१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

चलचित्रमा पुराना कलाकारको उत्साह, नयाँ पुस्तासँग प्रतिस्पर्धा
दुई पुस्ताको प्रतिस्पर्धा र सहकार्य

पछिल्लो समय नेपाली चलचित्र उद्योगमा नयाँ ऊर्जा, नयाँ सोच र प्रविधिको प्रभावले मनोरञ्जनको स्वरूपमा सकारात्मक परिवर्तन आएको छ । यहीबीचमा लामो समयसम्म स्क्रिनबाट टाढा रहेका पुराना कलाकार फेरि अभिनय क्षेत्रमा सक्रिय हुँदै पुनरागमन गरिरहेका छन् ।


नयाँ पुस्तासँग प्रतिस्पर्धा गर्दै यी पुराना अनुहारहरूले दर्शकमा नयाँ उत्साह र भरोसा जगाउने कोसिस गरिरहेका छन् । नेपाली चलचित्र क्षेत्रमा पुराना कलाकारको कमब्याकको यो प्रवृत्ति पछिल्ला केही वर्षदेखि देखिन थालेको हो ।



केही कलाकार अभिनयको क्षेत्रमा पुनः प्रवेश गरेका छन् भने केहीले निर्माण, निर्देशन र सामाजिक सन्देशमुखी फिल्महरूमा समेत सक्रियता देखाउन थालेका छन् । यसले पुरानो र नयाँ पुस्ताबीचको सहकार्यलाई बलियो बनाउँदै नेपाली चलचित्रलाई नयाँ रचनात्मक उचाइमा पुर्‍याउने अपेक्षा जगाएको छ ।



नेपाली चलचित्रमा कुनै बेला एकछत्र राज गरेका राजेश हमाल ‘नरसिंहा अवतार’ मार्फत ८ वर्षपछि पर्दामा फर्किएका छन् । महानायकको उपाधि पाएका हमालको यो कमब्याकले उनका प्रशंसकलाई उत्साहित तुल्याएको छ ।

उनलाई चलचित्र ‘वाग्मती’ र ‘सकुन्तला’ जस्ता असफल प्रोजेक्टपछिको अभिनय क्षेत्रमा फिर्तीको रूपमा हेरिएको छ । विगतमा विज्ञापन, मेला महोत्सव र टेलिभिजन कार्यक्रममा व्यस्त रहेका राजेश अब फिल्ममा पूर्णरूपमा फोकस गरेका छन् ।

त्यस्तै, अभिनेत्री विपना थापाले पनि लामो विश्रामपछि ‘ह्रस्वदीर्घ’ फिल्ममार्फत पुनः अभिनय यात्रा सुरु गरिन् । पारिवारिक कारणले केही समय अभिनयबाट टाढा भएकी उनी हाल भारतमा बसोबास गरिरहेकी छिन् ।



कुनै बेलाकी चर्चित अभिनेत्री रेजिना उप्रेती पनि ९ वर्षपछि ‘मोदीबेनी’ फिल्ममार्फत आफ्नो अभिनय जीवनमा पुनः फर्किइन् । शंकर कोइरालाको निर्देशनमा बनेको यस फिल्मले व्यावसायिक सफलता भने पाउन सकेन । तर, रेजिनाको फ्यानलाई उनको पुनरागमनले खुसी दिएको छ ।

अभिनेत्री ऋचा घिमिरे पनि एक दशकपछि ‘तेलभिसा’ फिल्ममार्फत पर्दामा फर्किएकी छन् । शंकर घिमिरेको निर्देशन तथा लेखनमा तयार भएको यस फिल्ममा ऋचाले अभिनयसँगै निर्माण कार्यमा पनि सक्रियता देखाएकी छिन् ।

चलचित्र क्षेत्रमा फर्किने अर्का अभिनेता हुन्, दिलिप रायमाझी । उनी ‘हेल्लो काशीराम’ मार्फत दर्शकसमक्ष पुनः उपस्थित हुन लागेका छन् । निखिल उप्रेतीले पनि आफ्नो निर्देशन र निर्माणमा केन्द्रित ‘आचार्य’ फिल्ममार्फत कमब्याक गर्दै छन् ।

यो फिल्ममा निखिल आफैं मुख्य भूमिकामा छन् भने उनकी पत्नी तथा अभिनेत्री सञ्चिता लुइँटेल पनि मुख्य भूमिकामा रहने छिन् । लामो समयपछि यो दम्पतीको सहकार्यले दर्शकहरूको उत्साह बढाएको छ । निखिलले दक्षिण भारतीय एक्सन कोरियोग्राफरसँग सहकार्य गरी फिल्मलाई प्रविधिमैत्री र दर्शकपरक बनाउने योजना पनि बनाएका छन् ।

गत वर्ष प्रदर्शित चलचित्र ‘१२ गाउँ’ ले अभिनेता विराज भट्टलाई नेपाली फिल्म उद्योगमा पुनः स्थापित गरायो । यो फिल्मले बक्स अफिसमा उल्लेखनीय सफलता प्राप्त गर्दै विराजको अभिनयलाई नयाँ उचाइमा पुर्यायो ।

नयाँ पुस्ताका कलाकारको आगमनसँगै पुराना कलाकारले आफ्नो स्थान पुनः स्थापित गर्ने प्रयासमा सक्रियता बढाएका छन् । यो दोहोरो प्रतिस्पर्धाले नेपाली चलचित्रलाई समृद्ध र बहुआयामिक बनाउने सम्भावना प्रकट गरेको छ ।

नयाँ पुस्ता र पुराना कलाकारबीच सहकार्यले मात्र होइन, अनुभव र नयाँ दृष्टिकोणको मिश्रणले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पनि उचाइमा पुर्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।  

  • प्रकाशित मिति : १४ जेठ, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया