२९ पुस, २०८२ मंगलबार
Jan. 13, 2026

अध्ययनका लागि विदेश जाँदै हुनुहुन्छ ? कन्सल्टेन्सी छान्दा नबिर्सिनुहाेस् ६ कुरा

कुनै समय थियो, जब उच्च शिक्षाका लागि विद्यार्थीहरू देशभरका गाउँ–शहरबाट काठमाडौं वा केही ठूला शहरतर्फ ओइरिन्थे । राजधानीका विश्वविद्यालय र क्याम्पसहरू नै उत्कृष्ट शिक्षाको केन्द्र ठानिन्थे । तर, समयसँगै शिक्षा खोज्ने दृष्टिकोण र गन्तव्य पनि फेरिँदै गएको छ ।

आजको पुस्ताले मात्र देशभित्र सीमित भएर होइन, विश्वभर फैलिएका उत्कृष्ट विश्वविद्यालयहरूमध्ये आफूका लागि उपयुक्त विकल्प छान्न थालेका छन् । अब उच्च शिक्षाको अर्थ देशभित्रको उपाधि मात्र होइन, गुणस्तरीय, व्यावहारिक र अन्तर्राष्ट्रियरूपमा मान्यता प्राप्त शिक्षा पनि हो ।



पछिल्लो समय विदेश जाने नेपाली विद्यार्थीको संख्या तीव्र गतिमा बढ्दो छ । केही दशकअघिसम्म धनी र शहरी वर्गले मात्रै यस्तो अवसर पाउँथे, अहिले भने मध्यम वर्गका परिवारका युवाहरू पनि विदेशिन थालेका छन् । उनीहरू उज्यालो भविष्य, गुणस्तरीय शिक्षा र अन्तर्राष्ट्रिय एक्सपोजरको खोजीमा घर, परिवार र देश छाडेर विदेशिएका छन् ।

विदेशमा अध्ययन गर्नु आफैंमा सकारात्मक अवसर हो । नयाँ परिवेश, नयाँ सोच र गहन ज्ञान प्राप्त गर्ने थलो हो– विदेशी विश्वविद्यालय । तर, यो अवसरको मोहमा हतारिँदा वा पर्याप्त तयारी नगर्दा विद्यार्थीहरू जटिल समस्यामा फस्ने गरेको यथार्थ पनि छ ।



विदेश जाने विद्यार्थीको संख्या बढेसँगै विद्यार्थीलाई सहायता गर्ने शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) पनि राम्रै संख्यामा खुलेका छन् । तर, बजारमा वैधभन्दा अवैध संस्थाको हालिमुहाली बढ्दो छ । विद्यार्थीहरूले पनि विदेश जाने हतारमा कस्तो कन्सल्टेन्सीमार्फत विदेश जाने सपना तय गरिरहेको छु भन्ने कुरा ख्याल नगर्दा ठगिने गरेका छन् । अझ भनौँ प्रलोभनमा पारेर विद्यार्थीलाई अनावश्यक दुःख दिने काम भइरहेको छ ।

उच्च शिक्षा अध्ययन गर्न जाने तयारीमा रहेका विद्यार्थीको पहिलो खुड्किलो नै शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) छनोट गर्ने हो । सुरुको चयन नै राम्रो गर्न सकनौँ भने त्यसपछिका प्रक्रिया लथालिङ्ग हुन्छन् र विदेश जाने सपना अधुरै रहन सक्छ । त्यसैले विदेश जाने तयारी गरेका विद्यार्थीले सबैभन्दा पहिला कन्सल्टेन्सी छनोटमा विशेष ध्यान दिनुपर्छ ।

सडकमा बसेर विभिन्न प्रलोभनसहितका पर्चा बाँड्दै विद्यार्थीलाई प्रलोभन देखाइरहेका हुन्छन् । त्यसरी सडक, होटलमा भेटिनेलाई विश्वास नगर्दा नै राम्रो हुन्छ । त्यस्ता झुटा वाचाहरूबाट टाढै रहँदा उपयुक्त हुन्छ । विश्वसनीय, अनुभवी र नाम चलेका परामर्शदातासँग काम गर्दा उपयुक्त हुन्छ ।

पछिल्लो समय अवैध कन्सल्टेन्सीको बिगबिगी रहेकाले अहिले सही र वैध कन्सल्टेन्सी छनोट गरिएन भने विद्यार्थीको विदेश जाने सपना अधुरो त हुनसक्छ नै अभिभावकको लगानी पनि डुब्न सक्छ । त्यसैले विदेश जाने विद्यार्थीले सबैभन्दा पहिला कन्सल्टेन्सी छनोटमै विशेष ध्यान पुर्याउन आवश्यक छ । सोही कारण आज यो आलेखमार्फत विदेश जाने योजना बनाएका तर कसरी सही कन्सल्टेन्सी छनोट गर्ने भन्नेबारे जानकारी नभएका विद्यार्थीलाई सहज र सजग बनाउने प्रयास गरिएको छ । कन्सल्टेन्सी छनोट गर्दा ध्यान पुर्याउनुपर्ने विशेष ६ वटा जानकारीमूलक बुँदा प्रस्तुत गरिएको छ, जसले विद्यार्थीलाई मात्र नभएर अभिभावकलाई समेत सचेत र सजग बनाउनेछ ।



कन्सल्टेन्सीको स्वीकृति

यदि तपाईं कन्सल्टेन्सीमा बुझ्न जाँदै हुनुहुन्छ भने सबैभन्दा पहिला उक्त कन्सल्टेन्सी वैध छ वा छैन भन्ने कुरा थाहा पाउनुपर्छ । नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृति प्राप्त कन्सल्टेन्सीबाट मात्रै विद्यार्थीले विदेशको यात्रा तय गर्नुपर्छ ।

हरेक विद्यार्थीले संस्थाले मन्त्रालयबाट स्वीकृति प्राप्त गरेको पत्र हेर्न पाउने अधिकारको प्रावधान छ । संस्थाले स्वीकृतिपत्र सबैले देख्ने स्थानमा राख्नुपर्छ । यदि नदेखिएको खण्डमा हरेक विद्यार्थीले मागेर हेर्न सक्छन् त्यो विद्यार्थीको अधिकार पनि हो ।

आधिकारिक स्वीकृति भनेको वास्तविक जवाफदेहिता र विश्वसनीय सेवा पनि हो । त्यसैले तपाईंले कन्सल्टेन्सीलाई मन्त्रालयबाट स्वीकृति लिएको पत्र देखाउन आग्रह गर्न सक्नुहुन्छ । यदि कन्सल्टेन्सीले स्वीकृतिपत्र सहजै देखायो भने उक्त संस्थाबाट प्रक्रिया बढाउन सक्नुहुन्छ । तर, पत्र देखाउन आनाकानी गर्‍याे भने त्यस्तो कन्सल्टेन्सीबाट प्रक्रिया अघि नबढाउँदा नै उपयुक्त हुन्छ ।

शिक्षा मन्त्रालयले पनि बारम्बार सूचना प्रकाशन गरेर आधिकारिक एवं स्वीकृति प्राप्त कन्सल्टेन्सीबाट मात्रै सेवा लिनु भन्दै विद्यार्थी र अभिभावकलाई सजग बनाउने काम गर्दै आइरहेको छ । त्यसैले यदि तपाईं वैध संस्थाबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जानुभयो र कुनै समस्यामा पर्नुभयो भने त्यसको जिम्मेवारी सरकारले पनि लिन्छ । तर, अवैध कन्सल्टेन्सीबाट जानुभयो र समस्यामा पर्नुभयो भने सरकारले त्यसको जिम्मेवारी नलिन सक्छ । त्यसैले कन्सल्टेन्सी छनोट गर्दा विद्यार्थी र अभिभावक दुवैले विशेष ध्यान पुर्याउन आवश्यक छ ।

अनुभवी र विश्वसनीय कन्सल्टेन्सी छनोट

कुनै पनि क्षेत्रमा जति धेरै काम गरिन्छ त्यसको बारेमा धेरै ज्ञान र अनुभव हासिल हुन्छ । शैक्षिक परामर्श क्षेत्र पनि त्यस्तै हो । अध्ययनका लागि विद्यार्थीलाई विदेश पठाउने कुरा प्राविधिक विषय भएकाले यहाँ पनि अनुभवी शैक्षिक परामर्श संस्थाको आवश्यक पर्छ । त्यसैले विद्यार्थीले कन्सल्टेन्सी छनोट गर्दा जहिले पनि यसै क्षेत्रमा लामो समयदेखि सक्रियरूपमा काम गर्दै आएका अनुभवी र विवादरहित कन्सल्टेन्सी छनोट गर्नुपर्छ ।  

अहिले बजारमा विभिन्न खालका कन्सल्टेन्सी सञ्चालनमा छन्, जसमध्ये अधिकाशं अवैध कन्सल्टेन्सी पाइलैपिच्छे भेटिन्छन् । शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त वैध कन्सल्टेन्सीको संख्या ९२४ वटा रहेको छन् । उनीहरूको विवरण शिक्षा मन्त्रालयका वेबसाइटमा गएर पनि हेर्न सकिन्छ भने शिक्षा मन्त्रालयको शैक्षिक परामर्श शाखामा सम्पर्क गरेर पनि जानकारी लिन सकिन्छ । नयाँ कन्सल्टेन्सीभन्दा पुराना कन्सल्टेन्सी बढी अनुभवी र विश्वासिला हुन्छन् । 

परामर्श क्षेत्रमै डेढ/दुई दशकदेखि काम गर्दै आएका कन्सल्टेन्सीहरू छनोट गर्दा राम्रो हुन्छ । त्यस्ता संस्थाले आफ्नो छुट्टै ब्राण्डभ्यालु बनाएका हुन्छन् । उनीहरूले आफ्नो संस्थाको शाख जोगाउन पनि गलत काम गर्दैनन् र अन्यको तुलनामा बढी विश्वास गर्न लायक हुन्छन् । शैक्षिक परार्मश क्षेत्रमै लामो अनुभव हासिल गरेका संस्थाबाट विदेश जाने प्रक्रिया अघिबढाउँदा ठगिने सम्भावना कम हुन्छ ।

इक्यान, आइरिन, नायरजस्ता शैक्षिक परामर्श संस्थाहरूका विभिन्न छाता संगठन छन् । ती संगठनमा आवद्ध संस्थाहरू छनोट गर्दा पनि विश्वसनीयतामा सहयोग पुग्छ ।

प्रलोभन देखाउने कन्सल्टेन्सीबाट टाढा बसौँ

उच्च शिक्षा अध्ययनका लागि विदेश जाने कुरा सामान्य होइन । त्यहाँ विद्यार्थीको भविष्यदेखि अभिभावकको लगानीसम्म जोडिएको हुन्छ । अहिले विदेश जाने प्रक्रियामा सानो सम्झौता अथवा हेलचेक्य्राइँ गर्दा परिवारमाथि नै संकट आइपर्न सक्छ । 

हामीले कहिलेकाही विदेश गएको केही समयमै विद्यार्थी डिपोर्ट भएका खबर वा विदेशमा अलपत्र परेको समाचार देख्छौँ/सुन्छौँ । कुनै विद्यार्थी समस्यामा त्यतिबेला पर्छ जतिबेला उसले काम गर्नेक्रममा कुनै सम्झौता वा हेलचेक्य्राइँ गर्छ । यदि कुनै कन्सल्टेन्सी वा व्यक्तिले सबै मिलाइदिन्छु भनेर लोभ्याउन खोज्दैछ भने त्यस्ता प्रलोभनबाट टाढैरहनुपर्छ । त्यस्तै कुनै कन्सल्टेन्सीले विश्वविद्यालयमा पठाउनुपर्छ भन्दै पैसा (फि) माग्न सक्छन् । त्यसरी कन्सल्टेन्सीले पैसा लिन मिल्दैन र दिनु पनि हुँदैन । विदेशका विश्वविद्यालयमा विभिन्न इन्टेकमा विद्यार्थी भर्ना लिन्छन् । कतिपय कन्सल्टेन्सीले छिटो पठाउने नाममा यो इन्टेकमा पठाइदिन्छु त्यसका लागि यति पैसा लाग्न भन्न सक्छन् त्यस्ता प्रलोभनमा पनि पर्नुहुँदैन । केही समय ढिला भएर केही हुँदैन । तर, हतार गर्दा समस्या हुन सक्छ । सबै प्रक्रिया बुझेर मात्र काम अघि बढ्नुपर्छ । विदेश जानुपूर्व गरिने सबै काम नियम संगत, कानुनभित्रै रहेर गर्नुपर्छ ।

कोही कसैले तपाईंको आवश्यक कागजात पुगेको छैन, फर्जी कागजात गराएर भए पनि विदेश पठाइदिन्छु भन्न सक्छन् । त्यस्ता कन्सल्टेन्सी वा व्यक्तिसँग सहकार्य गर्नु हुँदैन । भोलि गलत गरेको प्रमाणित भए सम्बन्धित देशबाट निकालिनु त पर्छ नै कानुनको भागिदार पनि बन्नुपर्छ । त्यसैले आफ्नो वास्तविकताभन्दा बाहिर गएर कुनै पनि काम गर्नु हुँदैन र कसैले त्यसो गर्न उक्साउँदै छ भने पनि बच्नुपर्छ ।

इन्टरनेटको सहयोगमा सबै कुरा थाहा पाउन सकिने भएकाले  आफूले अध्ययन गर्न जान चाहेको विश्वविद्यालयबारे इन्टरनेटमा खोज गर्न सकिन्छ । त्यसका साथै आफू जान लागेको देश, शहर, विश्वविद्यालय र त्यहाँको संस्कार तथा रहन–सहनबारे पनि बुझ्न सकिन्छ, जसले विद्यार्थीलाई त्यहाँ घुलमिल हुन सहज हुन्छ ।

कन्सल्टेन्सी मात्रै स्वीकृत प्राप्त भएर पनि हुँदैन । त्यहाँ कार्यरत परामर्शदाता (काउन्सलर) पनि योग्य हुनुपर्छ । उनीहरू सर्टिफाई छन् कि छैनन् । उनीहरूले दिएका सूचना सही छन् वा छैननलगायत विषयमा विद्यार्थीले क्रसचेक गर्न सक्नुपर्छ ।

पारदर्शिता

पारदर्शिता विश्वासको अर्काे आधार हो । जुन संस्था पारदर्शी हुन्छ त्यसलाई सहजै विश्वास गर्न सकिन्छ । त्यसैले पारदर्शी विचार र विवरण राख्ने खालका कन्सल्टेन्सी छनोट गर्नुपर्छ । विद्यार्थीले सेवा लिएबापत कति शुल्क तिर्नुपर्छ, भिसा प्रक्रियामा लाग्ने समयसीमा र अन्यलागतहरू स्पष्टरूपमा पारदर्र्शी ढंगले प्रस्तुत गर्ने कन्सल्टेन्सी छनोट गर्दा उपयुक्त हुन्छ । पहिले नै सबै कुरा प्रष्ट पारिदिए विद्यार्थीलाई पनि आफ्नो परिवारको आर्थिक क्षमता कति छ र कतिसम्मको खर्चमा परिवारले पठाउन सक्छ भन्ने कुरा थाहा पाउन सहज हुन्छ ।

गलत वाचाबाट बचौँ

अहिले विद्यार्थीलाई आफूतिर आकर्षित गर्न कन्सल्टेन्सीहरूले अनेक फन्डा गरिरहेको देखिन्छ । कुनै कन्सल्टेन्सीले भिसा दिने ग्यारेन्टी गरिरहेका हुन्छ त कतिले रोजगारीमा लगाइदिने प्रलोभन देखाइरहेका हुन्छन् । तर, त्यस्ता आश्वासन र बाचामा विद्यार्थीले भने विश्वास गर्नु हुँदैन ।

यदि कुनै कन्सल्टेन्सीले तपाईंलाई भिसा दिने ग्यारेन्टी दिन्छ र सबै कुरा आफैं मिलाइदिन्छु भन्छ भने त्यहाँ तपाईंले दुईपटक सोच्नुपर्छ । किनभने कसलाई भिसा दिने–नदिने भन्ने विषय नितान्त सम्बन्धित देशको दूतावासले तय गर्ने कुरा हो । अहिले त्यस्ता वाचा गर्नेहरू कन्सल्टेन्सीमा मात्र नभएर सडकमै पनि भेटिने गरेका छन् । सडकमा बसेर विभिन्न प्रलोभनसहितका पर्चा बाँड्दै विद्यार्थीलाई प्रलोभन देखाइरहेका हुन्छन् । त्यसरी सडक, होटलमा भेटिनेलाई विश्वास नगर्दा नै राम्रो हुन्छ । त्यस्ता झुटा वाचाहरूबाट टाढै रहँदा उपयुक्त हुन्छ । विश्वसनीय, अनुभवी र नाम चलेका परामर्शदातासँग काम गर्दा उपयुक्त हुन्छ ।

विश्वविद्यालय छनोट

उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीले सबैभन्दा पहिला ध्यान दिनुपर्ने कुरा– हो विश्वविद्यालय छनोट । आफू कुन विषय अध्ययन गर्न कस्तो विश्वविद्यालयमा जाँदैछु भन्ने कुरामा विद्यार्थी प्रष्ट हुनुपर्छ । त्यसपछि कन्सल्टेन्सीले आफूले अध्ययन गर्न जान चाहेको विश्वविद्यालयसँग सहकार्य गरिरहेको छ वा छैन, छ भने कति समयदेखि काम गरिरहेको छ त्यो सबै कुरा बुझ्नुपर्छ ।

विश्वका उत्कृष्ट विश्वविद्यालयमा अध्ययन गर्न जाँदा आफ्नो शैक्षिक प्रमाणपत्र र गुणस्तरताप्रतिको विश्वनीयता पनि अझ बढी हुन्छ । त्यसैले कन्सल्टेन्सीले कस्ता विश्वविद्यालयसँग सहकार्य गरिरहेको भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । इन्टरनेटको सहयोगमा सबै कुरा थाहा पाउन सकिने भएकाले  आफूले अध्ययन गर्न जान चाहेको विश्वविद्यालयबारे इन्टरनेटमा खोज गर्न सकिन्छ । त्यसका साथै आफू जान लागेको देश, शहर, विश्वविद्यालय र त्यहाँको सस्कार तथा रहन–सहनबारे पनि बुझन् सकिन्छ, जसले विद्यार्थीलाई त्यहाँ घुलमिल हुन सहज हुन्छ ।

(खड्का हब इन्टरनेशनल एजुकेशनकी सिईओ हुन्) 

  • प्रकाशित मिति : १४ जेठ, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया