटनीति आज अत्यन्त सूक्ष्म, परिपक्व र समन्वयात्मक हुनुपर्दछ।
नेपालले आफ्ना छिमेकीहरूलाई विश्वासमा राख्दै आफू तटस्थ राष्ट्रको हैसियतमा दृढ रूपमा उभिनसक्ने कूटनीतिक क्षमता देखाउन अब जरुरी भइसकेको छ। यदि यस्तो हैसियत स्थापित गर्न नसकिएमा नेपाल सधैं कहिले उत्तर, कहिले दक्षिण, त कहिले पश्चिमतर्फ झुक्न बाध्य हुने अस्थिर अवस्था सिर्जना भइरहन्छ। यसैले, नेपालको तटस्थतामा छिमेकीहरूको स्वीकार्यता हासिल गर्नु आजको कूटनीतिक प्राथमिकता हो। किनकि कुनै पनि छिमेकीले नेपाल आफ्नो पक्षमा झुकिरहोस् भन्ने चाहना राख्नु दीर्घकालीन रूपमा न नेपालका लागि, न त तिनका लागि नै हितकारी हुन्छ।
दुई ढुंगाबीचको तरूल जस्तै नेपाल- न त चीनमा अडिन सक्छ, न भारतमा टिक्न सक्छ; त्यसैले बलियो राष्ट्र निर्माण र सन्तुलित कूटनीति मात्रै हाम्रो अस्तित्वको आधार हो ।
आज पनि नेपाललाई ती दुई शक्तिशाली छिमेकी राष्ट्रहरूको प्रतिस्पर्धात्मक रणनीतिको अखडामा रूपान्तरण गर्ने प्रयास निरन्तर भइरहेकै छ। कहिले रेल परियोजना, कहिले व्यापार सम्झौता, त कहिले जलस्रोत र पूर्वाधार लगानीको नाममा भारत र चीनबीचको प्रभाव बढाउने होड नेपाली भूमिमै देखिन्छ। बीआरआईमार्फत निर्माण गरिएको भनिएका पोखरा र भैरहवा विमानस्थलहरू दक्षिणी छिमेकीलाई सहज नलाग्नु केवल संयोग होइन; यो भू–रणनीतिक चिन्ताको संकेत हो।
यदि ती परियोजनामा भ्रष्टाचार भएको हो भने, दोषीलाई कानुनी कारबाही गर्नु आवश्यक छ; तर त्यसका नाममा विमानस्थल सञ्चालन नै रोक्नु पर्ने तर्क उचित ठहरिँदैन — भ्रष्टाचारको मुद्दा त पछि मात्रै उठेको हो। चीन, विश्वको दोस्रो ठूलो अर्थतन्त्र र उदाउदो शक्ति भएकाले, नेपालको सन्दर्भमा उसले लिने दृष्टिकोण ढिला–चाँडो अझ गहिरो बन्दै जानेछ। अर्कोतर्फ, पश्चिम र दक्षिण पक्षले पनि आफ्नो प्रभाव क्षेत्र छाड्न नचाहने यथार्थ अझै विद्यमान छ। यस्तो परिवेशमा नेपालले अब कुनै न कुनै व्यावहारिक निकास खोज्नैपर्छ। ती निकासहरू राष्ट्र हितमा आधारित, अन्तर्राष्ट्रिय दबाब मुक्त, तटस्थ र स्वतन्त्र निर्णय क्षमतायुक्त कूटनीतिबाट मात्र सम्भव छन् — र यही नै ‘पृथ्वीपथ’को पहिलो सर्त हो।
पृथ्वीपथको कूटनीतिक दर्शनको मूलमा आत्मनिर्भरता, असंलग्नता, सावधानी, आत्मसम्मान, सन्तुलन र राष्ट्रिय स्वार्थप्रतिको कठोर प्रतिबद्धता निहित छ। आजको अनिश्चित विश्वराजनीति, क्षेत्रीय प्रतिस्पर्धा र भूराजनीतिक दबाबको सन्दर्भमा पृथ्वीनारायण शाहको ‘अरू देशको भर नपरी, आफ्नो बलमा टेकी बस्नु; अरूलाई थाहा नदिई काम गर्नु, फल देखाई मात्र देखाउनु’ भन्ने दृष्टिकोण झनै सान्दर्भिक र प्रेरणादायी बन्दै गएको छ।
पृथ्वीनारायण शाहको दृष्टिमा विदेशी सहयोग राष्ट्रहितको विरुद्ध नहोस् भन्ने सजगता अत्यन्त स्पष्ट देखिन्छ। उहाँले ‘विदेशी व्यापारीलाई देशको भित्री व्यवस्थामा हालीमुहाली गर्न नदिनू’ भन्ने उपदेशसमेत दिनुभएको थियो, जुन आजको बहु राष्ट्रिय लगानी, सामरिक साझेदारी वा रणनीतिक ऋण सम्झौताहरूको मूल्याङ्कन गर्दा विशेष सन्दर्भप्रद हुन्छ।

गैरसरकारी संघसंस्थाहरू तथा छिमेकी एवं मित्रराष्ट्रहरूबाट नेपालको सीमाभित्र भइरहेका अपारदर्शी लगानीहरू राष्ट्रहितमा छैनन् भन्ने बुझ्दा बुझ्दै पनि तिनीहरूको निरन्तरता नेपालको दीर्घकालीन हितका लागि हानिकारक हुनसक्छ। आज जब नेपाल विविध वैदेशिक सहायता, परियोजना र रणनीतिमा तानिएको छ — चाहे त्यो चिनिया बेल्ट एण्ड रोड इनिसियटिभ होस् वा अमेरिकी इण्डोप्यासिफिक स्ट्राटजी — यी सबै अवस्थाले नेपालको परराष्ट्र नीतिको मूल आधार राष्ट्रहित हुनुपर्दछ भन्ने स्पष्ट देखाउँछ। उपरोक्त शिक्षाबाट नेपालले सिक्नुपर्ने पाठ स्पष्ट छ — कूटनीति केवल चर्का अभिव्यक्तिहरूको अभ्यास होइन, बरु मौन, विवेकपूर्ण र दीर्घदृष्टियुक्त कार्यनीतिहरूको संगम हो।
आजको विश्वव्यवस्था द्विध्रुवीय नभई बहुध्रुवीय बनिसकेको छ, जहाँ रणनीतिक प्रतिस्पर्धा, प्रभावको संघर्ष र आर्थिक चलखेल बढ्दो रूपमा देखिएको छ। यस्तो जटिल अन्तर्राष्ट्रिय परिवेशमा नेपालजस्तो राष्ट्रले आफूलाई कसैको गोटी होइन, स्वाधीन हितको अभिव्यक्तिकर्ता (एडभोकेट) र सन्तुलनकारी शक्तिका रूपमा प्रस्तुत गर्न सक्नुपर्दछ। यही सन्दर्भमा ‘पृथ्वीपथ’ हामीलाई एउटा गहन सन्देश दिन्छ — “साझेदारी गर, तर आत्मसमर्पण नगर।”
पृथ्वीनारायण शाहको कूटनीति शक्ति–केन्द्रित होइन, राष्ट्र–केन्द्रित थियो; जुन भू–रणनीतिक सन्तुलन, सांस्कृतिक आत्मगौरव र आत्मनिर्भरताको थलोमा उभिएको थियो। उहाँको दृष्टिकोण आजको जटिल कूटनीतिक परिस्थितिमा पनि अझ सान्दर्भिक बन्दै गएको छ।
नेपालले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शक्ति संघर्षमा सजग रहँदै, सन्तुलन कायम राख्दै, रणनीतिक उपस्थिति मार्फत् आफ्ना दीर्घकालीन राष्ट्रिय हितहरूलाई स्पष्ट रूपमा पहिचान गर्न र प्राथमिकता दिन सक्नुपर्दछ।
यो नै आधुनिक युगमा पृथ्वीपथको सार हो — जहाँ नेपाल स्वतन्त्र निर्णय, विवेकपूर्ण साझेदारी, आत्मसम्मानयुक्त कूटनीति र गहिरो रणनीतिक दृष्टिकोण मिलेर राष्ट्रिय अस्तित्वको स्थायित्व सुनिश्चित गर्न सक्षम हुन्छ।
पृथ्वीनारायण शाहले भन्नुभएको थियो — “यसबेला मुलुकको भलो हेर्नु राजा र प्रजाले मिलेर गर्नु पर्छ। यत्रा गर्दा सावधानी राख्नू, शत्रु, मित्र छुट्याउन जान्नू।” यो वाणी आजको नेपाली राजनीतिक, कूटनीतिक र प्रशासनिक नेतृत्वका लागि पनि गहन मार्गदर्शन हो। नेपाल विश्व शक्तिहरूको रणनीतिक चापमा परेको अहिलेको परिवेशमा, मित्रता र सहकार्यको नाममा विस्तारै परनिर्भरता बढ्दै गएको छ। राष्ट्र निर्माणका बेला दिइएको यो उपदेश आज झन् सान्दर्भिक देखिन्छ।
यस शिक्षाले आजको नेतृत्वलाई ‘राष्ट्रको दीर्घकालीन हित सुरक्षित राख्न शत्रु–मित्र छुट्याउने विवेक, अन्तर्राष्ट्रिय चलखेल बुझ्ने चातुर्य, र आत्मगौरवमा आधारित नीति आवश्यक छ’ भन्ने स्पष्ट सन्देश दिन्छ। जब हामी पृथ्वीपथको शिक्षालाई परराष्ट्र नीतिमा व्यवहारिक रूपमा उतार्न सक्छौं, त्यही दिन नेपाल सन्तुलित, विश्वसनीय र स्वतन्त्र राष्ट्रको रूपमा उभिन सक्षम हुनेछ। आजको नेपाललाई ठ्याक्कै यही आत्मबोध, यही शालीनता र यही दृढता आवश्यक छ — जुन राष्ट्र–निर्माता पृथ्वीनारायण शाहले इतिहासमै स्थापित गरिदिनुभएको थियो। दक्षिण र उत्तरका छिमेकीहरूका सन्दर्भमा उहाँको उपदेश आजको दिनमा झनै सान्दर्भिक बन्दै गएको छ, जसलाई लेखमालाको छुट्टै श्रृङ्खलाको रूपमा “पृथ्वीपथ र नेपालको छिमेक नीति” शिर्षकमा यसपछि प्रस्तुत गरिनेछ।
दिव्योपदेशमा पृथ्वीनारायण शाहले एक ठाउँमा भन्नुभएको छ — “विदेशीसँग सम्पर्क राख्दा सावधानी आवश्यक छ। उनीहरूले आफ्नो स्वार्थ हेर्छन्, हामीले आफ्नो बुद्धि प्रयोग गर्नुपर्छ।” आजको परराष्ट्र सम्बन्धमा पनि यो सुझाव अत्यन्त प्रासंगिक छ। कुनै पनि विदेशी सहायता, ऋण, लगानी वा रणनीतिक साझेदारी स्वीकार गर्दा सर्तहरूको समीक्षा, दीर्घकालीन असरको मूल्याङ्कन, र आत्मनिर्भरता कायम रहन सक्ने नीतिगत विवेक अत्यावश्यक हुन्छ।
विडम्बना, आजको नेपालमा विदेशी दातातन्त्रले नीतिगत स्वायत्तता, नीति निर्माण प्रक्रिया र राष्ट्रिय प्राथमिकतालाई गहिरो रूपमा प्रभावित पारेको अवस्था देखिन्छ।
जल–स्रोत, पूर्वाधार, भन्सार, इन्टरनेट, शिक्षा, स्वास्थ्य आदिका क्षेत्रमा नेपालले लिएको कतिपय सहयोग राष्ट्रहित विपरीत हुने गरी प्रभावित भएका प्रशस्त उदाहरणहरू छन्। यस सन्दर्भमा पृथ्वीनारायणको सन्देश — ‘सर्वप्रथम: राष्ट्रहित’ — दृष्टिकोणलाई संस्थागत गर्नु अत्यावश्यक छ।
“देश बिग्रन्छ भने धर्म र परम्परा हराउँछ, र यदि धर्म बिग्रियो भने राष्ट्र खण्डित हुन्छ” भन्ने उहाँको भनाइ आधुनिक कूटनीतिमा ‘सांस्कृतिक सुरक्षा’ को सैद्धान्तिक आधार हो। आज धेरै राष्ट्रहरूले आफ्नो धर्म, संस्कृति र सभ्यतालाई ‘सफ्ट पावर’ को प्रभावकारी उपकरणका रूपमा प्रयोग गरिरहेका छन्।
त्यसैले परराष्ट्र नीतिमा सांस्कृतिक पहिचान, मौलिकता र आत्म–गौरव सुरक्षित राख्नु अहिले अत्यन्त आवश्यक भएको छ — विशेषतः जब बहुराष्ट्रिय कम्पनीहरू, विदेशी शिक्षण संस्थानहरू, गैर–सरकारी संघसंस्था वा परोपकारी संस्थाहरूको नाममा नेपालभित्र विविध सांस्कृतिक, वैचारिक र सामाजिक प्रभावहरू गहिरिएर फैलिरहेका छन्।
यस अर्थमा, हामी अन्तर्राष्ट्रिय राजनीतिमा छिमेकीसहितका शक्ति राष्ट्रहरूको ‘ब्याटल अफ इन्फ्लुएन्स’ को सिकार बन्दै गएका छौं। साना राष्ट्रहरूको असुरक्षा र कमजोरी हाम्रा अन्तर्राष्ट्रिय सम्बन्धमा प्रष्ट देखिन्छ। पृथ्वीनारायणले भनेझैं, “देश सानो भए पनि बुद्धि ठूलो हुनुपर्छ।” सानो हुनु कमजोरी होइन; तर यदि नीति निर्माण र निर्णय प्रक्रियामा साना राष्ट्रहरू सजग रहेनन भने, उनीहरू शक्तिशाली राष्ट्रहरूको प्रभावको शिकार बन्न सक्छन् — जसले अन्ततः उनीहरूको आन्तरिक नीति, राष्ट्रिय पहिचान, र दीर्घकालीन आत्मनिर्भरतालाई गहिरो रूपमा असर पुर्याउँछ।
उहाँले दिव्योपदेशमा भन्नुभएको छ — “यो नेपाल भन्नु एउटा असल फूलबारी हो, यसमा जातजाती, धर्म, भाषा आदिका अनेक फूलहरू छन्। सबैको संरक्षण गर्नुपर्छ।” यो केवल राष्ट्रिय एकता र समावेशी दृष्टिकोणको सन्देश मात्रै होइन, कूटनीतिक दृष्टिकोणबाट पनि अत्यन्त सन्देशदायी छ। परराष्ट्र सम्बन्ध विस्तार गर्दा नेपालको बहुसांस्कृतिक, धार्मिक तथा जातीय विविधता, सहिष्णुता र साझा पहिचानलाई अन्तर्राष्ट्रिय रूपमा उजागर गर्न सक्ने रणनीति आवश्यक छ। हाम्रो यही विविधता सफ्ट पावर बन्न सक्छ — जसले अन्तर्राष्ट्रिय सहयोग, पर्यटन, शिक्षा, श्रम र सांस्कृतिक कूटनीतिमा आधारित राष्ट्रहित प्रवर्द्धन गर्न मद्दत पुर्याउँछ।

नेपालको आधुनिक कूटनीतिमा अहिले मुख्यतः तीन प्रमुख चुनौतीहरू देखिन्छन्: पहिलो, भारत–चीनबीच सन्तुलन कायम राख्ने; दोस्रो, वैदेशिक ऋण र सहयोगको बाबजुद आत्मनिर्भरता जोगाउने; र तेस्रो, आन्तरिक राजनीतिक अस्थिरताले कूटनीतिक निरन्तरतामा पर्ने बाधा। यी तीनै चुनौती समाधान गर्न पृथ्वीपथले सशक्त बौद्धिक र नैतिक आधार प्रदान गर्न सक्छ। कूटनीति कुनै पनि राष्ट्रको बुद्धिमत्ता, दृष्टिकोण र निर्णय क्षमताको सर्वोच्च अभिव्यक्ति हो। सशक्त कूटनीति बिना आजको विश्वमा सानो राष्ट्रले आफ्नो स्थान, स्वायत्तता र स्थायित्व कायम गर्न गाह्रो छ। यसैले, कूटनीति राष्ट्रको सुरक्षा जत्तिकै महत्वपूर्ण रणनीतिक अस्त्र बनिसकेको छ।
आजको जटिल र द्रुत गतिमा परिवर्तन भइरहेका विश्व सन्दर्भमा नेपालको लागि कूटनीतिको मूल्य अत्यन्त गहिरो र बहुआयामिक छ। सीमित स्रोतसाधन, दुई ठूला शक्ति (भारत र चीन) बीचको संवेदनशील भूराजनीतिक अवस्थिती, आन्तरिक राजनीतिक अस्थिरता, आर्थिक निर्भरता, र वैदेशिक रोजगारीमा आश्रित जनसंख्या — यी सबै कारणले गर्दा नेपालको भविष्य र स्वाभिमान कूटनीतिक कौशलसंग प्रत्यक्ष रूपमा गाँसिएको छ।
अहिलेको विश्वव्यवस्था बहुध्रुवीय बन्दै गएको छ। अमेरिका, चीन, भारत, र रूसजस्ता शक्तिहरूबीचको प्रतिस्पर्धा, दक्षिण एसियामा बढ्दो सुरक्षा गठबन्धन, आर्थिक रणनीति र समृद्धिका योजनाहरूले नेपालको कूटनीतिक चातुर्यको परीक्षा लिइरहेका छन्। यस्ता संवेदनशील घडीमा पृथ्वीनारायण शाहको नीति — “आफ्नो स्वार्थ हेरेर, राष्ट्रलाई हानि नहुने गरी निर्णय लिनु” — आजको आवश्यकतम् सन्दर्भ हो।
विगत केही दशकयता नेपालको परराष्ट्र नीतिमा अस्थिरता, दोधार, र बाह्य चापमा आधारित निर्णयहरू प्रस्ट देखिन थालेका छन्। स्थायी रणनीति वा शक्ति सन्तुलनको नीति भन्दा पनि तत्कालीन सत्ताको स्वार्थ, अस्थिर नेतृत्व, र वैदेशिक दबाबका कारण कूटनीतिक निर्णयहरू प्रभावित भएका छन्। विशेषतः विदेशसँग भएका ठूला सम्झौताहरू, सहायता, ऋण, परियोजना छनोट वा सुरक्षा सहकार्यका सन्दर्भमा दीर्घकालीन राष्ट्रहितभन्दा अल्पकालीन लाभ हेर्ने प्रवृत्तिले नेपालको कूटनीतिक दृष्टिकोणलाई कमजोर बनाएको छ।
नेपालको बेल्ट एण्ड रोड इनिसिएटिभमा सहभागिता, मिलेनियम च्यालेन्ज कर्पोरेशन सम्झौता, दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा नेतृत्व, असंलग्न आन्दोलनमा योगदान, वा आप्रवासी श्रमिकसम्बन्धी श्रम सम्झौताजस्ता ठूला कूटनीतिक विषयहरूमा नेपालले स्पष्ट, दीर्घकालीन र एकीकृत रणनीति बनाउन सकेको देखिँदैन। सत्ता परिवर्तनसँगै परराष्ट्र नीतिमा आउने उतार–चढावले नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयता कमजोर बनाएको छ। दुःखद त के छ भने, एउटै राजनीतिक पार्टीका नेताहरूबीच पनि राष्ट्रहित विपरीत विदेश नीति–सम्बन्धी दृष्टिकोण र झुकाव पूर्ण रूपमा विपरित ध्रुवमा देखिनु देशको कूटनीतिक भविष्यका लागि चिन्ताजनक संकेत हो।
राष्ट्रनिर्माणका सन्दर्भमा, पृथ्वीनारायण शाहले भन्नुभएको थियो — “देशलाई यस्तो बनाऊ कि आफ्नै भरमा बाँच्न सकियोस्।” कूटनीतिक दृष्टिमा यसको अर्थ हो — नेपाल विदेशी सहायता वा हस्तक्षेपमा अत्यधिक निर्भर नहोस्, आफ्ना निर्णयहरू स्वाधीन रूपमा लिन सकोस्, र राष्ट्रिय स्वाधीनताको मूल्यमा कहिल्यै सम्झौता नगरोस्। आज नेपालले वैदेशिक ऋण, सहायता र लगानीको नाममा आफ्नो नीति–निर्माण स्वतन्त्रता गुमाउने खतरा मोलिइरहेको देखिन्छ। नेपालमा कायम रहेको आन्तरिक कलह, राजनीतिक विभाजन, र विदेशी हस्तक्षेपको स्वीकारोक्ति केवल कूटनीतिक हैसियतलाई मात्र होइन, दीर्घकालीन रणनीतिक सार्वभौमिकतालाई समेत गम्भीर संकटमा पार्ने खतरामा छ।
अर्को ठाउँमा राष्ट्रनिर्माताले स्पष्ट रूपमा भन्नुभएको छ — “नेताहरूमा दृढ नीति, निष्ठा र सामूहिक चेतना नहुन्जेल राष्ट्र बलियो बन्न सक्दैन।” यस विचारले परराष्ट्र नीति पनि साझा राष्ट्रिय नीति बन्नुपर्छ भन्ने स्पष्ट सन्देश दिन्छ — जुन सत्ता परिवर्तनको प्रभावबाट मुक्त, दीर्घकालीन, व्यावसायिक र राष्ट्रिय हित–केन्द्रित हुनुपर्छ।
नेपालले अब ‘रिएक्टिभ’ होइन, ‘प्रोएक्टिभ डिप्लोमेसी’ अभ्यास गर्नुपर्छ। पृथ्वीनारायण शाह केवल शक्तिशाली राजा मात्र नभई रणनीतिक सूझबुझ भएका कुशल कूटनीतिज्ञ पनि थिए। गोर्खाली राज्य विस्तारको क्रममा उहाँले सन्देश, वार्ता, गठबन्धनजस्ता उपायमार्फत विश्वासको वातावरण निर्माण गर्नुका साथै सैन्य रणनीतिमा साम, दाम, दण्ड र भेद — चारै उपायको सन्तुलित प्रयोग गर्नुभयो। मल्लराजाहरूबीच फुट ल्याएर कूटनीतिक लाभ उठाउनुभयो; कतिपय राजालाई फकाउनुभयो, कतिसँग गुप्त वार्ताहरू गर्नुभयो। उहाँका ती बहुपक्षीय रणनीतिक चातुर्यहरू आजको जटिल बहुध्रुवीय अन्तर्राष्ट्रिय कूटनीतिमा समेत नेपालको लागि उत्तिकै आवश्यक छन्।
त्यस्तै, राजा महेन्द्रको शासनकालमा शीतयुद्धको समयमा अमेरिका, सोभियत संघ, भारत, बेलायत र चीन जस्ता परस्पर प्रतिद्वन्द्वी शक्तिहरूसँग नेपालले एकैसाथ समानान्तर सम्बन्ध कायम राख्न सफल भयो। महेन्द्र राजमार्ग निर्माणमा अमेरिका, सोभियत संघ, बेलायत र भारतको सहयोग, अरनिको राजमार्गमा चीनको र त्रिभुवन राजपथ निर्माणमा भारतको सहयोग नेपालको बहुपक्षीय कूटनीतिक सफलता थिए। राजा विरेन्द्रद्वारा प्रस्तावित ‘शान्ति क्षेत्र’ अवधारणाले अन्तर्राष्ट्रिय मान्यताको उच्च स्तर प्राप्त गर्न सकेन होला, तर त्यसले तत्कालीन परिस्थितिमा नेपालको स्वतन्त्रता र स्वाधीनताका पक्षमा एउटा अमूल्य राजनीतिक र कुटनीतिक हस्तक्षेपको काम गर्यो।
यसका विषयमा छुट्टै श्रृङ्खलामा छलफल गर्नु वाञ्छनीय हुन्छ। राजा वीरेन्द्रको शान्तिक्षेत्र प्रस्ताव हाम्रा छिमेकीहरूको तुलनामा सानो राष्ट्रका रूपमा रहेको नेपालका लागि ‘न त इन्डिया तर्फ, न चाइना तर्फ’ भन्ने पृथ्वीनारायण शाहकै दृष्टिकोणको आधुनिक प्रतिरूप थियो। तटस्थ नेपालको अवधारणालाई दक्षिण, उत्तर र पश्चिमका राष्ट्रहरूलाई विश्वासमा लिएर स्थापित गर्दै बहुपक्षीय कूटनीतिमा नेपालको उपस्थितिलाई सशक्त बनाउने प्रयास अहिलेको परिवेशमा झनै सान्दर्भिक देखिन्छ।
नेपालले संयुक्त राष्ट्रसंघ, बिमस्टेक, सार्क, जि–७७, वर्ल्ड ट्रेड अर्गनाइजेसन लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूमा आफ्नो सक्रिय, सम्मानजनक र प्रभावकारी उपस्थिति विस्तार गर्नु, राष्ट्रको छवि मजबुत पार्नु, र अन्तर्राष्ट्रिय मञ्चहरूमा राष्ट्रहितको पक्षमा सशक्त र स्पष्ट आवाज बुलन्द गर्नु नै पृथ्वीपथको आधुनिक व्याख्या बन्न सक्छ। कूटनीतिक रूपमा नेपाल अदृश्य जस्तै भइरहेको वर्तमान सन्दर्भमा, आयोजित ‘सगरमाथा संवाद’ जस्ता विश्व प्राथमिकताका विषयमा केन्द्रित पहलहरू तथा ‘काठमाडौँ घोषणापत्र’ ले नेपालको अन्तर्राष्ट्रिय छवि सुधार गर्न र नेपालप्रतिको वैदेशिक विश्वास निर्माणमा सहयोग पुर्याउन सक्छ।
पृथ्वीपथको कूटनीतिक दर्शनलाई गहिरो रूपमा बुझेर कार्यान्वयनमा ल्याउन सकियो भने, यो आजको नेपालका लागि केवल वैदेशिक सम्बन्धको विषय मात्र होइन — आधुनिक कूटनीतिमा राष्ट्रको सुरक्षाको ढाल, आर्थिक समृद्धिको ढोका, र सार्वभौमिकताको संरक्षक बन्न सक्छ। त्यसैले आजको जटिल अन्तर्राष्ट्रिय परिवेशमा नेपालले आफूलाई सशक्त, दूरदर्शी र राष्ट्रहित–केन्द्रित कूटनीतिक हैसियतमा रूपान्तरण गर्नु अब अपरिहार्य भइसकेको छ।
साथै, नेपालस्थित विदेशी कूटनीतिक नियोगहरूसँगको सम्बन्धमा अब ‘एड–ड्रिभन डिप्लोमेसी’ होइन, ‘इन्टरेस्ट–ड्रिभन डिप्लोमेसी’ को अभ्यास गर्नु आजको अनिवार्य कूटनीतिक आवश्यकता हो। विगतमा अनुदान, ऋण वा सहायता कार्यक्रमहरूमा अत्यधिक निर्भर भएर विदेशसँग सम्बन्ध राख्ने प्रवृत्तिले नेपालको कूटनीतिक हैसियतलाई कमजोर बनाएको थियो। अब भने यस्ता सम्बन्धहरू सुदृढ पार्न राष्ट्रहित–केन्द्रित दृष्टिकोणबाट हरेक निर्णय लिन जरुरी भइसकेको छ। यस सन्दर्भमा पृथ्वीनारायण शाहको दिव्य उपदेश — “राष्ट्र त्यागे पनि देश धर्म नत्याग्ने, मित्रता त्यागे पनि स्वार्थ नत्याग्ने” — सधैं स्मरणीय हुनुपर्छ। यो भनाइले राष्ट्रको दीर्घकालीन हितलाई व्यक्तिगत वा तत्कालीन सम्बन्धभन्दा माथि राख्नुपर्ने शिक्षा दिन्छ। आजको जटिल भू–राजनीतिक परिस्थितिमा यस्ता मूल्यमान्यताले मात्रै नेपालको कूटनीतिक स्वतन्त्रता र सन्तुलन कायम राख्न सक्नेछ।

अर्को महत्वपूर्ण पक्ष असंलग्नताको हो। नेपालले १९५५ मा संयुक्त राष्ट्रसंघमा प्रवेश गरेपछि विशेषतः ‘असंपृक्त’ परराष्ट्र नीतिको पक्षमा उभिएको देखिन्छ। तर पृथ्वीनारायण शाहको दर्शनमा असंलग्नता कुनै विचारधारामूलक नाराजस्तो होइन, बरु आवश्यकता–आधारित रणनीतिक व्यावहारिकता हो। उहाँले स्पष्ट रूपमा ‘छिमेकीसँग शत्रुता नगर, तर देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नदिनू’ भन्ने सन्देश दिनुभएको छ। तटस्थ नेपालको अवधारणालाई पनि यही परिप्रेक्ष्यमा बुझ्न आवश्यक छ।
कूटनीतिक रूपमा, असंलग्नता भनेको शक्तिसँग मित्रता गर्ने, तर आत्मसमर्पण नगर्ने; सहयोग लिन सकिने, तर हस्तक्षेप स्वीकार नगर्ने सन्तुलित नीति हो। यही असंलग्नता आजको नेपालले पुनः आत्मसात् गर्न अत्यन्त जरुरी छ — राष्ट्रहित र स्वाभिमानको जगमा आधारित असंलग्नता। तर व्यवहारमा नेपालले यो नीति कति आत्मसात् गरेको छ भन्ने प्रश्न विचारणीय छ। कतिपय अवस्थामा हामीले यो नीति लचिलो बनाएको देखिन्छ, विशेषतः वैदेशिक दबाब, गठबन्धनको मोह, र सहायता प्राप्तिको प्रलोभनका कारण। पृथ्वीनारायण शाहले देखाउनु भएको असंलग्नता भनेको स्वतन्त्र विचार र राष्ट्रिय हितमा आधारित स्वाभिमानी कूटनीति हो — जसमा लचकता होइन, स्पष्टता र दृढता अनिवार्य हुन्छ। यी पक्षहरूमा लचकता भनेको देशलाइ कमजोर बनाउनु हो।
नेपालको कूटनीति आजको युगमा आर्थिक कूटनीतितर्फ उन्मुख हुँदै गएको छ, जुन सकारात्मक संकेत हो। तर आर्थिक सम्बन्धको विस्तार केवल व्यापारिक लाभमा सीमित हुनुहुँदैन; यो दीर्घकालीन राष्ट्रहित, आत्मनिर्भरता र स्वाभिमानसँग सुसम्बद्ध हुनु अनिवार्य छ। यही कुरा पृथ्वीनारायण शाहले सयौं वर्षअघि नै संकेत गरिसक्नुभएको थियो — “देश बिग्रनु भनेको विदेशी भर पर्नु हो।” यो कथन केवल चेतावनी मात्र होइन, आत्मनिर्भर कूटनीतिका लागि एक गम्भीर मार्गदर्शन हो। वास्तवमा, आत्मनिर्भर कूटनीति नै दीर्घकालीन राष्ट्रिय हितको मेरुदण्ड हो।
राष्ट्रनिर्माताले विदेशी सम्बन्धहरूलाई निषेध गर्नुभएको थिएन; उहाँले ती सम्बन्धहरू राष्ट्रको स्वार्थअनुकूल, विवेकपूर्ण र दूरदर्शी हुनुपर्छ भन्नेमा जोड दिनुभएको थियो। तर आजको अवस्थामा परराष्ट्र सम्बन्धमा अचारसंहिता र पारदर्शिताको अभावका कारण हामी कूटनीतिक रूपमा अबोध र लाचार देखिन थालेका छौं। नेपाल भारत, चीन, अमेरिका, युरोपेली संघ लगायतका शक्तिराष्ट्रहरूसँग बहुआयामिक सम्बन्ध विस्तार गरिरहेकै बेला ‘स्मार्ट ब्यालेन्सिङ’ — अर्थात् सन्तुलित, सूक्ष्म र दूरदर्शी कूटनीतिक सोच — अनिवार्य बन्दै गएको छ। यस्तो संवेदनशील घडीमा “देश र काल हेरी नीति गर्नू” भन्ने पृथ्वीनारायण शाहको कूटनीतिक सूत्र आजको नेपालको लागि अत्यन्त सान्दर्भिक मार्गदर्शन बन्न सक्छ।
कूटनीति कुनै एक मन्त्रालय वा पदको विषय मात्र होइन; यो सम्पूर्ण राष्ट्रको अस्तित्व, स्वाधीनता र गरिमासँग प्रत्यक्ष गाँसिएको विषय हो। त्यसैले नेपालको परराष्ट्र नीति कुनै बाह्य दबाब, मोह वा तत्कालीन प्रलोभनमा आधारित होइन, राष्ट्रहितलाई मूल दृष्टिमा राखी तय गरिनुपर्छ। दुर्भाग्यवश, राजदूतहरूको नियुक्ति पछाडिका फोहोरी खेल र त्यसमा निहित स्वार्थले नेपालको कूटनीतिक क्षमता नै कमजोर पारिरहेको छ। आज नियुक्त गरिएका धेरै राजदूतहरूमा आवश्यक इच्छा, दृष्टि र कूटनीतिक सक्रियता (प्रोएक्टिभ डिप्लोमेसि) को अभाव देखिन्छ, जसले दीर्घकालीन रूपमा राष्ट्रलाई क्षति पुर्याउने सम्भावना छ। यो समस्याको समाधान निर्मम चिरफार र प्रणालीगत सुधारबाट मात्र सम्भव छ, भावुक विश्लेषणबाट होइन। यही हो पृथ्वीपथ — जसले राष्ट्रलाई भौगोलिक रूपमा सानो भए तापनि नीतिमा दृढ, निर्णयमा आत्मविश्वासी, र राष्ट्रिय गौरवमा समर्पित बनाउने मार्ग देखाउँछ।
आजको युगमा जलस्रोत, व्यापारमार्ग, प्रविधि, सुरक्षा र भूराजनीतिक महत्त्वका कारण नेपालजस्ता मुलुकहरू शक्तिराष्ट्रहरूको प्रभाव–युद्धको केन्द्रबिन्दु बन्दै गएका छन्। यस्ता संवेदनशील घडीमा पृथ्वीनारायण शाहको दिव्योपदेश — “मित्रता गर, तर तिराउन नदेऊ” — झन् सान्दर्भिक बन्दै गएको छ। उहाँले देखाउनुभएको स्वाधीन, आत्मनिर्भर, सन्तुलित र सजग कूटनीति नै आजको नेपालले आत्मसात् गर्नुपर्ने पृथ्वीपथको मूल दृष्टिकोण हो।
पृथ्वीपथले नेपालको कूटनीति केवल परराष्ट्र मन्त्रालयमा सीमित नराखी, राष्ट्रिय चेतना र सामूहिक जिम्मेवारीको विषय बनाउँछ। जब नेपाली नागरिक, नेताहरू, कूटनीतिज्ञ र राज्य संयन्त्र एउटै दिशामा सोच्न थाल्छन्, त्यत्तिबेला मात्र नेपालले आत्मसम्मानसहितको सन्तुलित कूटनीतिक मार्गमा अघि बढ्न सक्छ — ठीक त्यस्तै, जसरी पृथ्वीनारायण शाहले देखाउनुभएको थियो।
नेपालको आधुनिक कूटनीति अब पृथ्वीपथमा आधारित नेपाली कूटनीति हुनुपर्छ। पृथ्वीनारायण शाहको चेतावनी आजको सन्दर्भमा यस्तो गहिरो सन्देश दिन्छ — सिमानाको रक्षा केवल सेना र सुरक्षाकर्मीले होइन, दूरदर्शी र सक्षम कूटनीतिको अभ्यासले पनि हुन्छ। सन्धि केवल हस्ताक्षरको प्रक्रिया होइन, साझा हित र शक्ति–सन्तुलनको प्रतिबिम्ब हुनुपर्छ। अनि मित्रता केवल परम्परागत सम्बन्ध होइन, आत्म–सम्मान, समानता र पारस्परिक हितमा आधारित सहकार्य हुनुपर्छ।
राजनीतिक स्थायित्व सुनिश्चित गर्दै, राष्ट्रिय सहमतिमा आधारित साझा परराष्ट्र रणनीति तयार गरी त्यसलाई कार्यान्वयन गर्नु आजको अपरिहार्य आवश्यकता हो। कूटनीतिक नियुक्ति राजनीतिक भागबन्डाको आधारमा होइन, दक्षता, अनुभव, पेशागत तालिम, नीति संवाद र मूल्याङ्कन प्रणालीमा आधारित हुनुपर्छ। यस्ता राष्ट्रहित–केन्द्रित कूटनीतिज्ञहरूकै माध्यमबाट मात्र परराष्ट्र रणनीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिन्छ।
अन्ततः, नेपालको कूटनीति अब केवल प्रतिक्रियात्मक होइन, रणनीतिक हुनुपर्छ — जहाँ राष्ट्रको स्वाभिमान, दीर्घकालीन हित र भू–रणनीतिक हैसियत सुरक्षित रहन सकोस्। पृथ्वीपथको यात्राले नेपाललाई ऐतिहासिक गौरवको अलावा भोलिको अन्तर्राष्ट्रिय प्रतिष्ठा पनि दिलाउन सक्छ।
पृथ्वीनारायण शाहको वाणीमा समेटिएको कूटनीतिक दृष्टिकोण आज पनि नेपालका हरेक नीति–निर्माताका लागि एक गहिरो प्रेरणा बन्न सक्छ। राष्ट्रनिर्माणमा समर्पित त्यो नेतृत्वशैली विगतको मात्र होइन, वर्तमानको आवश्यकता र भविष्यको दिशानिर्देशक समेत हो। पृथ्वीपथ आजको जटिल कूटनीतिक परिवेशमा राष्ट्रहित, स्वाभिमान, समन्वय, संयमता र स्थायित्वको शाश्वत मन्त्र हो — जुन मार्गमा हिँड्न सक्नु नै सानो राष्ट्रका लागि एक महान विजय हुनेछ।
यो पनि
पृथ्वीपथ र नेपाली स्वाभिमानको पुनर्जागरण
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।