कृषिमन्त्री खनाल र राजदूत नाक्बीबीच शिष्टाचार भेट

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल र नेपालका लागि युएईका राजदूत सइद हम्दान अल नाक्बीबीच शिष्टाचार भेट भएको छ । राजदूत नाक्बीसँगको सो भेटमा मन्त्री खनालले संयुक्त अरब इमिरेट्स (युएई)को आवश्यकताअनुसारका कृषि उपज उत्पादनमा जोड दिएर निर्यात गर्न चाहेको बताए ।

युएईलाई  प्राथमिकता निर्धारण गर्न आग्रह गर्दै मन्त्री खनालले त्यसका लागि नेपालले व्यावसायिक उत्पादन सुरु गर्ने बताए । नेपालले अर्गानिक कफी, अलैँची, गुणस्तरीय चिया, अदुवालगायत कृषि उपज निर्यात गर्न सक्ने उल्लेख गर्दै मन्त्री खनालले यसले दुई देशको व्यापारिक र पारस्परिक सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गरे ।

राजदूत नाक्बीले युएईले अधिकांश खाद्य पदार्थ चीन, भारत, पाकिस्तानलगायत मुलुकबाट आयात गर्ने गरेको भन्दै नेपाल पनि उपयुक्त मुलुक हुन सक्ने बताए । चिया, कफी र पानी नेपालबाट युएई आयात गर्न सकिने राजदूतको भनाइ थियो । 

नेपालका केही कृषि उपजलाई भारतले आफ्नो ट्याग लगाएर युएई निर्यात गर्ने गरेको भन्दै राजदूत नाक्बीले नेपाल आफैँले निर्यात गर्न सक्ने सुझाब । त्यसका लागि नेपालले ब्रान्डिङ, लेबलिङ र प्याकेजिङमा ध्यान दिनुपर्ने उनको सुझाब थियो । 

भेटका क्रममा राजदूत नाक्बीले युएईले पानीको समस्या खेपिरहेको बताए । युएईले अहिले १४ वटा कम्पनीमार्फत समुद्रको पानी शुद्धीकरण गरेर उपयोग गरिरहेको उनले जानकारी गराए । 





  • प्रकाशित मिति : जेठ १७, २०७६ शुक्रबार १५:०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया