१८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) को लिग चरण समापन भइसकेको छ । लिग चरणमा कुल ७० खेल भए, जहाँ धेरैजसो म्याचले अन्तिम ओभरसम्म नछोडिने उतारचढावपूर्ण क्षण बटुले ।
यस चरणको समापनसँगै चार उत्कृष्ट टिमले प्लेअफमा स्थान सुरक्षित गरेका छन् । आइपिएल २०२५ मा पञ्जाब किंग्स, रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी), गुजरात टाइटन्स र मुम्बई इण्डियन्सले प्लेअफ खेल्ने छन् ।
यीमध्ये पञ्जाब र आरसिबी ‘क्वालिफायर-वान’ मा तथा गुजरात र मुम्बई ‘एलिमिनेटर’ मा आमनेसामने हुनेछन् ।

यो सिजनको लिग चरण नतिजा मात्र होइन, व्यक्तिगत प्रदर्शनका हिसाबले पनि निकै चर्चित रह्यो । विशेषगरी ब्याटिङतर्फ ओरेन्ज क्यापका लागि चलेको दौडमा प्लेअफमा पुगेका टिमका खेलाडीको वर्चस्व रह्यो ।
यस सूचीको अग्रस्थानमा छन्, गुजरात टाइटन्सका ओपनिङ ब्याटर साई सुदर्शन । उनी १४ इनिङमा लगातार रन बनाउँदै शीर्ष स्थानमा उक्लिन सफल भए । उनको उत्कृष्ट प्रदर्शन गुजरातको प्लेअफ यात्रा सुनिश्चित गराउने मुख्य आधारमध्ये एक रह्यो ।
उनले लिग चरणको १४ वटै म्याच खेले, जसमा सुदर्शनले १५५.३७ को स्ट्राइक रेटमा ६ सय ७९ रन बनाए । त्यसक्रममा उनले पाँच अर्धशतक र एक शतकीय पारी खेले ।

सुदर्शनले पहिलोपटक एक सिजनमा ६ सय रनको आँकडा पूरा गरेका हुन् । यदि गुजरात फाइनलसम्म पुग्छ भने उनले ओरेन्ज क्याप जित्ने सम्भावना बलियो देखिन्छ ।
यस्तै, जारी आइपिएलमा सर्वाधिक रनकर्ताको सूचीको दोस्रो स्थानमा गुजरात टाइटन्सका कप्तान शुभमन गिल रहेका छन् । उनले १४ खेलमा १५६.३८ को स्ट्राइक रेटमा ६ सय ४९ रन बनाएका छन्, त्यसक्रममा गिलले ६ अर्धशतकीय इनिङ खेलेका छन् । जारी सिजनमा उनको उच्च स्कोर अविजित ९३ रन हो । गिल र सुदर्शन गुजरातको टिममा मेरुदण्ड बनिरहेका छन् ।
यस्तै, ओरेन्ज क्याप दौडमा रहेका अर्का ब्याटर हुन्, मुम्बई इण्डियन्सका सूर्यकुमार यादव ।

लगातार अर्धशतकीय पारी खेलिरहेका उनले १४ म्याचमा १६७.९७ को स्ट्राइक रेटमा ६ सय ४० रन बनाएका छन्, त्यसक्रममा सूर्यले पाँच अर्धशतकीय पारी खेलेका छन् । यदि मुम्बई फाइनलसम्म पुग्छ भने उनले ओरेन्ज क्याप जित्ने सम्भावना बलियो छ ।
यस्तै, आइपिएल २०२५ मा ओरेन्ज क्यापको दौडमा आरसिबीका पूर्वकप्तान विराट कोहली पनि रहेका छन् । उनले १३ खेलमा १४७.९१ को स्ट्राइक रेटमा ६ सय २ रन बनाएका छन्, त्यसक्रममा कोहलीको ब्याटबाट सर्वाधिक ८ अर्धशतकीय इनिङ निस्किएको छ ।

उनको टिमले फाइनल खेल्ने सम्भावना उच्च छ । यस्तो अवस्थामा कोहलीले सर्वाधिक रन बनाउँदै ओरेन्ज क्याप जित्ने सम्भावना पनि बलियो देखिन्छ । उनले विगतमा पटक–पटक यो अवार्ड जितिसकेका छन् ।
यस्तै, जारी सिजनको आइपिएलमा ओरेन्ज क्याप जित्नसक्ने अर्का खेलाडी हुन्, पञ्जाब किंग्सका कप्तान श्रेयस अय्यर । जारी सिजनमा उनी पनि उच्च लयमा छन् । र, अय्यरले यसपालि पनि फाइनल खेल्ने सम्भावना बलियो छ ।
यस्तो अवस्थामा उनले सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिन सक्छन् ।

अहिले १०औँ स्थानमा रहेका अय्यरले १४ खेलमा १७१.९० को सानदार स्ट्राइक रेटमा ५ सय १४ रन बनाएका छन्, त्यसक्रममा उनले पाँच अर्धशतकीय पारी खेलेका छन् ।
जारी सिजनमा अय्यरको उच्च स्कोर अविजित ९७ रन हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।