१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

नेपालको युके टुर सफल, स्कटल्याण्डमा हुनेछ असली परीक्षा
कमजोर प्रतिद्वन्द्वीहरूविरुद्ध जित, अब कडा टिमसँग परीक्षण

आइसिसी विश्वकप लिग–२ सिरिजको अभ्यासका लागि बेलायत भ्रमणमा रहेको नेपालले अपेक्षाअनुसार नतिजा निकाल्यो । त्यहाँका विभिन्न क्लबसँग खेलिएको पाँचवटै म्याचमा नेपालले जित दर्ता गरेको हो ।  


नेपालले कार्डिभ विश्व विद्यालयको न्यू पोर्ट क्लबलाई तीन विकेटले हराउँदै बेलायत भ्रमणको सुरुवात गरेको थियो । त्यस खेलमा नेपालको जितमा गुलशनकुमार झा र आरिफ शेखले उत्कृष्ट ब्याटिङ गरे ।



न्यू पोर्ट क्लबविरुद्धको एकदिवसीय अभ्यास खेलमा गुलशनले ८० तथा आरिफले ७२ रनको पारी खेले । त्यस खेलमा बलिङमा कुशल भुर्तेलले सर्वाधिक चार विकेट लिए । 



दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपालको भेट मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) सँग भयो । उक्त खेलमा नेपालले एमसिसीविरुद्ध १२३ रनको जित निकाल्यो । त्यस खेलमा दीपेन्द्र सिंह ऐरी र भीम सार्कीले शतकीय पारी खेले ।

तेस्रो र चौथो अभ्यास खेलमा नेपालले ग्लोसेस्टरशायर क्लबलाई क्रमशः ७३ रन र ५ विकेटले हरायो । चौथो अभ्यास खेलमा आसिफ शेखले ४२ बलमा ८४ रनको पारी खेल्दै लयमा फर्किएको संकेत देखाए । 

नेपालले बेलायत भ्रमणअन्तर्गत अन्तिम खेलमा सोमबार राति ग्लामोर्गन क्लबलाई ५० रनले हरायो । यस खेलमा भीम सार्कीले ९२ तथा कप्तान रोहितकुमार पौडेलले ६१ रनको इनिङ खेले ।



बलिङमा कुशल भुर्तेलले सर्वाधिक चार विकेट लिए । समग्रमा नेपाली टिमका लागि बेलायत भ्रमण सफल रह्यो । यद्यपि कमजोर क्लबसँग अभ्यास गराएको भन्दै समर्थकले क्यान र प्रशिक्षकको आलोचना गर्न बाँकी राखेनन् ।

यथार्थमा पनि नेपालविरुद्ध खेलेका क्लब कमजोर नै देखिए । नामका हिसाबले भने यी क्लब नयाँ होइनन् । यसपालि ती क्लबले नेपालविरुद्ध खेलाउँदा अधिकांश दोस्रो रोजाइका खेलाडीलाई प्राथमिकता दिए ।

प्रमुख खेलाडीहरू घरेलु प्रतियोगिता काउन्टी च्याम्पियनसिपमा व्यस्त भएका कारण इंग्लिस क्लबहरूले नेपालसँगको खेलमा दोस्रो रोजाइका प्लेयरलाई मैदान उतारेको हो । र, त्यसको फाइदा उठाउँदै नेपालले लगातार पाँच खेलमा जित निकाल्यो । 

टोली बेलायतबाटै स्कटल्याण्ड 

अब नेपाली टिमको असली परीक्षा स्कटल्याण्डमा हुनेछ । त्यहाँ नेपालले लिग–२ को महत्वपूर्ण श्रृंखला खेल्नेछ । सिरिजमा नेपालको प्रतिद्वन्द्वी हुने छन्, एसोसियटतर्फका सर्वाधिक बलियो टोली स्कटल्याण्ड र नेदरल्याण्ड्स । सिरिजमा नेपालले २ र ८ जुनमा स्कटल्याण्ड तथा ४ र १० जुनमा नेदरल्याण्ड्सको सामना गर्नेछ । 

अंक तालिकामा अहिले नेदरल्याण्ड्स र स्कटल्याण्ड नेपालभन्दा माथि छन् । नेदरल्याण्ड्सले २० म्याच खेल्दासम्म १२ मा जित, ६ मा हार तथा दुई खेलमा अंक बाँडेको छ । ऊ २६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।  

यस्तै, चौथो स्थानमा रहेको स्कटल्याण्डले १६ खेल खेल्दा ९ मा जित, पाँचमा हार तथा दुई खेलमा अंक बाँडेको छ । तालिकाको आठौँ स्थानमा रहेको नेपालले १२ म्याच खेल्दा आठमा हार, दुईमा जित र दुई खेलमा वर्षाका कारण अंक बाँडेको छ । २४ म्याच खेल्न बाँकी रहेको नेपालसँग अहिले ६ अंक मात्र छ । 

नेपाली टोली अहिले संवेदनशील मोडमा पुगेको छ- जहाँ जितको संख्या मात्र होइन, आत्मविश्वास, लय र योजनाबद्ध रणनीति पनि टोलीलाई आवश्यक छ । बेलायतमा लगातार पाँच जित हासिल गरेपछि टोलीको मनोबल त बलियो भएको छ । तर, मुख्य चुनौती अझै बाँकी छ । अबको स्कटल्याण्ड भ्रमणले नेपाल लिग–२ मा माथि उठ्ने कि झन् पछि पर्ने भन्ने तय गर्नेछ ।

  • प्रकाशित मिति : १३ जेठ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया