१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

प्रतिपक्षको मूल्यांकन : रोजगारीबिनाको बजेट, योजनाविहीन सरकार
बजेट २०८२/८३ : प्रतिपक्षी दल भन्छन्- गम्भीर सुधारको खाँचो

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटलाई प्रमुख प्रतिपक्षी दलहरूबाट आलोचना र असन्तुष्टि प्राप्त भएको छ ।


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेटलाई विगतकै निरन्तरतामा सीमित रहेको टिप्पणी गरेका छन् । ‘निरन्तरको प्रक्रियाभन्दा कुनै गुणात्मक परिवर्तन छैन,’ शर्माले भने, ‘अहिलेको अर्थ व्यवस्था चल्न सक्दैन, मोडालिटी नै परिवर्तन गरी उत्पादनमुखी बनाउने आवश्यकता छ। अहिले त्यसतर्फ कुनै गम्भीर पहल देखिन्न ।’



उनले जनजीविकाका सवालमा बजेट चुप रहेको पनि आरोप लगाए । स्वास्थ्य, शिक्षा, रोजगारीजस्ता विषयमा बजेटले ठोस कार्यक्रम नल्याएको उनको भनाइ छ ।

नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बजेटलाई ‘अव्यावहारिक’ र ‘पपुलिस्ट’ भन्दै टिप्पणी गरे । ‘धेरै कुरामा शीर्षक त राखिएको छ, तर बजेट नै विनियोजन गरिएको छैन,’ उनले भने, ‘रोजगारी सिर्जनाजस्तो गम्भीर विषयमा सरकारले आवश्यक ध्यान नदिएको छ ।’



पाण्डेका अनुसार बजेट कार्यान्वयनकै तहमा पनि ठूलो चुनौती छ । ‘शब्दहरू राम्रा छन् । तर, कार्यान्वयनमा विश्वसनीयता छैन,’ पाण्डेले भने ।

उता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले सरकारले ल्याएको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याए पनि १५/१६ खर्बभन्दा बढी खर्च हुने आधार नभएको बताए ।   

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अङ्कको स्वरूप र विश्वसनीयता पुरानै कुराको निरन्तरता हुन्छ कि भन्ने डर आफूहरूलाई लागेको बताए । 

‘सरकारले ल्याएको बजेट धेरै उत्ताउलो र गैरजिम्मेवार छैन् । तर घाँटी हेरेर हाड निल्नुपर्ने अवस्था छ । अर्थमन्त्रीले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याउनुभएको छ  । तर, यो पनि १५/१६ खर्बभन्दा बढी खर्च हुने आधारहरू छैन । अङ्कको स्वरूप र विश्वसनीयता पुरानै कुराको निरन्तरता हुन्छ कि भन्ने डर लागेको छ,’ वाग्लेले भने ।



राजस्वका विभिन्न कुरा पनि पत्यारिलो नभएको उनको भनाइ छ ।

  • प्रकाशित मिति : १५ जेठ, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया